• १३ साउन २०८१, आइतबार

हवाई उडान थपिँदै

blog

सुर्खेत समाचारदाता

सुर्खेत, माघ २२ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हवाई उडान थप्न निजी विमान कम्पनी इच्छुक बनेका छन् । सुर्खेतमा बुद्ध एयर र श्री एयरलाइन्सले नियमित हवाई सेवा दिइरहेका थिए । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले थप सेवा विस्तार गर्न लागेको छ । 

नेपाल एयरलाइन्सले विशेष गरी साबिक कर्णालीमा फागुनदेखि सेवा सञ्चालन गर्न लागेको जनाइएको छ । साबिक कर्णालीमा लुम्बिनीको बाँकेबाट जानुपर्ने अहिलेको बाध्यता छ । सुर्खेतदेखि साबिक कर्णालीका जुम्ला, हुम्लाको सिमकोट, मुगुको रारा, डोल्पा र बाजुराको कोल्टीमा नियमित हवाई उडान गरिने छ । नेपाल एयरलाइन्सको उडान परियोजना निर्देशक महेशकुमार मरिताका अनुसार फागुन पहिलो साता नेपाल एयरलाइन्सले साबिक कर्णालीका एयरपोर्टमा परीक्षण उडान गर्ने छ । त्यसको केही दिनलगत्तै नियमित उडान गर्ने तयारी एयरलाइन्सको छ । 

प्रदेश राजधानी सुर्खेतबाट सङ्घीय राजधानी काठमाडौँसहित साबिक कर्णालीमा हवाई उडानबारे अध्ययन गर्न विज्ञसहित निर्देशक मरिता सुर्खेत आउनुएभएको हो । सुर्खेतदेखि साबिक कर्णालीमा नेपाल एयरलाइन्सले विगतमा उडान गर्दै आएको थियो । यस पटक बजार माग, अप्रेसन खर्चलगायतको सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन तयार पारी सरकारलाई बुझाइने जनाइएको छ ।

सुर्खेत फ्लाइट अप्रेसन इन्चार्ज देवेन्द्र पुनका अनुसार पहिलो चरणमा प्रदेश राजधानी सुर्खेतदेखि साबिक कर्णालीका दुर्गम जिल्लाका हवाई उडानलाई प्राथमिकतामा राखिएको छ । फागुन पहिलो सातादेखि नेपाल एयरलाइन्सले साबिक कर्णालीमा व्यावसायिक उडान गर्ने जनाइएको छ । उडान परियोजना निर्देशक महेशकुमार मरिताले साबिक कर्णालीका एयरपोर्टमा उडान सञ्चालनको तीन महिनापछि सुर्खेतमै जहाज नाइट स्टे गर्ने तयारी पनि भइरहेको जानकारी दिनुभयो । नेपाल एयरलाइन्सले तीन वटा नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको हुँदा नियमित उडान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार सुर्खेत–काठमाडौँभन्दा पनि पहिलो चरणमा साबिक कर्णालीमा उडान गरिने छ । भौगोलिक विकटतासहित प्राकृति विपत् भइरहने भएकाले सरकारको उपस्थिति देखाउन पनि नेपाल एयरलाइन्सले कर्णालीमा नियमित उडान सेवा सञ्चालन गर्न लागेको उहाँको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले प्रदेश राजधानीबाट निजी विमानको हवाई सेवा सुरु भए पनि सरकारी स्वामित्वको जहाजको सेवा नभएकाले जति सक्यो छिटो सेवा गर्न आग्रह गर्नुभयो । उहाँले सुर्खेतदेखि विशेष गरी कर्णालीका दुर्गम क्षेत्रमा हवाई सेवा सञ्चालन गरेर प्रदेशवासीलाई सेवा दिइने बताउनुभयो । उहाँले साबिक कर्णालीबाट प्रदेश राजधानी सुर्खेत आउन सडक यात्रा जोखिम र कठिन भएकाले नेपाल एयरलाइन्सको नियमति सेवाले सहज बनाइने बताउनुभयो ।