बर्दिया जिल्लाको ठुलो तालमध्येको एक ताल हो बढैयाताल । यसको क्षेत्रफल १०९ बिघा चार कट्ठा १७.५ धुर रहेको छ । समुद्र सतहदेखि १४६ मिटर उचाइमा रहेको यो तालको गहिराइ तीनदेखि सात फिटसम्म रहेको छ ।
स्थानीयवासीका अनुसार पहिला यस क्षेत्रमा बाह्रै महिना पानीको स्रोत भएको यो मात्र एक ताल थियो । यस क्षेत्रमा त्यस बेला एउटा बाठे महतो थारू नामको ठुलो जमिनदार हुनुहुन्थ्यो । त्यसबेला धेरै चरन भएकाले स्थानीयवासी गाई, भैँसी, भेडा, बाख्राहरू पाल्थे तर यी घर पालुवा जनावरलाई पानी खुवाउने स्रोत भने यो ताल मात्र भएकाले त्यो बाठे महतो थारूले एउटा ठुलो ताल खनाउनुभएको थियो । जुन तालमा घरपालुवा जनावरले पानी खाने गर्थे । हाल यस तालको नजिक धेरै बस्ती भइसकेकाले अहिले यसको नाम बढैयाताल रहन गएको हो । बढैयातालको पानी पूर्वतिर बगेर जाने भएकोले बाठे महतो थारूले तालको पानी रोक्न बर्सेनि बाँध बाँध्न लगाउनु हुन्थ्यो । साथै यसलाई अझै पनि बन्ठवा बाँध भनेर भनिन्छ । त्यस्तै धेरै समयपश्चात् तत्कालीन मोतीपुर गाउँ विकास समिति वडा नं ९ को मोतीपुर गाउँका हरिहर शर्मा भन्ने जमिनदारले करिब चार बिघाको ताल खनाउनुभयो । यस्तै तत्कालीन मैनापोखर गाउँ विकास समिति वडा नं. १ का मैनापोखर चौधरीले करिब चार बिघाको ताल खनाएर जुन यी दुई ताल अझै पनि विद्यमान रहेका छन् ।
स्थानीयवासीका अनुसार पुर्खा तथा पूर्वजहरूको भनाइ अनुसार पुस्तौँदेखि नै यो ताल यस ठाउँमा अवस्थित छ । यो ताल अहिलेको भन्दा धेरै नै ठुलो क्षेत्रफलको ताल रहेको थियो । स्थानीयवासी मेहिलाल बखत्ता थारूका अनुसार २०२० सालसम्म यो ताल लगभग तीन सय बिघा क्षेत्रफल ओगटेको थियो । विसं २०२४ मा लघु सिँचाइ योजनाले यो ताललाई व्यवस्थित तरिकाले बाँध लगाई पक्की गेट निर्माण गरी तालको पानी सिँचाइका लागि सञ्चित गर्ने गरी बनाइयो । यसरी लघु सिँचाइले बनाइसकेपछि यो पुरानो तालले फेरि नयाँ रूप लिएको थियो । विसं २०४२ मा तत्कालीन जिल्ला पञ्चायतले यो ताललाई माछा पालनका लागि ठेक्कामा दियो । तत्पश्चात् यस तालमा रहेका जैविक विविधताहरू लोप हुन थाल्यो । द्वन्द्वकालमा यहाँको माछा पालन ठेक्कालाई हटाइयो । त्यसै बेलादेखि गैरसरकारी संस्था युनिक नेपालले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यव्रmम विश्व वातावरण कोषको साथै अनुदान कार्यव्रmमबाट दुई वर्षसम्म तालमा काम गरेको थियो ।
यस तालको विभिन्न ठाउँमा १.५ मिटर चौडाइ र १.५ मिटर उचाइको बाँधसमेत लगाइएको छ । यस तालको जिल्ला नापी शाखाबाट दुई वर्ष लगाएर २०६५ असार २१ गते नापीको काम सम्पन्न गरी सिमाङ्कन अनुसार १०९ बिघा चार कट्ठा १७.५ धुर तालको क्षेत्रफल निर्धारण गरियो । यो ताल बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २० किलोमिटर टाढा पर्छ भने काठमाडौँबाट ५४५.१ किलोमिटर टाढा पर्छ । यो ताल पूर्व र पश्चिम लाम्चो आकारको बनेको छ । तालको पूर्वमा सोरहवा–१, फूलबारी गाउँ, पश्चिममा सोरहवा–२, जगातिया र जगतपुर, दक्षिणको किनारमा मैनापोखर–३ को बह्रैया गाउँ पर्छ । उत्तरतर्फ सोरहवा–३ बुटाहा गाउँ र सिक्टिरिहार गाउँ पर्छ । तालको सूचना केन्द्रको पूर्व र तालको दक्षिण ढिकमा बह्रैया गाउँको प्रमुख मन्दिर देउठन्चा रहेको छ ।
