• २७ पुस २०८१, शनिबार

सात वर्षदेखि जलाद नदीको पुल निर्माण अलपत्र

blog

जलाद नदीमा अलपत्र परेको पुल निर्माण । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, माघ १६ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको काम अलपत्र परेको छ । ठेकेदार पक्षले बेवास्ता गर्दा निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । 

मिथिलामध्यमा परिक्रमा सडकखण्डसँग जोडिएको जलाद नदीमा पुल निर्माणमा ढिलाइ हुँदा इच्छापुर, दिगम्बरपुर, पर्वता, उमाप्रेमपुर लगायत दर्जनौँ गाउँका बासिन्दा समस्या भोग्दै आएका छन्। बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको यहाँका स्थानीयवासी बताउँछन् । पुल नबन्दा हरेक वर्ष वर्षायाममा सो नदीले बगाएर सर्वसाधारणले ज्यान गुमाउने गरेको र आउन जान सास्ती खेप्नुपरेकाले उहाँहरूको भनाइ छ ।

सडक डिभिजन कार्यालय जनकपुरका अनुसार २०७६ पुस १९ गते पुलको काम सम्पन्न गर्नेगरी २०७४ असार १९ गते ठेक्का दिइएको थियो । ठेक्काको समयसीमा नाघेपछि २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो । म्याद गरिएपनि निर्माण कम्पनीले हालसम्म पुल निर्माणको कामलाई अगाडि बढाएको छैन ।

सो पुल निर्माणको ठेक्का पप्पु कमल जेभी निर्माण कम्पनीले पाएको छ । पुलको लम्बाई १२० मिटर र चौडाइ ११ मिटर छ । निर्माण कम्पनीले १२ करोड ३५ लाख ६३ हजार २२४ रुपियाँमा निर्माणको जिम्मा पाएको हो ।

डिभिजन सडक कार्यालय जनकपुरका सूचना अधिकारी एवम् इन्जिनियर विवेक झाले ठेकेदारको लापरबाहीले पुल निर्माणको काममा ढिलाइ भएको बताउनुभयो । पटक–पटक ताकेता गर्दा पनि ठेकेदार कम्पनीले पुल निर्माणमा सक्रियता नदेखाएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ५३ प्रतिशत पुल निर्माणको काम भएको छ । 

यता, ठेक्का सकार गरेको अढाई वर्षमा बन्नुपर्ने पुल सात वर्षमा पनि नबनेपछि स्थानीयले तत्काल पुल निर्माणको माग गर्दै पटक-पटक दबाब कार्यक्रम गरेका छन् । माघ ३ गते स्थानीय बुद्धिजीवी तथा युवाले ढल्केवर–जनकपुर सडकखण्डको महेन्द्रनगर चोकमा ‘जलाद नदीको अलपत्र पुल छिटो निर्माण गर’ का नारा लगाउँदै आधा घण्टा चक्का जाम गरेका थिए । 

दबाब मूलक प्रदर्शन पश्चात् स्थानीय प्रदर्शनकारी र सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख अरुणकुमार लाल कर्णको अध्यक्षता सोही दिन बसेको बैठकले २०८१ जेठ भित्र निर्माण सम्पन्न गर्ने काम अगाडि बढाउने सहमति बनेको थियो । 

त्यसका बाबजुद निर्माण कम्पनी काम सुरु नगरेपछि स्थानीय युवाको एक समूहले मङ्गलबार धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।