• १३ साउन २०८१, आइतबार

तरकारीको हब बन्दै लालबन्दी

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ २६ गते । सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारबाट छ महिनामा ७३ करोड रुपियाँभन्दा बढीको तरकारी निकासी भएको छ । तरकारी व्यापारको हब बन्दै आएको लालबन्दीको कृषि थोक बजार व्यवस्थापन समितिको आँकडा अनुसार गएको साउनदेखि पुससम्म यहाँबाट देशका विभिन्न बजारमा ७३ करोड ८२ लाख ६४ हजार १२५ रुपियाँको तरकारी निकासी भएको हो । 

यहाँका किसानले छ महिनामा गोलभेँडा, बोडी, सिमी, फूलकोबी, बन्दा, लौका, भन्टा, करेला, काँक्रो, खुर्सानी, परबल, झिँगनी, घिरौँलालगायतका हरियो तरकारी बिक्री गरेर त्यति रकम आम्दानी गरेका कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिनुभयो । 

देशका प्रमुख ११ वटा तरकारी बजारमध्ये लालबन्दी थोक तरकारी बजारमा सर्लाहीका आधा दर्जनभन्दा बढी पालिका र महोत्तरीको उत्तरी भेगका किसानले तरकारी बिक्री गर्न ल्याउने गरेका छन् । यहाँको थोक तरकारी बजारमा किसानले ल्याएर बिक्री गरेका तरकारी व्यापारीले काठमाडौँको कालीमाटी, बल्खु र जडीबुटी तरकारी बजारसहित पोखरा, बुटवल, नारायणगढ, वीरगन्ज, गौर, जनकपुर, जलेश्वर, सिन्धुली र पूर्वका विभिन्न सहरमा लगी बेच्ने गरेका छन् । बजारका व्यवस्थापक घिमिरेका अनुसार पछिल्लो समय लालबन्दीको तरकारी सीमावर्ती भारतको सोनवर्षासम्म पनि पुग्न थालेको छ । “यहाँबाट अहिले सोनवर्षासम्म तरकारी पुग्न थालेको छ । व्यापारीले मोटरसाइकलमा हालेर त्यहाँसम्म तरकारी लैजाने गरेका छन्,” घिमिरेले भन्नुभयो । 

किसानले उत्पादन गरेर ल्याउने प्रत्येक हरियो तरकारी बजारमा बिक्री हुने गरेको छ । स्थानीय उपभोक्ता र यहाँ रहेका होटलमा स्थानीय किसानले फलाएकै तरकारी खपत हुने गरेको छ । 

दिनभर खुल्ने लालबन्दी थोक तरकारी बजारमा किसानले बिहानदेखि बेलुकासम्म तरकारी बिक्री गर्ने गरेका छन् । किसानले साइकल, मोटरसाइकल, टेम्पो, टायर गाडासहितका साधनमा ल्याएर तरकारी बिक्री गर्दै आइरहेका छन् । सर्लाहीको उत्तरी भेगका अधिकांश किसानको प्रमुख आम्दानीको स्रोत तरकारी खेती हो ।