• १६ भदौ २०८१, आइतबार

बढे गहुँ खेती गर्ने कृषक

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, माघ ७ गते । सुनसरीमा यस वर्ष गहुँ खेती गर्ने कृषक बढेका छन् । कृषि ज्ञान केन्द्र सुनसरी र स्थानीय पालिकाहरूले गहुँ खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएपछि जिल्लामा गहुँ खेती गर्ने किसान बढेका हुन् । 

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षभन्दा यस वर्ष गहुँ खेती गर्ने कृषक बढेका छन् । गत वर्ष १२ हजार २३७ हेक्टर क्षेत्रफलमा गहुँ खेती भएकामा यस वर्ष १२ हजार ८०५ हेक्टर क्षेत्रफलमा गहुँ खेती लगाइएको छ । उहाँले भन्नुभयो, “जिल्लाका स्थानीय पालिकाहरूले कृषकलाई गहुँ खेती गर्न प्रोत्साहनका कार्यक्रम ल्याएपछि जिल्लामा गहुँ खेती गर्ने कृषक बढेका हुन् ।” 

अहिले जिल्लाका बर्जु, भोक्राहा, डुम्राहा, नरसिंह, बबिया, देवानगन्ज, अमैबेला, सिमरिया, भलुवा, औरावनी, सत्तेझोडाका कृषकले व्यावसायिक रूपमै गहुँ खेती गरेका छन् । कृषि ज्ञान केन्द्र सुनसरीले बर्जु गाउँपालिका–५ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण प्रयोजन अन्तर्गत १५० हेक्टर क्षेत्रफलमा गहुँ ब्लक कार्यक्रम सञ्चालन गरेको छ ।

गहुँ बालीमा सुपर सिडर मेसिनको प्रयोगबाट देवानगन्ज, बर्जु र गढी गाउँपालिकामा प्रदर्शन कार्यक्रम अन्तर्गत गहुँ खेती गरिएको हो । गहुँ छर्न लाइनमा मात्रै खनजोत गर्ने प्रविधिले गर्दा गहुँ खेतीका लागि जमिन तयारी गर्ने खर्चमा ३० प्रतिशत कटौती भएपछि पछिल्लो समय कृषकले सुपर सिडर मेसिन प्रयोग गरी खेती गर्दै आएको सूचना अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।  

गहुँ कृषकले सुपर सिडर मेसिनको प्रयोग गरी गहुँ रोपेर २५ प्रतिशतभन्दा बढी उत्पादन गर्दै आएका छन् । बढी खनजोत गर्दा कार्बन उत्र्सजन हुने हँुदा माटोको उर्वरा शक्ति ह्रास हरँदै जाने तथा वातावरणमा समेत नकारात्मक असर पर्ने र सुपर सिडर मेसिनको प्रयोगबाट सबैलाई फाइदा पुग्ने भएकाले यसको प्रयोग आवश्यक रहेको कृषक केशव राईले बताउनुभयो ।