• १३ असोज २०८१, आइतबार

डम्फूको आत्मलापमाथि परिचर्चा

blog

गोरखापत्र समाचारदाता

सिन्धुलीमाढी, पुस ६ गते । आख्यानकार भक्त स्याङ्तानको आख्यानकृति डम्फूको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ । समालोचक भीमविक्रम थापाले आख्यानकृति डम्फूको आत्मलापमा कथावस्तु, परिवेश, भाषाका हिसाबले स्थानीयता र कथ्य भाषाको प्रयोग भएको बताउनुभयो ।

उहाँले कृति सामाजिक यथार्थवादी र प्रगतिवादी धारलाई लिएर गुरुप्रसाद मैनालीको कथाशैली पछ्याउएको बताउनुभयो । उहाँले भन्नुभयो, “कृतिमा तामाङ संस्कृति र तिनका जीवनका अनुराग छन् । विद्रोही चेत, जनयुद्धको झल्को र भविष्यको सपना छ । देशभक्ति र वर्गीय द्वन्द्व छ ।”

उहाँले आख्यानमा घटना र चरित्रप्रदान कथा रहेको र मिथकको प्रयोगका साथै ग्रामीण तथा सहरी परिवेश र बालमनोविज्ञान रहेको बताउनुभयो । विश्लेषक विश्वनाथ बरालले भक्तको कथामा समाज, संस्कृति र  इतिहासका घटना नजिक रहेको चर्चा गर्नुभयो । 


उहाँले कथाको प्रस्तुति कवितात्मक हुनुका साथै तामाङ भापा, संस्कृति र सभ्यताको विषयमा जानकारी दिने बताउनुभयो । प्राध्यापन कार्यमा संलग्न नवराज थिङले समकालीन समाजको दर्पणका रूपमा साहित्य रहने चर्चा गर्दै धर्म, संस्कृति, परम्परा र इतिहासका विविध पक्षलाई कथामा समेटिएको बताउनुभयो । राजनीतिज्ञ सुरत स्याङ्तानले कथावस्तु यथार्थ रहेको चर्चा गर्दै राजनीतिक कोणबाट समेत कृतिको चर्चा गरिनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखा सभापति कृष्णहरि घिमिरेले पाठकका हिसाबले आख्यान कृतिमा समाजको चित्रण गज्जब पाइएको बताउनुभयो । जनसेवा पुस्तकालयद्वारा आयोजित कार्यक्रममा कृष्ण गौतम, मधुसूदन दाहाल, टङ्कध्वज थापाले कृतिमाथि चर्चा गर्नुभएको थियो । लेखक भक्त स्याङतानले बाल्यकालका गाउँका भोगाई, परिवेशले लेखनीमा हुटहुटी जगाएको बताउनुभयो ।