• १३ असोज २०८१, आइतबार

भीमफेदी–मातातीर्थ सडक एकतर्फी सञ्चालन

blog

हेटौँडा—काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग भीमफेदी–महालक्ष्मी खोला—चखेल–मातातीर्थ सडक खण्डको मकवानपुरतर्फ स्तरोन्नतिको क्रममा रहेको सडक खण्ड । तस्विरः राममणि दाहाल

राममणि दाहाल

हेटौँडा, माघ २१ गते । हेटौँडा—काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग भीमफेदी–महालक्ष्मी खोला— चखेल–मातातीर्थ सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका  ५ मा सुख्खा पहिरोले अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालन गरिएको छ ।

इन्द्रसरोवर गाउँपालिका  ५ पाटी चौर सडक खण्डमा जेसिबीले सडक चौडा गर्न कटान गर्ने क्रममा शनिवार सुख्खा पहिरो खसेर बाटो पूर्णरूपमा अवरुद्ध बनेको थियो । इन्द्रसरोवर गाउँपालिका  ५ का वडाध्यक्ष दुतराज तितुङले सुख्खा पहिरो खसेर सडकमा आवागमन अवरुद्ध बनेपछि पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । 

स्थानीय र प्रहरीको समेत सहयोगमा सडक सुचारु गरिएको थियो । सडक अवरुद्ध बनेपछि सो मार्ग भएर चल्ने सुमोलगायतका साना सवारीका साधनको आवागमन ठप्प भएकोमा सडक खुलेसँगै गन्तव्यतर्फ लागेका थिए । हेटौँडा काठमाडौँ जोड्ने उक्त सडकको मकवानपुर र काठमाडौँतर्फ हाल स्तरोन्नतिको काम भइरहेको छ ।