• ८ मंसिर २०८१, शनिबार

गौरीशङ्कर मुस्कुराउँदा

blog

साहित्यिक पत्रकार सङ्घको आयोजनामा करिब दुई दर्जन सङ्ख्याको एउटा काव्यिक टोली शैलुङ चढ्ने क्रममा हिजो तामाकोसी किनारको चरणावती आश्रममा बास बसेको थियो । त्यही टोली आज सबेरै शैलुङ र मेलुङ गाउँमा बसयात्रा गर्दै भैँसे उक्लिएको छ र शैलुङ गाउँपालिकाको तर्फबाट ८ नम्बर वडाका अध्यक्ष धनबहादुर तामाङद्वारा स्वागत गरिएको छ । 

यहाँभन्दा माथि बस यातायातको सुविधा छैन तर निजी सवारीसाधन प्रयोग गरेर झोरसम्म पुग्न सकिन्छ भन्ने जानकारी पाउँदै छौँ हामी । हाम्रा बसचालक त्यसै क्षेत्रका निवासी । उहाँलाई थाहा छ, बाटोको रूपरेखा । ‘झोर’ सम्म बसै लैजान्छु भनेर कस्सिनुभयो उहाँ । 

हाम्रो बसयात्रा अगाडि बढ्यो झोर ताकेर । कठिन भयो यात्रा हाम्रा लागि, अत्यन्तै कहालीलाग्दो । टेका लगाउँदै बस अगाडि बढाउँदै लैजानुपर्ने अवस्था तर प्रकृतिले हामीलाई मुग्ध बनायो । मनागाउँबाट रोल्वालिङ हिमशृङ्खला हेरेर हामी अघाएनौँ । जता घुमे पनि, जता मोडिए पनि गौरीशङ्कर आँखैअगाडि । डाँडापाखामा फलेका सुन्तला, बडेमाका आलु र बैजनी रङका बन्दागोभी देखेर मोहित भयौँ । 

बाटोछेउमा झाँगिएका ऐसेलुका बोट र पखेरामा ठडिएका गुराँस देखेर अनुकूल मौसममा आउन नसकेको अनुभूति पनि ग¥यौँ । स्थानीयवासीको भनाइ सुन्यौँ, “गुराँस फुलेको देख्न र हिमाल हाँसेको हेर्न त फरक फरक महिनामा आउनु पर्छ । अनि मुढेको आलु भनेर तपाईंहरूले खाने गरेको आलु मुढेको कहाँ हो र ! शैलुङ र मेलुङको पो त ! त्यसको स्वाद लिनका लागि त तपाईंहरू जुनसुकै समयमा आए पनि हुन्छ ।” बसले थकाइ मार्दै नहिँडेको भए सायद गाउँलेका यी कुरा सुन्न पाउने थिएनौँ र प्रेमभावले दिएका सुन्तला र मुला पनि खान पाउने थिएनौँ । जिज्ञासु र अनुभव आर्जन गर्न चाहनेका लागि जस्तै प्रतिकूल अवस्था पनि फाइदै फाइदा ।  ‘झोर’ सानो बस्ती रहेछ । हामीले त्यहीँ अर्गानिक खाना खायौँ । दाल, भात, तरकारी, अचार र ग्रिन सलाद सबै अर्गानिक । कम्पोस्ट मल हालेर उमारिएका अन्नपातको स्वादै बेग्लै । 

त्यहाँभन्दा माथि बस जाँदैन, हिँड्नुको विकल्प छैन । छ भने घोडा छ । मदनदास श्रेष्ठले ‘म जान्नँ’ भनेपछि घोडा चढ्नैपर्ने मान्छे देखिएन । हामी लामलस्कर उकालो उक्लिन थाल्यौँ । जङ्गलको बाटो छ, बाटोको रूपरेखा पहिल्याउन सकिन्छ । बाघ भालु भेटिइहाले पनि आक्रमण गरिहाल्ने सामथ्र्य राख्दैन भन्ने विश्वास छ । 

