नैनीताल, नैनीताल भनेर धेरै समय अघिदेखि सुनेको हो । लाग्थ्यो, शब्द सुन्दै यति आत्मीय र प्रिय छ भने त्यसलाई नजिकबाट प्रत्यक्ष रूपमा छोएर, छामेर आँखाभरि अजमाउन पाए झन् कस्तो होला ? देशभित्रको माटो हो कि मुलुक बाहिर हो ? घाम झुल्के पारा कसरी पुगिएला ? मनमनै कुरा फत्काएर मगजभरि बगे्रल्ती जिज्ञासा उब्जिएको थियो ।
प्रतीक्षाको त्यो घडी कुरिरहँदा २९ मङ्सिर, २०८० का दिन त्यता हुइँकिने साइत जु¥यो । कामविशेषले सुर्खेत पुगेकी थिएँ म । कर्णाली प्रहरी प्रमुख मेरो श्रीमान्, पत्रकारद्वय कृष्ण गौतम र तृप्ति शाहीसँगै हुनुहुन्थ्यो । हाम्रो त्यस यात्रालाई गन्तव्यमा पु¥याउने जिम्मा सवारी चालक असई दिलीप हमालको काँधमा थियो । बिहान सखारै सुर्खेत उपत्यकालाई छाडेर सुब्बाकुना हुँदै भेरी नदी क्रस भएर छिन्चु पुगेपछि उत्तर–पूर्व सल्यान–डोल्पा पुगिने बाटोतिर नगई दाहिने कोहलपुरतर्फ अगाडि बढ्यौँ । कोहलपुरबाट पश्चिम महेन्द्र राजमार्ग बाँकेको बाँसगढी हुँदै बर्दिया राष्ट्रिय निकुञ्जलाई छिचोलेर कर्णाली पुल पुगियो ।
चिसापानीस्थित सो पुलको लम्बाइ ५०० मिटर छ । एउटै खम्बाबाट विशेष प्रकारले उभ्याइएको पुलमा साइड हेरेर गाडी रोकियो । स्मरणीय कुरा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राजमार्गबाट चल्ने सवारी साधनलाई सुरक्षा चेकपोस्टमा रोकेर समूह समूहमा मात्रै छोड्ने गरिँदो रहेछ । एक्लै दोक्लै गुड्ने खास गरेर दुई पाङ्गे्रलाई वन्यजन्तुले आक्रमण गरेका धेरै घटनाका कारण त्यस किसिमको सावधानी अपनाइएको पाइयो ।
नयाँ गन्तव्य पन्छी जसरी उड्न नसके पनि खुला वातावरणमा केही पल त्यहाँको वासना लिने चाहना थियो तर हाम्रो त्यो रोजाइलाई हावाले बिथोल्यो । साँच्चै त्यहाँ आफूलाई धान्नै गाह्रो भयो । यद्यपि निलो आकाश छिप्पिँदै गएका घामका घमाइला ती किरण अनि पुलमुनि शान्त तवरले बहेको सफा र कञ्चन पानीलाई नियाल्न स्याँठले जति नै सेके पनि केही फोटा कैद ग¥यौँ, मोबाइलमा । समयको अधिकतम सदुपयोग गर्न एकद्वार प्रणाली लागु गर्ने सर्वसम्मत निर्णय अनुसार तृप्तिजीको मोबाइलबाट मात्र फोटो खिचियो ।
कर्णालीको चिसापानीका माछा स्वादिष्ट हुने कुरा सुनियो । घुमघामका लागि हिँडेका र कामविशेषले पुग्ने धेरै मानिस त्यहाँ गाडी रोकेर फोटो खिच्न लालायित भएका पनि देखियो । मान्छेको त्यो रहरमा गाला ताछ्ने गरी चलेको त्यो चिसो हावा चैत/वैशाख महिनामा चल्दैन भनेको सुन्दा कसरी पत्याउनु ? हामीलाई आश्चर्य लाग्यो । कति न टाढा हो र ! त्यही पुलपारि अर्कै परिवेश थियो । रमाइलो घमाइलो सुदूरपश्चिमको माटोले हार्दिकतासाथ स्वागत गरेको भान भयो । त्यताको ठाउँ ठहरदेखि हरेक विषयवस्तु यस स्तम्भकारका लागि बिल्कुलै नयाँ र अनौठा भए । घरीघरी मनसँग मनको कौतुहल – म कतै सुरुङभित्र त छैन ?
