• २८ पुस २०८१, आइतबार

पहाडी भूभागमा आंशिक बदली

blog

काठमाडौँ,  माघ २३ गते । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशको उच्च पहाडी तथा हिमाली भूभागमा आशिंक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भूभागमा कुहिरो लागेको छ, आजसहित एक दुई दिनका लागि वर्षाको सम्भावना न्यून रहे पनि केही प्रदेशमा हिमपातको सम्भवना छ ।”

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौँको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन हजार पाँच सय मिटर छ । यसैगरी काठमाडौँको आजको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेड रहने मौसमविद् पुडासैनीले बताउनुभयो । उहाँका अनुसार काठमाडौँमा वर्षाको सम्भवना नरहेको र काठमाडौँको मौसम आजका लागि मुख्यतया सफा रहनेछ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना जनाएको छ ।  रासस