• २६ पुस २०८१, शुक्रबार

कृषि उपज थोक बजार केन्द्र

सम्झौता सकिएको दुई वर्षसम्म भएन टेन्डर

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ १९ गते । बुटवलको पुरानो बसपार्कपछाडि रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ को पुनः टेन्डर प्रक्रियामा अलमल गरिएको छ । उपमहानगरपालिका–६ स्थित केन्द्रको सम्झौता अनुसार २०७८ साल भदौ २० गते नै व्यवसायीको म्याद सकिए पनि टेन्डर प्रक्रिया भने अहिलेसम्म सुरु हुन सकेको छैन । विसं २०६४ मा त्रिपक्षीय करार सम्झौता अनुसार निर्माण सुरु भई २०६७ साल भदौ २० देखि यो केन्द्र सञ्चालनमा आएको हो । एक बिघा सात कट्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्यवसायीले व्यवसाय गर्दै आएका छन् । त्यतिबेला व्यवसायीसँग १० वर्षका लागि सम्झौता गरिएको थियो ।

तत्कालीन समयमा कोभिडको कारण देखाई थोक बजार केन्द्र चलायमान बनाउन व्यवस्थापन समितिले पुरानै व्यवसायीलाई दिने सहमति गरेको थियो । सोही आधारमा अहिलेसम्म बजार चलिरहेको छ । पुराना व्यवसायीहरूले वर्षौंदेखि एकछत्र आधिपत्य जमाएको भन्दै नयाँ व्यवसायी असन्तुष्ट बनेका हुन् । एक बिघा सात कट्ठा क्षेत्रफलमा ६५ वटा सटरमा व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।

अखिल नेपाल किसान महासङ्घले छिटो टेन्डर गर्न माग गरेको छ । प्रदेश अध्यक्ष महेन्द्र गिरीले त्यसका लागि ज्ञापनपत्रसमेत बुझाइएको बताउनुभयो । तत्कालीन क्षेत्रीय कृषि निर्देशनालय पोखरा, बुटवल उपमहानगरपालिका र लुम्बिनी फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको त्रिपक्षीय सम्झौता अनुसार यो बजार सञ्चालनमा आएको थियो । वर्षमा तीन करोडभन्दा बढीको आम्दानी गर्दै आएको कृषि उपज केन्द्र टेन्डरमा लैजान बुटवल उपमहानगरपालिकाले चासो देखाएको छैन । 

लुम्बिनी फलफूल तथा तरकारी थोक बिक्री सङ्घका महासचिव मेघराज पौडेलले व्यवसायीको लगानीबापतको रकम बहालबाट कटौती हुने गरी १० वर्षको सम्झौता गरिएपछि आफूहरू सम्झौताबिना भाडा वृद्धि गरेर बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले पुनः टेन्डर गरेमा हामी पनि टेन्डर प्रक्रियामा जानुको विकल्प छैन तर टेन्डरमा जाँदा पुराना व्यवसायीको लगानीलाई पनि ध्यान दिनु पर्छ ।” 

सङ्घका पूर्वअध्यक्ष केशव कुँवरले त्यो बेला सञ्चालक समितिले अर्को टेन्डर हाल्दा यस्तै कृषि बजार अन्यत्र विकल्पका रूपमा दिएर मात्रै टेन्डरमा जाने सहमति भएको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “सम्झौता सकिएको साँचो हो तर हामीलाई विकल्प बजार दिएर मात्रै टेन्डरमा जाने एक प्रकारको सहमति भएको छ । त्यसैले हामीले पनि छाडेको अवस्था छैन । नगरपालिकाले अर्को बजार बनाउन सकेको छैन ।” बुटवल कृषि उपज थोक बजार सञ्चालन कार्यविधिमा पहिलो वर्ष १० वर्षका लागि लुम्बिनी फलफूल तरकारी थोक व्यापारी सङ्घको सिफारिस एवं समन्वयमा स्थान वितरण गरी इजाजत दिने उल्लेख छ । उक्त अवधि सकिएपछि राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशन गरी बढीमा पाँच वर्षका लागि व्यापारीलाई इजाजत दिने कुरा उल्लेख छ । बुटवल उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा कृषि विभागले भवन निर्माण गरिदिए पनि यसको पूर्ण जिम्मेवारी बुटवल उपमहानगरपालिकाकै रहेको छ । टेन्डरको विषयमा बुटवल उपमहानगरपालिका उपमेयर सावित्रा अर्यालले विगतमा भएको सम्झौता, कानुन र राजस्वको विषय विस्तृत रूपमा हेरेर मात्र यो विषयमा बोल्ने  बताउनुभयो । 

बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालले कोभिडका बेला सटरको बहाल सम्झौता सकिए पनि माथिल्लो तहबाट थप प्रक्रियाका लागि निर्देशन नआएको बताउनुभयो । सम्झौता सकिएपछि अब के गर्ने भनेर कृषि मन्त्रालयमा पत्राचार गरेको उहाँले जानकारी दिनुभयो । कृषि बजार व्यवस्थापनको अधिकार स्थानीय तहमा आएका कारण अहिले प्रदेशको कृषि विकास निर्देशनालयबाट एक अधिकृतस्तरका कर्मचारी बजार व्यवस्थापक, नगरपालिकाबाट एक जना र अन्य बजार सञ्चालक समितिबाट करारमा नियुक्त गरिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्र अहिले साँघुरो भएको भन्दै बुटवल उपमहानगरपालिकाको पहलमा बुटवल–१५ कर्साघाटमा ‘बहुउद्देश्यीय कृषि बजार’ को पनि निर्माण प्रक्रिया थालिएको छ तर त्योसमेत पूरा भएको छैन ।