• १३ असोज २०८१, आइतबार

प्रकृति र संस्कृति झल्किने चित्रकला

blog

चित्रकला । फाइल तस्बिर

काठमाडौँ, माघ ५ गते । काठमाडौँको प्रकृति र संस्कृति झल्किने चित्रकला प्रदर्शनी सुरु भएको छ । काठमाडौँको आर्ट बिनालेका ८० जना कलाकारले कोरेका प्रकृति, संस्कृति, मानवीय प्रेम, धार्मिक तथा आध्यात्मिक पक्ष, शान्ति, साधनाजस्ता मानव जीवनसँग जोडिएका एक सय वटा सिर्जना प्रदर्शनीमा राखिएको छ ।

काठमाडौँ आर्ट बिनालेका संयोजक जेनिशा महर्जनले पेन्टिङ, धातुका मूर्ति, काठका मूर्ति पनि प्रदर्शन गरिएको जानकारी दिनुभयो । उहाँले मूर्त, अमूर्त चित्रकारिता र धातु कलालगायत विभिन्न विधाका सिर्जना उक्त प्रदर्शनीका विशेषता रहेको उहाँले बताउनुभयो ।

चित्रकला प्रदर्शनीको अवलोकन गर्न पुग्नुभएका काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले प्राकृतिक तथा सामाजिक विविधता र संस्कृतिका कथाहरुलाई एउटै पानामा विस्तृतरुपमा उतार्नसक्ने नेपाली चित्रकारिताको प्रवर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक एवं सांस्कृतिक विविधताले भरिएको देश हो । यहाँका हरेक संस्कृति र समाजका रोचक कथा छन् । तीमध्ये अधिकांश ठाउँका समाज र संस्कृतिलाई एउटै ठाउँमा हेर्न सकिने भएको छ ।”

उपप्रमुख डङ्गोलले चित्रकला प्रदर्शनीले काठमाडौँका पौराणिक एवम् ऐतिहासिक कला, संस्कृतिबारे जानकारी दिने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रकृति, समाज र संस्कृतिको सूक्ष्म र विस्तृत कथा नै नेपाली चित्रकलाको विशेषता हो । यस प्रदर्शनीले हाम्रो पहिचान, कला, संस्कृतिलाई चिनाउन मद्दत गर्नेछ ।” आजदेखि काठमाडौँको ठमेलस्थित काठमाडौँ गेष्ट हाउसमा सुरु भएको सो चित्रकला प्रदर्शनी आगामी वि.सं.२०८१ वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । रासस