• १६ भदौ २०८१, आइतबार

रानाथारू भाषा लोप हुने खतरा

blog

अविनाश चौधरी

धनगढी, माघ ७ गते । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा बोलिने रानाथारू भाषा लोप हुने खतरा बढेको छ । भाषा संरक्षणको काम हुन नसक्दा सो समुदायको भाषा लोप हुने खतरा बढेको हो । यी दुई जिल्लामा बसोबास गर्ने रानाथारू जातिलाई २०७६ मा छुट्टै आदिवासी जनजातिका रूपमा सूचीकृत गरिएको थियो । छुट्टै जनजातिका रूपमा सूचीकरणपछि जनसङ्ख्याको हिसाबले अल्पसङ्ख्यामा देखिएको राना समुदायको भाषा पनि साँघुरिँदै जान थालेको छ ।

अल्पसङ्ख्यामा रहेका हरेक जातजातिको भाषा संरक्षणको व्यवस्था संविधानले नै गरे पनि रानाथारूको भाषाको विकास र संरक्षणमा राज्यले चासो नदिएको रानथारू अगुवाको गुनासो छ । पूर्वमन्त्री एवं रानाथारू अगुवा नारदमुनि रानाले राज्यको ध्यान रानाथारू भाषाको संरक्षणमा जान नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले रानाथारू भाषालाई कामकाजी भाषा बनाउनु पर्छ भनेका थियौँ तर भाषा आयोगले बेइमानी ग¥यो । कामकाजी भाषाका रूपमा प्रयोग गर्न अनुमति दिएन । यो दुःख लाग्ने कुरा हो ।”

कुनै पनि भाषालाई कामकाजी भाषा नबनाएमा सो भाषा सम्बन्धित समुदायमा मात्रै सीमित रहने गर्दछ । यस्तो अवस्थामा अङ्ग्रेजी, नेपालीलगायतका भाषाको प्रभावका कारण मातृभाषा बोल्नेको सङ्ख्या घट्दै जान सक्छ । त्यसैले राज्यस्तरबाट नै भाषाको विकास, संरक्षण, उपयोग हुनुपर्ने पूर्वमन्त्री रानाको भनाइ छ । रानाथारू भाषाको विकासका लागि कञ्चनपुरका आठ र कैलालीका चार पालिकाका २९ विद्यालयमा कक्षा १ देखि ३ सम्म रानाथारू भाषाको पाठ्यक्रम लागु गरिएको थियो तर पछिल्लो समय कञ्चनपुरका केही विद्यालयबाहेक अरू विद्यालयमा रानाथारू भाषामा पढाइ हुन सकेको छैन । पाठ्यक्रम विकास केन्द्रले आफैँ रानाथारू भाषाको पाठ्यपुस्तक प्रकाशन गरेर मातृभाषामा पढ्न पाउने व्यवस्था गर्दासम्म रानाथारूमा पठनपाठन राम्रोसँग भएको थियो । अचेल पाठ्यक्रम विकास केन्द्रले मातृभाषाको पुस्तक छपाउने जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिएको छ । स्थानीय तहले मातृभाषाको पाठ्यपुस्तक नछापेकाले रानाथारू भाषामा पढाइ रोकिएको रानाथारू अगुवाको भनाइ छ । 

“रानाथारू व्याकरण निर्माण, भाषा मानकीकरण, पाठ्यपुस्तकलगायत अध्ययनका लागि एउटा विज्ञ टोली बनेको छ । टोलीले काम अगाडि बढाए पनि भाषा मानकीकरणको काम सकिएको छैन,” उहाँले भन्नुभयो । रानाथारू समुदाय छुट्टै जनजातिमा सूचीकृत भएपछि २०७८ सालको जनगणनामा सो समुदायको छुट्टै जातिका रूपमा अलग्गै जनगणना भएको छ । सो जनगणना अनुसार रानाथारूको जनसङ्ख्या ८२ हजार २९९ (३.०५) प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशमा बढी बोलिने १० भाषामध्ये रानाथारू भाषा सातौँ नम्बरमा रहेको छ । यो समुदायका ७७ हजार ७२७ (२.८८ प्रतिशत) ले आफ्नो मातृभाषा बोल्ने गरेको उल्लेख छ । 

रानाथारू अगुवा डा. जीवन राना रानाथारू जनसाङ्ख्यिक रूपमा पछि रहे पनि भााषिक रूपमा अगाडि रहेको बताउनुहुन्छ । उहाँको आफ्नै शोध तथ्याङ्क अनुसार रानाथारूका ९९ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्दछन् । यसै गरी जनगणना तथ्याङ्कले ९६ प्रतिशत रानाथारूले आफ्नो मातृभाषा बोल्ने गरेको देखाएको उहाँले बताउनुभयो ।