हामी निर्भय छौँ र अग्ला अग्ला गोब्रेसल्ला, काँडेसल्ला, धुपी र गुराँसको वन छिचोल्दै अगाडि बढ्दै छौँ । बाटोमा भेटिन्छन्–वृद्धत्वले टुक्रिएको बडेमाको ठुटेरुखको फेदमा पर्खालले घेरिएर बसेका जुरेढुङ्गा महादेव र अझ अर्काे ठाउँमा भेटिन्छन् ढुङ्गाको विशाल रूपाकृतिमा परिणत भएर बसेका शैलुङ्गेश्वर महादेव । हामीले मानेकै त हो, मानेकैले महादेव भएका त हुन् । भनिएकै छ नि ‘गरिन्छ यदि विश्वास ढुङ्गा, बन्दछ देवता । गरिन्न यदि विश्वास ढुङ्गा बन्दछ, देवता ।’ एउटा कमाको कमाल ।  अहा ! अब भने पाटन भेटियो र प...र उत्तुङ्ग थुम्कोमा देखियो टावर । बिल्कुल नाङ्गो डाँडो । थुम्काथुम्की देखिन्छन् दायाँबायाँ । चौँरीको गोबर मात्र भेटिन्छ बाटोमा । चौँरी त जाडो लागेपछि झरे रे तलपट्टि चौँरीगोठतिर । ‘माथि माथि शैलुङ्गेमा चौँरी घुमाउनेलाई...’ हामी केही पनि भन्न पाउँदैनौँ । डोको बोकेर ओर्लंदै गरेका देखिन्छन्– दुई/तीन वटी बहिनी । उनीहरूसँगै उभिएर फोटो खिच्न मन लाग्छ मलाई । ‘दाउरा लिएर आइहाल्छौँ, माथि नै खिचौँला’ भनेर हतारिँदै ओर्लन्छन् ती बहिनीहरू । टुप्पोमा निर्मित गुम्बामा बस्ने लामा र भिक्षुलाई सेवा गर्ने सहयोगी रहेछन् तिनीहरू । 

हिउँले खाएर निस्प्राण बनेका भुइँझारहरूमा टेकेर हिँड्दा गलैँचामा कुल्चेको अनुभूति हुँदै छ मलाई । टावरसम्म पुग्ने गोरेटो बाटो छ । अधिकांश साथी त्यही बाटो भएर हिँडिरहेका छन् तर लेकाली, भीमफेदिया, ऋतु र म बाटोमा नहिँडेर खुला चउरमा मुक्त पाइला चाल्न लालयित छौँ । फोटो खिच्दै छौँ र पाइला चाल्दै छौँ । 

मुख्य शिखरको सन्निकट हुँनै लाग्दा मेरा नजरमा ढुङ्गे सिँढीहरू देखा पर्छन् । प्रकृतिप्रदत्त सुन्दर शिखरमा टावर ठडिएको देखेर मन कुँडिइरहेको बेला अर्को कुरूप दृश्यले मलाई फेरि झड्का दिन्छ । कुन शक्तिको बुद्धि बिग्रेर यस्तो काम भएको होला ! नेपालका प्रत्येक टाकुराहरू प्रकृतिका वरदान हुन्, टाकुरामा पुग्ने प्रत्येक मुहानहरू प्रकृतिका सुन्दर रचना हुन् । ती रचना स्वयं सुन्दर छन्, कसैले सिँगार्नु पर्दैन । फेरि यस्तो प्रकृतिविरुद्ध चल्ने चाल कसले चाल्यो होला ? मेरो स्वाभाविक प्रश्न ।  लेकाली यसअघि आइसकेका मानिस । उनको कानमा परेको कुरा सुनाउँछन् मलाई, “केन्द्रीय सरकारका एक जना दोलखाली मन्त्रीले जबर्जस्ती थोपरेका । उहाँले प्रदेश र केन्द्रको समेत बजेट दुरुपयोग गरेर यी सबै काम गरे । के स्वार्थ थियो थाहा छैन ।” 

