• १६ भदौ २०८१, आइतबार

माघेसंक्रान्तिः देवघाटमा स्नान गर्नेको बिहानैदेखि घुइँचो

blog

वसन्त पराजुली 

नारायणगढ, माघ १ गते । धार्मिक क्षेत्र देवघाटमा माघेसंक्रान्ति स्नान गर्नेको सोमवार बिहानै देखि घुइँचो छ । आइतबार बिहान बेनीमा ओमकार अङ्कित वासको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरी उद्घाटन गरिएसँगै स्नानका लागि खुला भए पनि भक्तजनको घुइँचो सोमवार बिहानबाट मात्रै भएको हो । 

“बिहानै देखि स्नान गर्नेको भिड छ । यो दिनभरि नै रहने छ”, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेलले भन्नुभयो । देवघाटमा स्नान गर्न लाखौँ स्वदेशी तथा  विदेशी भक्तजन अहिले देवघाटमा छन् । 

भक्तजनको ब्यवस्थापनकालागि देवघाटको  झोलुङ्गे पुल ओहोर दोहोर पङ्क्तिबद्ध रूपमा गरिएको छ । विशेष त प्रहरी र स्वयंसेवकले पुलमा भिड नहोस भनेर सतर्कता अपनाइ रहेका छन् । यस्तै नदी वारपार गर्न सशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।

 यसै गरी सवारी साधनकालागि आँपटारी देवघाटको मूल सडकबाट देवघाटबाट बाहिरिने र रामनगर देवघाटको बाटो भित्रने व्यवस्था  छ । दासढुङ्गावाट सिधै जाने हकमा सवारी साधन देवघाटको महेश सन्यास आश्रम सम्म आवतजावत गर्न सकिने व्यवस्था मिलाइएको छ ।  


रातमा आउने भक्तजनकालागि धुनीको व्यवस्था मिलाइएको थियो भने त्यो अहिले बिहान सम्म पनि जारी छ । 

शान्ति सुरक्षा र यातायात ब्यवस्थाकालागि चितवन, तनहुँ र नवलपरासीबाट प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टङ्कनाथ पौडेलले देवघाटमा स्नान गर्न आउने भक्तजनकालागि सहज हुने गरि बेनीमा स्थानको व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । 

यस अघि आइतबार गलेश्वर आश्रममा जम्मा भएका भक्तजनहरू बाजागाजा सहित बेनीमा पुगेर लिङ्गो गाडेर देवघाट मेलाको उद्घाटन गरिएको थियो । गलेश्वर आश्रमका पिठाधिस स्वामी आत्मानन्द गिरी, हरिहर  आश्रममा पिठाधिश स्वामी ज्ञाननन्द सरस्वती र महेश सन्यास आश्रमका पिठाधिस रमणनन्द गिरीले संयुक्त रूपमा बासको लिङ्गो गाडेर मेलाको उद्घाटन गर्नुभएको हो । 

गलेश्वर आश्रमका पिठाधिस स्वामी आत्मानन्द गिरीले बाँसको लिङ्गोको पूजा गरेर कुनै पनि अनुष्ठानको उद्घाटन गर्नु परम्परागत र मौलिक विधि भएको बताउनुभयो । 

उहाँले धार्मिक क्षेत्र देवघाटको मौलिक र सांस्कृतिक पहिचानमा जोड दिँदै यसको प्रचार प्रसार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।   

“माघेसंक्रान्तिसँग देवघाटको धार्मिक एवं सांस्कृतिक महत्वको संम्वन्ध जोडिएको छ”, स्वामी आत्मानन्दले भन्नुभयो, “दामोदर कुण्ड स्रोत भएर बहँदै आएको त्रिशूली र मुक्तिनाथ हुँदै आएकी कालिगण्डकी नदीको सङ्गम देवघाटको बेनी धार्मिक रूपमा पनि महत्त्वपूर्ण छ ।”

हरिहर आश्रमका पिठाधिस स्वामी ज्ञाननन्द सरस्वतीले सूर्य मक्कर राशिमा  भई उत्तरायण हुने माघे सङ्क्रान्तिका दिन  देवघाटमा आएर बेनीमा स्नान गरे मनोकाङ्क्षा  पुरा हुने बताउनुभयो । 

“देवघाट महत्त्वपूर्ण तीर्थ स्थल हो ।  यहाँ माघेसंक्रान्तिमा स्नान गरे मोक्ष पाइन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो । 

धार्मिक मान्यता अनुसार माघेसंक्रान्तिका रात देवताहरू  देवघाट स्नान गर्न आउने जनविश्वासले नै यो दिन स्नान गर्न आउनेको सख्या उल्लेखनीय हुने गरेको हो । 

यसै बिच माघेसक्रान्तिकै दिन महेश सन्यास आश्रममा मक्कर काव्य यामिनी सम्पन्न भयो । आइतबार मध्यरात सम्म आयोजना भएको सो कार्यक्रममा राष्ट्रिय तथा देवघाटका ५० भन्दा बढी कवि तथा कवियत्रीहरुले कविता वाचन गर्नुभएको थियो ।