• ७ मंसिर २०८१, शुक्रबार

पर्याप्त बजेट नहुँदा जनताका आशा पूरा हुन सकेनन्

blog

पर्सा जिल्लाको सदरमुकाम वीरगन्जदेखि पश्चिममा विन्ध्यवासिनी गाउँपालिका पर्दछ । यसको वीरगन्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, पोखरिया नगरपालिका र पकाहा मैनपुर गाउँपालिकासँग सिमाना जोडिएको छ । दोस्रो स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित प्रमोद तिवारीले पालिकाको विकास निर्माणसँगै कृषि र स्वास्थ्य क्षेत्रका योजनालाई प्रमुख प्राथमिकता दिँदै आउनुभएको छ । गाउँपालिकाको विकास निर्माण, कृषिकार्यमा देखिएका चुनौतीका सन्दर्भमा अध्यक्ष तिवारीसँग गोरखापत्रका वीरगन्ज समाचारदाता दीपकप्रसाद गौतमले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :

तपाईं निर्वाचित हुनुभएको १९ महिना बितिसकेको छ । गाउँपालिकामा विकास निर्माणको अवस्था के छ ?

१९ महिना एकदम राम्रो बित्यो । यस अवधिमा धेरै तितामिठा अनुभव बटुलियो । भौतिक संरचना निर्माणका कार्य हामीले गरेका छौँ । स्कुल, स्वास्थ्य चौकीका जीर्ण भवनको निर्माण तथा पुनर्निर्माण गरेका छौँ । हाम्रो गाउँपालिकामा धेरै खेतीयोग्य जग्गा रहेकाले नाला तथा सडक निर्माणका काम गरेका छौँ । 

काम गर्दा के–कस्ता समस्या र चुनौतीको सामना गर्नु प-यो ? 

तीन तहको सरकारले अधिकार र वित्त बाँडफाँडको संवैधानिक व्यवस्था छ । धेरैजसो कुरा आज पनि अद्यावधिक भएका छैनन् । स्थानीय तहको परिकल्पना जुन हिसाबले गरिएको थियो त्यस्तो हालसम्म पूरा भएको छैन । गणतन्त्र, सङ्घीय शासन व्यवस्था राम्रो भए पनि हाम्रा लागि नयाँ प्रयोग भएकाले सबै जनताले बुझ्न र पूर्ण रूपमा लागु गर्न समय लाग्छ । 

यसले गर्दा केही समस्या बेला बेलामा देखिन्छन् । यस्तै चुनौती सामना गर्नु पर्छ, अरू खासै छैन । पालिकाले भोग्नु परेको मुख्य समस्या सङ्घीय अनुदान कटौती हुँदै जानु, समपूरक र विशेष अनुदानको रकम ढिलो गरी आउनु, काम सम्पन्न नगरे फिर्ता जानु, राजस्व बाँडफाँडको अनुमानित रकमको ५० प्रतिशत पनि प्राप्त नहुनु हो । संविधान सङ्घीयताको मर्म अनुसार वित्तीय सङ्घीयता र प्रशासनिक सङ्घीयता कार्यान्वयन गर्न नसक्नु, महìवपूर्ण ऐन÷कानुन अहिलेसम्म बन्न नसक्नु, स्थानीयको प्राथमिकता र सङ्घ तथा प्रदेशको प्राथमिकता भिन्न भिन्न रहनुले समस्या भएको छ । 

भनिन्छ स्थानीय तह गाउँ गाउँमा सिंहदरबार हो । पालिकावासीलाई सिंहदरबारको अनुभूति दिलाउनु भएको छ त ?

गाउँपालिकाबाट सेवाग्राही जनतालाई सहज रूपमा सेवा प्रवाह गरिरहेका छौँ । स्थानीय तहलाई प्रभावकारी बनाउन स्थानीय तहमा पार्टी सिस्टम गर्नु हुँदैन भन्ने मलाई लाग्दछ । पार्टी सिस्टम हुँदा पार्टीले स्थानीय तहलाई नियन्त्रणमा लिन खोजेको जस्तो भान भइरहेको छ । जनताको असीमित आशा र आवश्यकतालाई अत्यन्तै सीमित स्रोत साधनले पूरा गर्नुपर्ने वर्तमान अवस्थाले गाउँ गाउँमा सिंहदरबारको महसुस हुनै सक्दैन । सडकको स्तर वृद्धि, कृषिमा उत्पादन वृद्धि तथा बजारीकरण, उद्यम विकास र रोजगारी सिर्जनामा पर्याप्त बजेट नहुँदा जनताका आशा पूरा हुन नसकेका हुन् । 

यस पालिकामा धेरै खेतीयोग्य जमिन रहेकाले कृषिको क्षेत्रमा के के गर्दै हुनुहुन्छ ?