प्रकृतिले निर्माण गरेको टावरमाथि यस यान्त्रिक टावरको के काम ? बिस पच्चिस मिटर माथि चढेर भुइँबाट देख्न नपाइने चिज के देख्न पाइन्छ ? त्योभन्दा पनि मलाई त थुम्कोमा चढ्ने र ओर्लने ढुङ्गेसिँढी बनाएकोमा विवेकहीन मानसिकताको उपज लाग्यो । म दुई/चार सिँढी उक्लेर पनि विचार गरेँ, हिँड्न झन् गाह्रो भयो । ढुङ्गेसिँढीमा हिँड्नुभन्दा घाँसे भुइँमा हिँड्नै सजिलो । यो मैले मात्र होइन, अरूले पनि अनुभव गरेको कुरा । हुन पनि एक दुई जनाभन्दा अरू कोही पनि हिँडेनौँ सिँढीबाट । मैले आक्रोश पोखेँ, “नेपालका पहाडी टाकुरामा टावर बनाएर खर्च गर्ने पैसा अन्य रचनात्मक कार्यमा लगाए कति औचित्यपूर्ण हुँदो 

हो ?”  हामीले तीन हजार १४५ मिटर अग्लो शैलुङको उच्च टाकुरो चुम्यौँ । मन नलागी नलागी ५६ सिँढी भएको फलामे भ¥याङ उक्लेर टुप्पोमा पुग्यौँ । तलबाट नदेखिएको चिज त्यहाँबाट केही पनि देखिएन । चिसो हावाले कान सेकाएर किन बसिराख्ने ? हामीले पञ्चबुद्धसँग टाँसिएर फोटो खिच्यौँ र तल ओर्लिहाल्यौँ । 

टावरसँगै दुई करोडभन्दा बढी लागतमा हालसालै एउटा गुम्बा बनेको रहेछ । त्यसै कम्पाउन्डभित्र हवाईसर्भे गर्ने नेपालका ६६ प्वाइन्टमध्ये एउटा प्वाइन्ट पनि रहेछ । केही दिनअघि मात्र सिनेमा निर्देशक निखिल उप्रेतीले टावरमुनिको घाँसेमैदानमा एक सय टेन्ट टाँगेर कलाकारलाई एक रात बसाली फिल्म सुटिङ गर्नुभएको रहेछ । यी सबै फेहरिस्त लगाउँदै थिए– हामीसँगै गएका पहरीखर्क निवासी रामेश्वर उप्रेतीले ।

आज हामीलाई मौसमले साथ दिएको छ । नत्र बादल, पानी, हावा हुरी र मध्यजाडोमा हिमपात हुने सम्भावना रहन्थ्यो तर समयसीमाभित्र छौँ आज हामी । सूर्य अस्ताचलतिर ओरालो लाग्दै छन्, तातो दिन चिसिने अवस्थामा छ । म अल्मलिएको छु, हामी अल्मलिएका छौँ । सुदूर देखिने डाँडाहरू कुन जिल्लामा पर्छन् र तिनका नाम के के हुन् ? 

स्थानीय व्यक्ति पनि छन् हाम्रो समूहमा– शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलाल, एसएस फाउन्डेसन दोलखाका अध्यक्ष नवराज खड्का, समाजसेवी राजुबाबु श्रेष्ठ र नवीन शाही, चरणावती ज्येष्ठ नागरिक सेवा समाजका अध्यक्ष गुणबहादुर थपलिया र कार्यक्रम संयोजक रुद्रबहादुर थपलिया । उहाँहरूका अगाडि पनि म प्रश्न तेस्र्याउँछु । केही समाधान पाउँछु, केही पाउँदिनँ । 

