• १३ असोज २०८१, आइतबार

सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी

blog

काठमाडौँ, माघ ८ गते । विशेष अदालतले तत्कालीन संविधान सभाका सदस्य इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो । 

सो मुद्दामा अदालतले तामाङ पत्नी सिर्जना, केशवलाल श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई पनि दोषी ठहर गरेको छ । प्रतिवादी बनाइएका इच्छाराजकै छोरीहरू प्रतिष्ठा तामाङ र प्रतीक्षा तामाङलाई भने अदालतले सफाइ दिएको छ ।

सिभिल सहकारीका अध्यक्षसमेत रहेका इच्छाराज तामाङलाई यसअघि नै थुनामा पठाएको थियो । सहकारी ठगीको मुद्दा भने जिल्ला अदालतमा विचाराधीन छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराज तामाङसहित छ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो । विभागले सबै प्रतिवादीसँग गरी झन्डै पाँच अर्ब रुपियाँ बिगो दाबी गरेको थियो । उनीहरूका नाममा रहेको जग्गा र अन्य सम्पत्ति जफतको दाबी पनि विभागले गरेको थियो । 

गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती, छोरीसमेतका नाममा राखेको आरोप तामाङमाथि विभागले लगाएको थियो । श्रीमतीका नाममा अचल सम्पत्ति रहेको जिकिर विभागको थियो । यस्तै छोरीहरूको नाममा घरजग्गा र सेयरसमेत रहेको दाबी विभागले अभियोगपत्रमा लिएको थियो ।

विभागले इच्छाराज तामाङसँग तीन अर्ब ३१ करोड रुपियाँ बिगो दाबी गरेको थियो । यस्तै श्रीमती सिर्जनासँग एक अर्ब तीन करोड, छोरीहरू प्रतीक्षासँग छ करोड २२ लाख र प्रतिष्ठासँग एक करोड ८९ लाख रुपियाँ बिगो दाबी गरेर मुद्दा दायर गरेको थियो । अदालतले दुवै छोरीलाई भने अभियोगबाट सफाइ दिएको छ । यस्तै विभागले सिभिल सहकारीका तत्कालीन अध्यक्ष केशवलालसँग २६ करोड रुपियाँ बिगो दाबी गरेको थियो । 

२०७९ भदौ १६ मा दायर मुद्दामा विशेष अदालतले तामाङलाई थुनामै राख्न आदेश गरेको थियो । पछिल्लो समय विशेष अदालतमा अध्यक्ष र नयाँ सदस्यको पदस्थापनपछि मुद्दालाई सुनुवाइको प्राथमिकतामा राखिएको थियो । विशेषले पुस १ गतेदेखि मुद्दाको नियमित सुनुवाइ प्रारम्भ गरेको थियो । पुस २ गतेदेखि मुद्दाको सुनुवाइ निरन्तर गरिएको थियो ।