यादवराज पुरी
रौतहट, माघ २० गते । रौतहट र सर्लाहीको सीमा भई बग्ने बागमती नदीमा ‘करेन्ट’लगाई माछा मार्ने गरेका कारण सो नदीको जलचर सङ्कटमा परेको छ । करेन्ट लगाई माछा मार्नाले केबल खानयोग्य माछामात्र नमरी माछाका भुरा अण्डालगायत माछाको आहार समेतलाई असर पर्न जान्छ ।
स्थानीय समाजसेवी समीरजङ्ग कार्कीले भन्नुभयो, “पिठ्युँमा झोला झैँ भिरेका गाडीमा जडान हुने ठुला ब्याट्री, ब्याट्रीमा जोडेर निकालिएका दुई वटा तार जडित बाँसका दुई वटा घोचालाई पानीमा डुबाएर एक आपसमा जोड्दा करेन्ट प्रवाह भई पानीमा खेल्ने माछा र अन्य प्राणी मर्ने र घाइते हुने हुँदा बागमती नदीको समस्त जलचल नै सङ्कटमा परेको छ ।”
हरेक दिन पाँच/छ जनाको सङ्ख्यामा रहेका तीन चार हुल मानिस माछा पार्ने जालसहित करेन्ट लगाई माछा मार्न चन्द्रपुर नगरपालिका–१ तर्फ रहेको बागमती नदीमा निर्धक्क जाने गर्छन् । त्यसरी मारिएको माछा प्रति किलो आठ सयदेखि एक हजार रुपियाँसम्ममा बिक्री हुने व्यापारी नै बताउँछन् ।
२०५५ सालमा संशोधन गरिएको जलचर संरक्षण ऐनमा उल्लेख भएबमोजिम कुनै व्यक्तिले पनि कुनै जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी त्यस्तो जलमा वा त्यसको आसपासमा कुनै पनि विद्युतीय धार (करेन्ट), विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न हुँदैन । सो ऐनको उक्त प्रावधान उलङ्घन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपियाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
रौतहट र सर्लाहीका प्रहरी र वन कर्मचारीको उदासीनताका कारण ऐन कानुनलाई अटेर गरी करेन्ट लगाई माछा मार्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको स्थानीय बासिन्दा लक्ष्मण न्यौपानेको आरोप छ । उहाँकाअनुसार जलचर संरक्षण गर्न स्थानीय निकायले पनि कुनै चासो नदेखाएको र माछा ठेक्का पाएका ठेकदारले समेत करेन्ट प्रयोग गरी माछा मार्नाले अहिले बागमती नदीमा विगतमा जस्तो अधिक माछा पाउन छोडेको छ ।
रौतहटको बागमती सब–वन डिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार महतोले बागमतीमा करेन्ट लगाएर माछा मार्नेलाई कानुनी दायरामा ल्याई कारबाही अगाडि बढाउने बताउनु भयो ।