• १२ साउन २०८१, शनिबार

समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गरौँ : राष्ट्रपति

blog

माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं, माघ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै सङ्घीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आग्रह गर्नुभएको छ ।

माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा सोमबार आयोजित शुभकामना आदानप्रदानमा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्नुहुँदै समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पाछौँ भन्ने प्रण गर्न आग्रह गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘‘यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ । यो बेजोड अधिकारी दिइएकोमा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ । तर यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन बाँकी छ । जनतामा देखिएको निराशा अरू कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न छिटो कानुन बनाएर जनताको निराशालाई आशामा परिणत गरौँ ।’’

उहाँले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन् । उनीहरूको चाहना अगाडि बढ्ने नै हो । त्यसैले समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाई हामी सबै मिलेर आजको दिनमा प्रण गरौँ ।’’


उहाँले माघी थारु र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनिधित्व गर्ने भएकाले विशेष महत्त्व रहेको बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो । प्रधानमन्त्री भने काठमाडौँ बाहिर जाने कार्यक्रम भएकाले यस अगाडि नै शुभकामना आदानप्रदान गरेर फर्कनु भएको थियो ।