• २८ पुस २०८१, आइतबार

सुनसान बन्दै लिमीको जाङ गाउँ

blog

सिमित परिवार बस्न थालेका लिमीको जाङ गाउँ । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, माघ २४ गते । 
हिमालपारिको गाउँको रूपमा चिनिँदै आएको नाम्खा गाउँपालिका–६ को जाङ गाउँ बस्ती रित्तिने क्रम बर्सेनि बढ्दै गएको पाइएको छ । स्थानीय गाउँ छाडेर काठमाडौँतर्फ लागेपछि गाउँमा सीमित परिवार मात्र बस्दै आउन थालेपछि गाउँ नै सुनसान देखिन थालेको हो ।

यस वर्ष ४५ घरधुरी रहेको उक्त गाउँमा यतिबेला पाँच परिवारमा सीमित भएको छ । यसले गर्दा सिङ्गो गाउँ नै सुनसान देखिन थालेको छ । लिमी स्वास्थ्य चौकीका इन्चार्ज गोरख भण्डारीले लिमीको जाङ गाउँमा हाल पाँच परिवारमा मात्र सीमित भएको बताउनुभयो । अन्य घरपरिवारहरू घरमा ताला लगाएर सबै काठमाडौँतर्फ लागेपछि गाउँमा बसोबास गर्ने घरधुरी कम हुँदै गएको हो ।

अधिकांश घरमा ताला लगाएको देखिनु सामान्य जस्तै भएको छ । ताला लगाएका घरधुरीहरूले भने पशुवस्तु हेर्ने जिम्मा भने गाउँमै बस्दै आएका परिवारसँग लगाएका छन् । गाउँमा बस्दै आएका पाँच परिवारका पनि १२ जना मानिस गाउँमा बसेका छन् ।

अघिल्लो वर्ष उक्त गाउँमा बालबालिका नभएपछि विद्यालय पनि बन्द गरिएको थियो । उक्त गाउँमा दुई जना मात्र बालबालिका रहेका थिए । स्थानीय सहरमुखी भएपछि गाउँ रित्तिनु सामान्य जस्तै भएको छ । दुर्गम गाउँमा दुःखै दुःख गरी बस्नुभन्दा सहरमै व्यापार व्यवसाय गरेर बस्ने सङ्ख्या बढेपछि लिमीका गाउँ मानिस बस्नबाट टाढिँदै गएको देखिन्छ ।