• ९ मंसिर २०८१, आइतबार

सर्लाहीमै राख्न थालियो कैदीबन्दी

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ २५ गते । सर्लाहीका कैदीबन्दी र थुनुवालाई सदरमुकाम मलङ्गवास्थित कारागारमा नै  राख्न थालिएको छ । माघ ७ गते उद्घाटन भएको कारागारमा अहिले दुई महिलासहित ६० जनालाई राखिएको निमित्त जेलर मनोजकुमार मिश्रले जानकारी दिनुभयो । ६० जनामध्ये अदालतबाट मुद्दाको अन्तिम फैसला आउन बाँकी भई पुर्पक्षमा रहेको २७ जना थुनुवा र सजाय निर्धारण भइसकेका ३३ जना कैदीबन्दी रहेका कारागार कार्यालय मलङ्गवाले जनाएको छ । 

कार्यालय उद्घाटन हुनुअघि माघ ६ गते गौर कारागार रौतहटबाट सर्लाही घर भएका ३० जना कैदीबन्दी स्थानान्तरण गरेर ल्याइएको थियो । कारागार सञ्चालनपछि सर्लाही जिल्ला अदालतबाट पुर्पक्षमा पठाइएका तथा अन्तिम फैसला भएका ३० जना थुनुवा र कैदीबन्दी थपिएका निमित्त जेलर मिश्रले बताउनुभयो । उहाँले अन्य जिल्लामा रहेका सर्लाहीका कैदीबन्दीलाई अब यहाँ ल्याउन प्रक्रिया सुरु भएको बताउनुभयो । “जिल्लामा कारागार नहुँदा यहाँका कैदीबन्दीलाई छिमेकी जिल्लाका कारागारमा पठाइएको थियो, मिश्रले भन्नुभयो, “अब ती कैदीबन्दीलाई यहीँ ल्याउन प्रक्रिया अगाडि बढिसकेको छ ।” मिश्रका अनुसार केही दिनमै सिन्धुली कारागारबाट ३७ जना कैदीबन्दीलाई मलङ्गवा ल्याउने तयारी भइरहेको छ । सर्लाहीबाट जलेश्वर, झुम्का, भिमफेदी, वीरगन्जलगायत ठाउँका कारागारमा पनि कैदीबन्दी पठाइएको छ । 

मलङ्गवामा कारागार भवन २०७२ सालबाट पुनर्निर्माण सुरु गरी आठ वर्षमा निर्माण पूरा भएको थियो । कारागारमा २१० जना कैदीबन्दी राख्ने क्षमताको छ । सर्लाहीका प्रहरी प्रमुख (एसपी) प्रवीण धितालले जिल्लामै कारागार भएपछि कैदीबन्दीलाई लैजाने–ल्याउने झन्झट टरेको बताउनुभयो ।