चिसापानी पुलभन्दा अलि तल बर्दिया क्षेत्रमा कर्णाली नदी दुई धारमा विभाजन भएर बगेको रहेछ । त्यहाँ पर्ने राजापुरको माटो मलिलो हुनाले उर्वर जमिनका रूपमा परिचित भएको कुरा श्रीमानले बताउनुभएको थियो । यसरी आफूले सुनेर बुझेका विषयमा गफिँदै हाम्रो टिम लम्की हुँदै अत्तरिया पार गरेर कञ्चनपुर पुग्यौँ । तृप्तिजीको योजना अनुसार हामी प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको निवासमा साँझका पाहुना बन्न पुग्यौँ । माइतमावल पुगे झैँ सरले साँच्चै मिठो सत्कार गर्नुभयो । भोलिपल्ट जिल्ला प्रहरी प्रमुख कमल थापाको सहयोगमा स्कार्पियो गाडीले हामीलाई नैनीतालतर्फ हुइँक्याउन थाल्यो । कञ्चनपुरको माटोमा नेपाली भूभाग पार गर्दै वनबासा नाका पुगियो । बिहानैदेखि त्यहाँ सवारीसाधनको चाप थियो । सयौँ नेपाली भारतमा काम गरेर मातृभूमि प्रवेश गर्नलाई लामो लाइनमा उभिएको टिठलाग्दो दृश्यले हामीलाई भावुक बनायो । पश्चिम नेपालका अधिकांश युवा सीमा पारी नगई भोक नमेटिने विडम्बना उहिल्यैदेखिको हो । कुनै नेता, भाषण र नाराले नेपालीको यो नियतिमा उपचार भएन ।
नेपाल–भारतको सीमा महाकाली नदी पार गरेर भारतको उत्तराखण्डस्थित नेसनल हाइवेलाई पछाडि छोडेर सहायक बाटोबाट उत्तरतिर गुरु नानकको मन्दिर पुग्यौँ । त्यहाँ छेउमै एउटा विशाल ताल पनि रहेछ । ताललाई नानक सागर भनिँदो रहेछ । त्यस घडी हामी नैनीतालको गृह प्रवेश गर्न आतुर थियौँ । लमतन्न सुतेको बाटो नयाँ दुलही झैँ छेउकुना अन्दाज थिएन, हामीलाई । पूर्वका हामीसँग कर्णाली र सुदूरपश्चिमको यो संयोग कतिखेर नैनीताललाई वृत्तान्त कहुँ जस्तो !
मेरो मगजमा एउटा प्रश्नले डेरा जमायो । त्यो कौतुहल निवारण गर्न चालकतिर फर्केर सोधेँ, “दिलीप सर, आज गाडी ड्राइभ नगरेर थपक्क पछाडिको सिटमा बस्दा कस्तो अनुभव भइरहेको छ ?” मलाई सुनेर मुसुक्क मुस्कुराउँदै छोटकरीमा उहाँले भन्नुभयो, “शरीर बसे पनि मेरो खुट्टा चलिरहेको छ ।” त्यता गुडिरहेको स्कर्पियो चालक सोनुको जिम्मामा थियो ।
नैनीताल कस्तो होला ? यो प्रश्नले घच्घच्याउन छोडेन । फेरि यतिखेर त्यता घुम्न उपयुक्त छैन भनेर सुनेको कुरा कति सत्य हो ? सेताम्मे हिउँ पर्ने परिवेश हो कि चिसापानी पुलमा जसरी मान्छे उडाउने हावा लाग्ने असह्य प्रकारको वातावरण ? प्रकृतिको त्यो अनुपम वरदानमा पाइला नटेकेसम्म यसै भन्न सक्ने अवस्था रहेन । हाइवेमा गुड्दा यस्ता अनगिन्ती कुराले मनको तलाउ भरियो । जसरी पोखरीको पानीमा माछा पौडिन्छन् र डुबुल्की रहन्छन् ।
