• २८ पुस २०८१, आइतबार

मिथिला बिहारी नगरपालिकामा कर्मचारी अभाव

blog

कर्मचारी अभावमा दुई वर्षदेखि थन्किएको एम्बुलेन्स र जेसिबी मेसिन । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ २३ गते । धनुषाको मिथिला बिहारी नगरपालिकाले बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले खरिद गरेको एम्बुलेन्स प्रयोगविहीन बनेको छ । 

दुुई वर्षअघि खरिद गरेको एम्बुलेन्ससँगै जेसिबी मेसिन पनि थन्किएको दुई वर्ष भएको छ । नगरपालिकासँग भएको स्वच्छ मेसिन (सेफ्टी ट्याङ्की), ट्रक, तीन वटा ट्याक्टर, नगरप्रमख र उपप्रमुखले चढ्ने दुई वटा गाडीसमेत दुई वर्षदेखि थन्किएका छन् । 

नगरपालिकाले २०७९ साउनमा कार्य मूल्याङ्कनको आधारमा सवारी चालक, कार्यालय सहयोगी सहित करारमा रहेका सबै कर्मचारी हटाएपछि अति आवश्यक प्रयोगका सवारीसाधन थन्किएको कार्यपालिका सदस्य रामउद्गार दासले बताउनुभयो ।

हटाइएको कर्मचारीको स्थानमा पदपूर्ति हुन नसक्दा सवारी चालक र कार्यालय सहयोगीविहीन नगरपालिका बन्न पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो नगरपालिकामा एउटा पनि चालक र कार्यालय सहयोगी छैनन् । जसले गर्दा जनताका अति आवश्यक काममा बाधा आइरहेको छ ।” 

नगरपालिकाले २०८० वैशाख ११ गते चालक, कार्यालय सहयोगीलगायत विभिन्न पदका गरी ५३ जना कर्मचारीका लागि विज्ञापन प्रकाशन गरे पनि त्यसको नतिजा प्रकाशन नगरप्रमुख राजेन्द्रप्रसाद यादवले रोकेर राखेका कारण नगरपालिकामा यस्तो समस्या देखिएको कार्यपालिका उहाँको भनाइ छ । उम्मेदावारको लिखित, मौखिक (अन्तर्वार्ता)लगायतका सबै प्रक्रिया पूरा भइसकेको भए पनि नतिजा प्रकाशन नहुनु कतै न कतै नगरप्रमुखको व्यक्तिगत स्वार्थ रहेको कार्यपालिका सदस्य दासले आरोप लगाउनुभयो । 

मिथिला बिहारी नगरपालिका–८, का वडाध्यक्ष जीवछ यादवले कार्यालय सहयोगीको अभावमा जनताको कामकाजमा निकै समस्या भइरहेको बताउनुभयो । १० वटा वडा कार्यालय रहेको यस नगरपालिकाको वडा कार्यालय, वडा स्वास्थ्य चौकी र नगरपालिका कार्यालयको कुनै पनि शाखामा कार्यालय सहयोगी नरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जनताको गुनासो सम्बोधन गर्ने काम गर्नु कि कागजातमा छाप लगाएर फाइल थन्काउनु । कार्यालय सहयोगी नहुँदा काम गर्न एकदमै कठिनाइ भएको छ ।” 

यता, नगरपालिकाका नगरप्रमुख यादवले लामो समयदेखि करारका कर्मचारी भर्नाको नतिजा प्रकाशन गर्न आलटाल गरेको आरोप लगाउँदै नगरपालिकाका सात जना वडाध्यक्षलगायतका जनप्रतिनिधिले विरोध जनाएका छन् । उहाँहरुले विज्ञापन अनुसार करार कर्मचारीको नतिजा प्रकाशन गर्न माग गर्दै आइतबार र सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर कार्यालय परिसरमा धर्ना बस्नुभएको थियो । नगरप्रमुखलाई नतिजा प्रकाशन गर्न पटक–पटक आग्रह गर्दा कुराको सुनवाइ नगरेपछि बाध्य भएर तालाबन्दी गरेर धर्नामा बस्नुपरेको उहाँहरुको भनाइ थियो । 

मिथिला बिहारी नगरपालिकाका नगरप्रमुख यादवले करारका कर्मचारी भर्नाको नतिजा प्रकाशन छिट्टै गरिने बताउनुभयो । उहाँले केही प्रक्रिया बाँकी रहेको बताउँदै आउँदो कार्यपालिकाको बैठकबाट छलफल गरेर नजिता प्रकाशन गरिने जानकारी दिनुभयो ।