गाेरखापत्र अनलाइन
नारायणगढ, माघ २३ गते । विश्वप्रकाश मावि भरतपुर-१५ मङ्गलपुर चितवनका विद्यार्थीलाई बालपत्रिका मुना र साहित्यिक पत्रिका मधुपर्क वितरण गरिएको छ ।
भरतपुर-५ नारायणपुर निवासी चन्द्रमा पोखरेलले उक्त विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत करिब चार सय जना विद्यार्थीका लागि मुना र मधुपर्क उपलब्ध गराउनुभएको हो ।
पोखरेलले यस अगाडि पनि शैक्षिक सामग्री वितरण, खाद्यान्न तथा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक जयकृष्ण रिजालले यी ज्ञानवर्धक पत्रिकामार्फत् विद्यार्थीले धेरै कुरा सिक्ने र यसको सही सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । गोरखापत्र दैनिकका चितवन प्रतिनिधि वसन्त पराजुलीले विद्यार्थीलाई अतिरिक्त पुस्तक अध्ययनमा निरन्तर लागिरहन आग्रह गर्नुभयो ।
पठन संस्कारका अभियन्ता एवम् सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाले विद्यार्थीलाई पाठ्यक्रम बाहेकका पुस्तकले सिकाइमा सहजीकरण हुने बताउनुभयो । सहयोगीदाता चन्द्रमा पोखरेलले विद्यार्थीका लागि उज्यालो बाँढ्ने काममा सहभागी हुन पाउँदा ठुलो खुसी मिलेको बताउनुभयो ।