चिया र हल्का केही ब्रेकफास्ट खान गाडीको झ्यालबाट बाहिर आँखा नचाउँदै गरेका हामीले नानक सागरको डिलमा उभिएर कालो कराइमा च्यार्रच्यार्र पारेको देखेपछि त्यही घ्याच्च गाडी रोकियो । एक जनाले आफ्नो सवारीसाधन मोटरसाइकललाई नै ठेलागाडा बनाएर चियासँगै तयार गरेको पुरी, आलुचप र पकौडा खान अब कुन आइतबारले छेकोस् ? इच्छा हुनेले हात लम्काउन नलजाउ भनेर हँस्यौली भयो । “भाइ, तपाईंसँग सादा पाउरोटी छैन ?” मेरो प्रश्नमा “यी हे न, यहाँ से जो पसन्द हे खाइए,” तिनले सङ्केत गरेतिर आँखा पर्दै ती कुनै परिकार छान्न सकिनँ । आफूलाई ग्यास्ट्रिक नभए पनि त्यो औधी चिल्लो बिहानबिहानै कसरी खानु ? बिनाचिल्लो भन्नु उसिनेको आलु मिचेर जामजसरी पाउरोटीमा दलेको हेर्दै नरखटे (म) लाई त्यो पनि चाहिएन । यद्यपि खुला ठाउँमा पकाएको दुध चिया पिउँदाको सम्झना भने रङ जस्तै गाढा बनेर बसेको छ । वास्तवमा चिया धेरै मिठो थियो ।
नानक मन्दिरको अगाडि र चिया चोकमा क्यामेरा नाचेपछि पुनः गाडीमा लोड भयौँ हामी । कालोपत्रे फराकिलो सडक ठाउँठाउँमा मोडिनुको मतलब उकालो घुम्ती भेटियो । जाँदैथ्यौँ, नैनीताल पुग्न २८ किलोमिटर वर स्थानीय होटलको आँगनमा गाडी रोकियो । चालक नै गाइड बिहानदेखि सोनु साथमा थिए । नेपालका धेरै जिल्ला र काठमाडौँसमेत घुमफिर गरिसकेका उहाँ नेपाली बुझ्ने मात्र होइन, राम्रोसँगले बोल्नुहुँदो रहेछ । त्यसो हुँदा बाटो असहज भएन । त्यहाँ वेटरलाई खानाको अर्डर टिपाएर हामी भने क्यामेरामा कैद हुने खेलतिर लाग्यौँ ।
वास्तवमा लामो समयपछि पूर्ण रूपमा फुर्सद मिलेको अनुभव भयो । हाम्रो मोबाइल फोनमा न टावर थियो, न त इन्टरनेट सेवा नै । डाटा पनि चलेको थिएन । यसो सोच्दा यो प्रविधिले हाम्रो दैनिकीमा कति लोड थोपरेको रहेछ ? लाग्यो, हामीले उसलाई चलाइरहेका होइनौँ । सधैँ असार पन्ध्रका गोरु त हामीलाई बनाएको छ । यस्तै यस्तै विषयमा चर्चा गर्दै बाटो अगाडि बढ्यो । नेपालको सुदूरपश्चिम महाकाली नदीपारि भारतको उत्तराखण्ड राज्यको नैनीताल प्राकृतिक रूपले अत्यन्तै सुन्दर पर्यटकीय स्थल हो भनेर बारम्बार सुनेको कुरा अन्ततः प्रत्यक्ष रूपमा आँखा जुधाउने सौभाग्य मिल्यो । छ हजार ३४६ फिटको उचाइमा अवस्थित नैनीतालको समीपमा पुग्दा घडीको सुईले दिउँसो १२ बजाउँदै थियो । स्मरणीय कुरा ब्रिटिसले इन्डियामा उपनिवेश गरेको बेला पहाडको बिचमा ताल पत्ता लगाए र मोटर बाटो पु¥याए । चिसो हावापानी भएको त्यस ठाउँमा सरकारी अड्डा, अस्पताल र स्कुल स्थापना गरे । अहिले पनि आममानिसको बुझाइ नैनीतालस्थित शैक्षिक संस्थामा अन्यत्रको तुलना राम्रो पठनपाठन हुन्छ । यस कारण नैनीताललाई शिक्षाको हव भनेर पनि चिनिन्छ ।
त्यहाँ पुग्ने देशी/विदेशी पाहुनालाई नैनीतालले भरपुर मनोरञ्जन दिएको देखियो । महेन्द्रनगरबाट गएका गाडीको काम नैनीताल पु¥याउनु हो । गेटभित्र पसिसकेपछि सबै साधन पार्किङ स्थलमा सामेल हुँदा रहे छन् । नैनीतालभरिको पार्किङ स्थल त्यही रहेछ । अनि त्यहाँ पुगेका पर्यटकलाई घुमाउन त्यही व्यवस्था हँुदो रहेछ । हामीलाई वरै बाटो छेक्दै आएको युवाले यी घुम्नुपर्ने स्थल हुन् भनेर हातमा बोकेको एल्बम देखाएर मन पगाल्ने काम ग¥यो । एल्बममा समेटिएका ती १०/१२ ठाउँ घुमाएको भारु चौँतिस सय रहेछ । यता महेन्द्रनगरबाट नैनीताल पुगेर फर्केको भारु सात हजार । जाँदा उकालो मोड पार गर्न चार घण्टा व्यतीत भएछ ।
