• २८ पुस २०८१, आइतबार

बासस्थानको अभावमा हराउँदै सुगा र मैना

blog

विजयकुमार साह 

ढल्केबर, माघ १९ गते । धनुषा लगायत तराइका जिल्लामा कुनै समय खेतबारीको अन्नबाली खाएर किसानलाई हैरान बनाउने तथा घर आँगनमै आइपुग्ने सुगा र मैना हिजोआज देखिन छाडेको छ। तराईका घर आँगन र खेतबारीमा सहजै देखिने यी पंक्षीहरु आहार र सुरक्षित बासस्थानको अभावका कारण तराइका दक्षिणी भू–भागबाट विस्थापित भइरहेकाले देखिन छाडेको हो ।

यी दुबै पंक्षीलाई सानैदेखि पालेर बोल्न सिकाएमा केही शब्द नक्कल गरी मानिसको झैँ बोली निकाल्न सक्नछन् । सुगा प्रजाती अनुसार विभिन्न रङ्गको हुन्छ तर नेपालमा पाइने सुगा प्रायः हरियो रङ्गको हुन्छ । सुगा प्रायः ठूलो समूहमा रहन्छन् । त्यस्तै, मैनाचरीको चुच्चो र खुट्टा पहेलो तथा शरीरको भाग कालो रङ्गको हुन्छ । नेपालको केहि स्थानमा मैनाचरीलाई रुपी र केही स्थानमा डाङ्गे भनेर पनि चिनिन्छ । 

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले केही वर्षअघिसम्म मकै लगायतका अन्नबाली खाएर दुःख दिने सुगा हिजोआज देखिन छाडेको बताउनुभयो । "किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप बनाउँथे । सुगा धपाउनकै लागि एक जनाले दिनभर खेतमा पहरा दिनुपर्दथ्यो । जताततै देखिने सुगा र मैना कता हरायो–हरायो," उहाँले भन्नुभयो । 

चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले सुगा र मैना तराइबाट पूर्णरुपमा लोप नभए पनि पहिलाको तुलनामा निकै कम देखिने गरिएको बताउनुभयो । प्राकृतिक रुपमा भेटिने आहार र बासस्थान मासिदै गएपछि यी पंक्षीहरु चुरे क्षेत्रतर्फ बसाइँ सर्दै गएको उहाँले जानकारी दिनुभयो । 

बरपिपल, समी, पाखर, जामुनजस्ता रुखहरु चराचुरुङ्गीका लागि सुरक्षित बासस्थान र प्राकृतिरुपमा आहार उपलब्ध हुने रुख हुन् । विकासको क्रममा बन्ने बाटोघाटो र पक्की घर निर्माणका कारण ति प्रजातिका रुखहरु मासिँदै गएकाले सुगा, मैना लगायत थुप्रै प्रजातीका चराचुरुङ्गी तराइबाट हराउँदै गएको छ, अध्यक्ष मण्डल भन्नुभयो । उहाँले जलवायु परिवर्तन पनि एक कारण भएको बताउनुभयो । जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धि, सिमसार तथा नदीनालामा पानी सुकेकाले थुप्रै प्रजातीका चराचुरुङ्गी तराइबाट लोप भइरहेको उहाँको भनाइ छ । नेपालमा हाल चोरी शिकारी तथा विभिन्न कारणले गर्दा ५७ प्रतिशत चरा कम भएको र २२ प्रजातिका चरा लोप भइसकेको अध्यक्ष मण्डलले बताउनुभयो । 

यस्तै, पर्यावरण संरक्षण अभियन्ता तथा मधेश प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले रुखबिरुवा मासिँदै जानु, बढ्दो ध्वनि, धुवाँ र माटो प्रदूषणका कारणसमेत सुगा, मैनालगायतका चराचुरुङ्गी लोप हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले चराचुरुङ्गीका लागि सुरक्षित बासस्थान र प्राकृतिरुपमा आहार उपलब्ध हुने उद्देश्यले तीन वर्षको अवधि पाँच हजारभन्दा बढी बरपिपल, समी र पाखरका बिरुवा रोपेको जानकारी दिनुभयो । सो बिरुवाहरु हुर्केपछि चराचुरुङ्गीको बासस्थान, आहार र पर्यावरण स्वच्छतामा सहयोग उहाँको भनाइ छ । 

यसैगरी, अर्का पर्यावरण अभियानी तथा मधेश प्रदेशका सभा सदस्य रामअशिष यादवले खेतबारीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले चराचुरुङ्गीको जीवन सङ्कटमा पर्दै गएको बताउनुभयो । त्यस लगायत गाँउ सहर भएर बग्ने नदीमा उद्योगबाट निष्कने रसायन मिसाइएको पानी र ढलको पानी पानी पिउनाले सुगामैना मर्ने तथा यहाँबाट पलायन भएको उहाँले जानकारी दिनुभयो । 

बजार क्षेत्रमा लगाइने स्ट्रिट लाइटका कारण पनि चराचुरुङ्गीले रात दिन पहिचान गर्न नसक्ने र मोबाइल फोन र यसका टावरबाट निस्कने विकिरणका कारण चराचुरु ङ्गीलाई बाँच्न कठिन भएको उहाँको भनाइ छ ।