तामाङ भाषामा शै= सय र लुङ= टाकुराबाट शैलुङ भएको रे ! देखिने जति नाङ्गो पाटनभित्र रोलिङ परेर उभिएका सय थुम्की छन् रे ! तीमध्ये दक्षिणी पानीढलोका केही थुम्की मात्र रामेछाप जिल्लाका । सगरमाथाको मुख्य चुचुरो नेपालतर्फ पर्ने भएकाले सगरमाथा नेपालको मानिए जस्तै शैलुङको सर्वाेच्च थुम्की र अधिकांश थुम्की दोलखामा पर्ने भएकाले शैलुङमाथि दोलखाको दाबी ।  तलपट्टिको एउटा खोँच देखाएर फर्मान जारी गर्दै छन् भरत दुलाल, “त्यो दोभान, चार जिल्लाको मिलन बिन्दु । उता मण्डदेव पुरी–काभ्रे, यता कल्लाबारी– दोलखा, त्यता ठुलो धादिङ, सिन्धुपाल्चोक र त्यो गौसरा, रामेछाप ।” उहाँको कुरा सुनेर मलाई आफ्नै जिल्ला गुल्मीको रिडीमा कालीगण्डकीमाथि निर्मित नेपालकै नमुना तीनमुखे झोलुङ्गे पुलको सम्झना हुन्छ, जुन पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोड्छ । 

फनक्क घुमेर तीन दिशाको परिचय सोधेपछि मलाई उत्तर दिशाको परिचय सोध्न आवश्यक परेन । पारिपट्टि छर्लङ्गै देखिँदै थियो चरीकोट बजार । त्यहीँनजिकै बायाँतर्फ देखिँदै थियो मुढे । दाहिनेतर्फ देखिँदै थिए–जिरीमार्गका नाम्दु, मैनापोखरी र खावागाउँ । सुदूरउत्तरमा पहरेदारका रूपमा लामलस्कर उभिएका थिए हिमचुचुरा । पश्चिमतर्फ लामटाङ हिमशृङ्खला र पूर्वतर्फ रोल्वालिङ हिमशृङ्खलाको बिचमा सानसँग उभिएको थियो गौरीशङ्कर । 

साँच्चै नै रजत मुकुटधारी शिवपार्वती शैलुङ हेरेर मुस्कुराइरहे जस्तो प्रतीत हुन्थ्यो । गौरीशङ्कर मुस्कुराउँदा शैलुङ मुस्कुरायो कि मुस्कुराएन, थाहा भएन तर म मुस्कुराएँ, साक्षात् गौरी र शङ्करको स्वरूप आभास भएर । जसको काखमा ऋषिमुनिहरूले तपस्या गरे, जहाँबाट सृष्टिको आरम्भ भयो, जहाँबाट विश्व मानवसभ्यताको उदय भयो, जसलाई आधार मानेर नेपालको समय निर्धारण गरिएको छ र जुन शिखर चढ्न सर्वथा वर्जित छ । म निमग्न छु प्रकृति हेर्न । उतापट्टि सुरु हुँदै छ, काव्य वाचन । मैले हेरेर प्रकृतिपान पनि गर्दै छु र सुनेर कान पवित्र पनि गराउँदै छु । फाइदै फाइदा छ मलाई । यति मात्र होइन, म उडिरहेको छु शैलुङको माथि माथि । नाचिरहेको छु आकाशमा फनफनी । म केही बोल्दिनँ, कविता पाठ पनि गर्दिनँ तर सबैथोक गर्छु– पञ्च ज्ञानेन्द्रिय चलायमान भइरहेछन् मेरा । 

तल्लापट्टि अर्काे थुम्कोमा बुद्धको पाइला भएनजिकै रन्जना थपलिया नर्तकीको भेषमा हाम्रो प्रतीक्षा गरिरहेकी हुन्छिन् । हामी पुग्नेबित्तिकै उहाँ नाच्न थाल्नुहुन्छ । उहाँको नृत्यसँगै हामी पनि नाच्छौँ । दस/पन्ध्र मिनेटको मनोरञ्जनपछि हामी शैलुङको अर्काे पाखोबाट गुर्गुर्ती तल ओर्लिन्छौँ । अगुवाइ गर्छाैं– लेकाली, ऋतु र मैले । सात सय पचास मिटर लामो निर्माणाधीन ग्रेटवालको बाटो हुँदै हामी कालापानीस्थित शैलुङ किङ होटलमा पुग्छौँ । केही बेरको नाचगान र खानपानपछि हाम्रो रात्रिविश्राम त्यहीँ हुन्छ ।

  

Author

रामप्रसाद पन्त