• २७ पुस २०८१, शनिबार

६ महिनामा ३० प्रतिशत राजस्व सङ्कलन

blog

भैरहवा भन्सार कार्यालय । तस्बिर : लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, माघ ११ गते । भैरहवा भन्सार कार्यालय रुपन्देहीले चालु आर्थिक वर्ष २०८०–८१ को ६ महिनामा वार्षिक लक्ष्यको जम्मा ३० प्रतिशत मात्र राजस्व  सङ्कलन गरेको छ । 

चालु आर्थिक वर्षका लागि भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य दिएको छ । विभागले आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्तसम्म ६३ अर्ब १० करोड २७ लाख ९७ हजार राजस्व सङ्कलन लक्ष्य तोकेको थियो । 

तर भन्सार कार्यालयले पुस मसान्तसम्म जम्मा ३९ अर्ब १४ करोड १२ लाख ३३ हजार अर्थात् ३० दशमलव ६२ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले मङ्सिर पुस महिनामा अन्य समयभन्दा कम राजस्व सङ्कलन हुने भएकाले ६ महिनामा कुल लक्ष्यको ३० प्रतिशत मात्र राजश्व सङ्कलन भएको बताउनुभयो । 

भन्सार विभागले गत आर्थिक वर्ष २०७९–८० का लागि एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख ७९ हजार राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा ४९ दशमलव ४१ प्रतिशत मात्र राजस्व सङ्कलन भएपछि चालु आर्थिक वर्षका लागि घटाएर लक्ष्य तोकिएको थियो । 

विभागले घटाएर लक्ष्य तोकिदिए पनि ६ महिनामा भएको राजस्व सङ्कलनको परिमाण हेर्दा भन्सार कार्यालयलाई लक्ष्य पूरा गर्न चुनौती देखिएको छ । प्रमुख भन्सार अधिकृत गौतमका अनुसार आर्थिक वर्षका सुरुका तीन महिना राजस्व सङ्कलन राम्रै देखिए पनि कात्तिक, मङ्सिर र पुसमा अपेक्षाकृत राजस्व सङ्कलन हुन सकेन । 

पहिलो साउन महिनामा ६ अर्ब ४९ करोड पाँच लाख ३१ हजार राजस्व सङ्कलन गर्दै ७८ दशमलव ३० प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयले सबैभन्दा थोरै कात्तिक महिनामा जम्मा ४२.०९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । 

विभागले कात्तिकमा १० अर्ब ६७ करोड ९२ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य दिएकोमा जम्मा चार अर्ब ४९ करोड ४८ लाख ३९ हजार रुपियाँ सङ्कलन भएको थियो । 

त्यस्तै, कार्यालयले भदौमा लक्ष्यको ६६ दशमलव ९४ प्रतिशत, असोजमा ७३ दशमलव ३१ प्रतिशत, मङ्सिरमा ५५ दशमलव ७८ प्रतिशत र पुसमा ५७ दशमलव ९६ प्रतिशत राजश्व सङ्कलन गरेको जनाएको छ । 

भन्सार कार्यालयले आर्थिक वर्ष २०७३–७४ सम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दैआएको थियो । त्यसयता २०७७–७८ मा लक्ष्यको ११३ प्रतिशतसम्म राजस्व सङ्कलन गरेको कार्यालयले अन्य कुनै पनि वर्षमा भने लक्ष्य पूरा गर्न सकेको छैन ।

गत आर्थिक वर्ष २०७९–८० मा त पछिल्लो आठ वर्ष यताकै सबैभन्दा कम ४९ दशमलव ४१ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो । रकमका हिसाबले भने चालु वर्षको ६ महिनामा गत वर्षको ६ महिनाभन्दा पनि चार अर्ब बढी राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ । 

गतवर्ष पुस मसान्तसम्म ३५ अर्ब ४४ करोड २२ लाख ५५ हजार राजस्व सङ्कलन भएको थियो । प्रमुख भन्सार अधिकृत गौतमका अनुसार बेलहिया नाका हुँदै हुने आयात खुम्चिदा विभागले तोकिदिएको लक्ष्य पूरा नभएको हो ।

कार्यालयका अनुसार विगतका वर्षहरूमा सबैभन्दा बढी आयात हुने र राजस्व सङ्कलनमा मुख्य योगदान दिने वस्तुहरूको आयात पछिल्ला वर्षमा न्यून हुँदा राजस्व सङ्कलनमा ह्वात्तै गिरावट आएको छ ।