• १३ साउन २०८१, आइतबार

ठेकेदारको लापरबाहीले निर्माणको काम सुस्त

blog

चौकीडाँडा–फल्टुडे सडकको ओलानी खण्ड । तस्बिर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), माघ २४ गते । बनेको सडकको अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौताको तीन पटक म्याद थपिसक्दा पनि काम भने ३५ प्रतिशत मात्र भएको छ । निर्माण कम्पनीले लगातार काम नगर्दा सडक किनारमा बनाइएको नालीसमेत अहिले टुटफुट भएर भताभुङ्ग अवस्थामा छ । 

यो कुरो हो सुदूरपश्चिम प्रदेश गौरवकै आयोजनाको रूपमा अगाडि बढेको कैलालीको चौकीडाँडा–फल्टुडे सडक जिरो पाइन्टदेखि मालाखेती सेतो पुलसम्म कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सनले लिएको निर्माण ठेक्का, एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालयमार्फत गोदावरीमा निर्माण गरिने ६ वटा सडकमा सो चौकीडाँडा–फल्टुडे सडकको जिरो पाइन्ट खण्ड निर्माणका लागि तीन पटक म्याद थपिसकिएको छ । 

सम्झौतामा एक वर्षभित्रै काम सम्पन्न गर्नेगरी २०७७ साउन २० गते ठेक्का लगाइएको थियो । सो सडक अगाडि बढाउने क्रममा मालाखेती सेतो पुलदेखि प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले २०७७ भदौ १८ गते एडभेन्चर, थेगिङ, सनलाइट जेभीसँग अर्को ठेक्का सम्झौता गरेको थियो । 

गोदावरी नगरपालिका –१० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिए पनि सो सडक पनि लथालिङ्ग छ । पाँच करोड ८४ लाखमा ठेक्का सम्झौता भएको सो सडक निर्माणका लागि पटक–पटक म्याद थप्दा पनि ठेकेदारले हालसम्म नाली निर्माणको काम पनि पूरा गर्न नसकेको स्थानीयको भनाइ छ ।  

यी दुई योजना लथालिङ्ग हुँदै गर्दा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले थप सडक कालोपत्रे गर्न वडा १० को कार्यालयदेखि बान्द्रेखालसम्म ३ किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको छ । २०७९ चैत १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि सो सडक पनि निर्माण अवधिमा सकिने छाँटछाँट छैन । 

उक्त सडक निर्माणका लागि तेडी निर्माण सेवासँग पाँच करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक दिलबहादुर ओलीले जेठसम्म कालोपत्रे सक्ने दाबी गर्नुभएको छ । यद्यपि, हाल सडकको ४० प्रतिशत पनि काम सकिएको छैन । 

चौकीडाँडा–फल्टुडे सडकमा यी तीनवटा योजनाले गति लिन नसक्दा हाल सङ्घीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट थप ८ सय मिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । बान्द्रेखालदेखि गौडीसम्मको सडकखण्डको यो काम भने सन्तोषजनक रहेको स्थानीय १२ नम्बर वडाका अध्यक्ष भीमबहादुर खड्काले बताउनुभयो । 

उहाँले जिरो पाइन्टदेखि बान्द्रखालसम्मका तीन योजना भने लथालिङ्ग रहेको भए पनि बान्द्रेखालदेखि गौडीसम्मको सडकको काम भने सन्तोषजनक रहेको बताउनुभयो । गोदावरी नगरपालिका ११ नम्बरका वडाध्यक्ष प्रेमसिंह बडैलाले पनि निर्माण कार्य अलपत्र छाडेर ठेकेदार बेपत्ता भएको बताउनुभयो । 

सडक नबन्दा ओलानी क्षेत्रका जनताले सास्ती खेप्नुपरेको गुनासो गर्दै उहाँले भन्नुभयो– ‘यस क्षेत्रमा नेता नभएर हाेकि हामीलाई हेपेर हो । आएका योजना पनि वर्षौँसम्म अलपत्र छन् ।’ उहाँले थप्नुभयो ‘यहाँ ठेकेदारको चरम लापरबाहीका कारण समस्या भएको छ ।’ 

भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर जनक रोकायाले सडक निर्माणको काम सुस्त भएको बताउनुभयो । उहाँले पनि ठेकेदारलाई काममा तीव्रता दिन घचघच्याइने काम भइरहेको बताउनुभयो ।