बिउबिजन वितरण, मलखाद वितरण गर्नुका साथै पालिकाभित्र जडान भएका कृषि मिटरहरूको विद्युत् बिल तिरिदिने गरिरहेका  छौँ  । पम्पसेटहरू वितरण गरेका छौँ । सोलार शक्तिबाट पम्पसेट चलाएर सिँचाइ गर्न सकिने गरी सोलारसहितका पम्पसेट पनि वितरण गरेका छौँ । पालिकाभित्र रहेका कुलो पैनीहरूलाई सरसफाइ गर्ने, पुरिएकालाई पुरानै अवस्थामा ल्याउने कामसमेत गर्दै आएका छौँ । रासायनिक मलभन्दा पनि जैविक मलको प्रयोगलाई बढाउन हामीले खरिद रकममा ९० प्रतिशत अनुदान दिएर १० प्रतिशत रकममा जैविक मल किसानलाई वितरण गर्ने गरेका छौँ ।

पालिकाले शिक्षाको क्षेत्रमा के के गरेको छ  ? 

पालिकाभित्र एउटा पनि १०+२ पढाइ हुने विद्यालय थिएन । हामीले दुई वटालाई १०+२ बनाएर पढाइ सञ्चालनमा ल्याएका छाँै । नमुना बालविकास केन्द्र पनि स्थापना गरिरहेका छौँ । अहिले पनि १६ वटा दरबन्दी रिक्त छ, शिक्षा सेवा आयोगबाट जति आउनुपर्ने हो त्यो जनशक्ति नआएकाले शिक्षकको समस्या रहेको छ । 

स्वास्थ्यको क्षेत्रमा यस पालिकामा के के गर्दै हुनुहुन्छ ? 

हाम्रो पालिकामा बर्थिङ सेन्टर छैन । जसरी भए पनि आउने आर्थिक वर्षमा स्थापना गरी सञ्चालनमा ल्याउने छौँ । अमरपट्टीमा प्रयोगशाला सञ्चालनमा ल्याएका छौँ । यहाँदेखि वीरगन्जसम्म निःशुल्क एम्बुलेन्स सेवा दिने गरेका छौँ । निकट भविष्यमा १५ शøयाको अस्पताल पालिकाभित्रै बनाउने छौँ । वीरगन्ज तथा पोखराका अस्पतालमा जानुपर्ने बाध्यतालाई हटाउने छौँ । पालिका क्षेत्रभित्र पाँच वटा स्वास्थ्य चौकी, एउटा सामुदायिक स्वास्थ्य सेवा केन्द्र र एउटा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।  

सङ्घ, प्रदेश सरकारसँग के कसरी समन्वय भइरहेको छ ?

पालिकाको विकासका लागि प्रदेश सरकारसँग समन्वय भइरहेकै छ । पालिकाले जनताको अवश्यकता अनुसारका कामलाई प्राथमिकता दिने गरेको छ तर प्रदेशले त्यसो गर्ने गरेको पाइँदैन । बजेट सिलिङ हुँदा पछिल्लो समयमा ८० लाख ससर्तको, ३० लाख विशेषको र २० लाख समपूरकको बजेट म निर्वाचित भएर आएदेखि बन्द भएको छ । गत साल कार्यव्रmम आयो तर बजेट आएन । 

पालिकाले युवा र रोजगारीका क्षेत्रमा के के गरेको छ ?

हाम्रो पालिकाका धेरै युवा श्रमिक स्थानीय उद्योग, सुक्खा बन्दरगाह, अनि खेतीपातीमा संलग्न रहेका छन् । केही वैदेशिक रोजगारीमा पनि गएका छन् । युवालाई दक्ष बनाउन पालिकाले स्वरोजगार तालिम तथा लोक सेवा तयारी कक्षा सञ्चालन गरेको थियो ।