• १२ साउन २०८१, शनिबार

गोदावरी धाममा माघी स्नान गर्नेको घुइँचो

blog

गोदावरी कुण्ड मेलामा सजाइएको मुख्य धाम । तस्विर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), माघ १ गते । मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरीधाममा माघी स्नान गर्नेहरूको घुइँचो लागेको छ ।

विगतझैँ यस वर्ष पनि बाह्र राशि दर्शन मकर मेला सुरु भएकाले गए रातिदेखि नै स्नान गर्न श्रद्धालुहरू आउन थालेको गोदावरी धाम समितिले जनाएको छ । स्नान गरेर फर्किनेको भिड भएकाले ठाउँ–ठाउँमा ट्राफिकजाम समेत भइरहेको छ ।

कैलाली कञ्चनपुरका स्थानीयसँगै पहाडी जिल्ला र सीमावर्ती भारतका विभिन्न ठाउँबाट गोदावरीमा भक्तजन आउनेगरेका छन् । साउनमा आएको बाढीले गोदावरी धामका धेरैजसो धार्मिक संरचना तहस-नहस पारेकाले र स्नान गर्ने स्नान कुण्ड सानो हुँदा भक्तजनलाई समस्या भएको छ । यस्तै, गोदावरीको पुरानो मन्दिरमा पनि भक्तजनको भिड लागेको छ । 

गोदावरी धाममा आइतबारदेखि बाह्र राशि दर्शन मकर मेला सुरु भएको छ । १२ दिनसम्म चल्ने मेलाको सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्नुभयो । प्रत्येक वर्ष कुनै एक राशिमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भ मेलाको प्रतीकको रूपमा बाह्र राशि दर्शन मकर मेला आयोजना गरिएको धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । 

धाममा स्थापना गरिएको कुम्भ वाटिकामा बाह्र राशि र नवग्रह, २७ नक्षत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाई दर्शन एवं पूजाको व्यवस्था गरिएको जोशीले बताउनुभयो । गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्र राशि दर्शन मकर मेला गर्ने लक्ष्यअनुरूप महाकुम्भपछि मकर मेला आयोजना गरिएको आयोजकले जनाएको छ । 

गोदावरी धाममा मकर सङ्क्रान्तिको दिन स्नान गर्न जाने आउनेको भीड भएकाले अत्तरियाबाट गोदावरी धामसम्म निःशुल्क बसको व्यवस्था गरिएको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले बताउनुभयो । ठुलो सङ्ख्यामा श्रद्धालु भक्तजन आएकाले आवत-जावतमा सहज पार्न  नगरपालिकाको तर्फबाट ६ वटा निःशुल्क बसको व्यवस्था गरेको उहाँको भनाइ छ ।