स्मरणीय कुरा हामी जति ठाउँ गयौँ, पुनः टिकट काट्नुपर्ने रहेछ । अर्को ती रमणीय स्थाननजिक खुलेका रेस्टुराँहरू चियाखाजा बिकाउन उस्तै खप्पिस रहेछन् । महेन्द्रनगरबाट १५० किलोमिटर टाढा त्यहाँ खेतीयोग्य जमिन देखिएन । जताततै जङ्गली भूभाग हुनाले सिक्किम राज्यकै नीति जस्तो साना साना कुरालाई प्याकेज बनाई पर्यटनलाई नै व्यवसाय बनाएर प्रत्येक मान्छेले आफ्नो घरपरिवार पालेको बुझियो । नैनीताल उहिल्यैदेखिको पर्यटकीय स्थल रहेछ । यहाँको मझौला आकारको ताल, तालमा हुइँकिइरहेका डुङ्गाहरू, तालको वरिपरि बजार र सोभन्दा माथि पाखामा जङ्गलभित्र नमस्ते छाना भएका ती घर रुखसँगै उम्रिए जस्ता देखिन्थे । तालको बायाँपट्टि माथिल्लो थाप्लोमा ब्रिटिसले बनाएका स्कुलहरू गजधम्म बसेका थिए । ठाउँठाउँमा ब्रिटिस कालमा बनेर बुढा भएका घरहरू, पर्खालहरू, पुलिस स्टेसन, उच्च न्यायालय र माथि डाँडासम्म पु¥याइएको बाटोले नैनीताल क्षेत्र ब्रिटिसले बनाएको हो भन्ने प्रमाण आफैँ बोलिरहेका थिए ।
अर्को आश्चर्य के देखियो भने तालको दाहिनेतर्फको बजार लाइनमा दुई बाटो थिए । त्यस ताका माथिल्लो बाटोमा ब्रिटिसहरू मात्र हिँड्थे रे र त्योभन्दा एक मिटर तल्तिरको बाटोबाट भारतीय । ब्रिटिस हिँड्ने बाटोमा भारतीयका पाइलासमेत पर्न पाउँदैनथे रे ! यसबाट थाहा हुन्छ कि त्यस ताका भारतमा ब्रिटिस उपनिवेश कतिसम्म निर्दयी र विभेदकारी रहेछ ! जे होस्, ब्रिटिसले बनाएको नैनीतालमा पर्यटकीय माहोल बढ्दै गएपछि अधिकांश मानिसको रोजीरोटी सहज भएको देखियो । तोकिएका स्थल घुमिसकेपछि माथि डाँडाको टुप्पाबाट नैनीताललाई नजर लगाउँदा पानीले भरिएको खड्कुडो झैँ देखिन्थ्यो । उक्त तालमा भकुन्डा तैरिए जसरी डुङ्गा सयर गरिरहेका थिए ।
एउटा दहमा जम्मा भएको पानीले कति मानिसको मन जित्न सकेको हो ? त्यो पानीको गति र लयलाई हेरेर अघाउने अवस्था थिएन । एउटा निलोमा कति हजार निलो मिसिएको होला ? एउटा तालमा कति लाख रङको स्नेह घोलिसकेको होला ? मनभरि माया पोखियो, नैनीताल र आसपासको भूगोलको । झुल्के घाम जसरी त्यो पहाडलाई छुन तम्सिएको मन छेउ किनार हेरिरहेँ ।
मैले कतै रेखैरेखा देखेँ, कतै पानको पात । तालको पानी तलमाथि भई खेलेको छाल हेरेँ । पानीको रङ्गको त्यो नाच खुला निलो आकाशमुनि त्यो धराको विकास हेर्दा आखिर माटोलाई जगाउन राज्य भने पनि मानिसकै कला र कौशल होइन ? तिनै मानिसले मानिसलाई घुमाएर प्रकृतिको सुन्दर काखमा आत्मीय माया सिञ्चित गर्दै वर्षौंदेखि आफ्नो जीविकोपार्जन गरिरहेका छन् । यसरी पर्यटनले नैनीताललाई सधैँ फक्राइरहेको छ ।