यादवराज पुरी
रौतहट, माघ २४ गते । समाचार सङ्कलन गर्न पुगेका रौतहटका एक पत्रकारमाथि कुटपिट भएको छ । रौतहटको कटहरिया नगरपालिका–९ मा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिले उखुको तौल घटाएको विषयमा मङ्गलबार आन्दोलनरत किसानको रिपोर्टिङ् गर्न पुग्नुभएका मध्यान्ह दैनिकका समाचारदाता कृष्ण तिवारीमाथि आक्रमण भएको हो ।
प्रेस समाजवादी सङ्गठनको केन्द्रीय सदस्य समेत रहनु भएका पत्रकार तिवारीको छाती र आँखा छेउमा चोट लागेको छ । तत्काल घटनास्थल पुगेका प्रहरीको सहयोगमा घाइते तिवारीको गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्ज पठाइएको पत्रकार महासङ्घका केन्द्रीय सदस्य शिव पुरीले जानकारी दिनुभयो ।
पत्रकार तिवारीमाथि भएको आक्रमणको पत्रकारका विभिन्न सङ्गठनले दोषी उपर कारबाहीको माग राख्दै विज्ञप्ति समेत निकालेका छन् । यता मिल प्रशासनले भने आफूहरूले पत्रकारमाथि आक्रमण नगरेको दाबी गरेको छ ।
बिक्रीका लागि पठाइएको उखुको तौल मिल प्रशासनले घटाएको भन्दै उखु किसान प्रशासनविरुद्ध उखु जोख्ने काँटा नजिक नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका थिए । सोही बखत रिपोर्टिङ् गर्न घटनास्थल पुग्नु भएका पत्रकार तिवारीलाई मिल सञ्चालक बैजु साहकै इशारामा आक्रमण भएको उहाँ स्वयम् बताउनुहुन्छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले घटनामा संलग्न एक जना पक्राउ परेको जानकारी दिनुभयो । उहाँकाअनुसार थप अनुसन्धान जारी छ ।