• २३ पुस २०८१, मङ्गलबार

अमरगढीविरुद्ध अख्तियारमा उजुरी

blog

अमरगढी समाचारदाता

डडेलधुरा, माघ १ गते । डडेलधुरा सदरमुकाम अमरगढी नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी बढेका छन् । चालु आर्थिक वर्षमा मात्रै यस नगरपालिकाबाट सञ्चालित योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा ३० वटा उजुरी परेका छन् । अख्तियारमा उजुरी बढ्दै जाँदा कर्मचारीको मनोबल घट्दै जाने अवस्था आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले बताउनुभयो । उहाँले यो प्रवृत्ति ठिक नभएको गुनासो गर्नुभयो । 

चालु आवका तीन महिना अख्तियारमा परेका उजुरीका कागजात मिलानमै बित्यो, उहाँले भन्नुभयो, “अमरगढीका अधिकांश योजनाविरुद्ध अख्तियारमा उजुरी परेका छन् । उजुरीको छानबिन गर्न अख्तियारले ताकिता गरिरहन्छ । काम गर्ने वातावरण नै बन्दैन । अख्तियारलाई कागजात मिलाउनमै समय जान्छ ।” 

कसविरुद्ध कति उजुरी परे भन्नेबारे ठ्याक्कै भन्न सकिने अवस्था नरहेको अख्तियार कञ्चनपुर कार्यालय प्रमुख रमेश केसीले बताउनुभयो । 

महालेखाले गरेको लेखापरीक्षणमा समेत बेरुजु देखाउने गरेको अमरगढीका प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताउनुभयो । “अस्थायी, करारमा नियुक्त गरिएका कर्मचारीको तलब, अनुगमन भत्ता, खरिद गरेका सामग्रीमा समेत आन्तरिक लेखापरीक्षकको टोलीले बेरुजु देखाएपछि सम्झाउन बुझाउन निकै मुस्किल भयो,” उहाँले भन्नुभयो ।