यस बढैयातालको उत्पत्तिको बारेमा मेहिलाल बखत्ता थारूका अनुसार केही पुर्खाको भनाइ अनुसार कुनै समयमा राप्ती नदी र बबई नदी मित लगाउने भनी सल्लाह अनुसार मित लगाउने मिति तय भयो । एकाबिहानै भाले बास्नुअघि मित लगाइसक्ने भनेर कुरा भएछ । सोही वाचा अनुसार पूर्वबाट राप्ती नदी र पश्चिमबाट बबई नदी एक अर्कालाई भेट्न निस्किए । कैयाँै दिनपछि जाने व्रmममा दुवै एक अर्कालाई भेटन नपाउँदै भाले बास्यो । बिचमा बर्दियाको कुम्हर जङ्गल हालको कपास फारामको पारि बबई नदी र वारि राप्ती नदीको वाचा अनुसार दुवै भेट नगरी आआफ्नो दिशातर्फ फर्के । यसरी फर्किंदा नदीको घुमाउरो वेगले यस ठाउँमा खाल्डो पर्न गयो । जुन खाल्डो नै हालको बढैयाताल हो भन्ने पूर्वजहरूको भनाइ छ ।
अर्काे किंवदन्ती अनुसार यस क्षेत्रमा चण्डी देवीको आश्रय स्थल थियो । देवीले देवताहरूलाई यस क्षेत्रमा बर्सेनि गर्मी बढ्दै गइरहेको र यहाँका जीवजन्तु आदि पानी खान पाऊन् र देवीले नुहाउन र जलविहार गर्न पाऊँ भनी एक ताल खन्न अनुरोध गरिन । देवीको अनुरोध अनुसार सबै देवता मन्जुर भएर ताल खन्न सुरु गरियो । चण्डी देवी नुहाउने ताल भएको हुनाले सो ताल सफा, पवित्र राख्न लगाउन सबै देवतालाई निर्देशन दिइयो । देवीको निर्देशन अनुसार देवताहरूले यो तालमा मरेको सिनो जलाउन वा गाड्न, मलामी गएका मान्छे नुहाउन, कपडा धुनलगायत फोहोर र अपवित्र कार्य गर्न वर्जित गरियो । साथै यो तालको रक्षा गर्न र यसलाई सुन्दर बनाउनका लागि एकजोडी नाग नागिनीलाई बोलाई जिम्मा दिइयो । नाग नागिनीलाई स्थानीयवासीले लगवा लगुन्या भन्दछन् । जिम्मेवारीपश्चात् नाग नागिनीले यस ताललाई हराभरा सुन्दर बनाउन पुरैनाको फूल अर्थात् कमलको फूललगायत कटकुइया फूल, तेजुनिया फूल र अनेक प्रकारका वनस्पति उब्जाए । जुन आज पनि यस तालमा देख्न सकिन्छ । धेरै किसिमका माछा, विभिन्न किसिममा चराचुरुङ्गीलाई बास बस्न लगाए । यस प्रकारले ताल निकै नै सुन्दर देखियो । अझै पनि तालमा फोहोर गर्नेलाई र अटेर गरेर नमान्नेलाई नाग नागिनीले अनिष्ट गर्छन् भन्ने जनविश्वास यथावत् छ । आदिवासी थारूहरू यस तालबाट कुनै पनि स्रोतको उपभोग गर्नुअघि देउठन्चा देवीमा फूल चढाइ अनुमति लिने परम्परा रहेको छ ।
यस तालको नामकरणबारे मैनापोखर–८ का बाबुचन्द चौधरीका अनुसार यो तालको वरिपरि ठुलो बाढी आउने गर्दथ्यो, जुन थारू भाषामा बाढी आउने क्षेत्रलाई बाढ आइना ठाउँ भन्ने गरिन्छ । यही बाढ आइनाभन्दा भन्दै पछि गएर बढैयाताल हुन गएको भनाइसमेत रहेको छ । स्थानीय पल्टु तौलाका अनुसार गोपाल वंशीहरूले दक्षिणतिर वरिपरिको जङ्गलबाट बढैयातालमा गोरुलाई पानी खुवाउन ल्याउने गर्दथे । थारू भाषामा गोरुलाई बर्दा भनिन्छ । बर्दा पानी खाने ताल भएकाले यस तालको नाम बर्दबाट बढैयातालको नामबाट परिचित भयो ।
यस स्थलमा सबैभन्दा पहिले घर बनाएर बस्ने बाबा खडक छेन थारू हुन् । यहाँ बसेपछि उहाँलाई एक रात देवी चण्डीले सपनामा भन्नुभएछ । मैले यो ताल सबै देवतालाई बोलाएर खनाएको हँु । यस तालको रखबारीका लागि एक जोडी नाग नागिनीलाई राखेको छु । मैले यो ताललाई निकै नै सजाएको छु । तसर्थ यस तालमा कुनै पनि किसिमको फोहोर गर्न नदिनू भनेर बाबालाई भन्नुभएको थियो रे । यस्तो कार्य कसैले यो तालमा गरेमा त्यसलाई अनिष्ट हुने छ भनी देवीको थान नजिकै एउटा निमको बिरुवा पनि रोप्नुभएको थियो । निम र ल्वाङ देवीलाई प्रत्येक पूजामा चढाइन्छ । प्रत्येक पूजामा कुखुरा, बोका जे चढाए पनि निमको पात र ल्वाङ पनि चढाइन्छ । यद्यपि त्यो पुरानो निमको रुख अझै पनि देख्न सकिन्छ ।
देवीले सपनामा साक्षात् आफैँ आई बाबा खडक छेनलाई भन्नुभएको थियो रे । देवीले भने अनुसार बाबाले चण्डी देवीको सानो झुपडी बनाई सबै नियम पालन गरी पूजा गर्न थाल्नुभयो । बाबाको घर त्यहीँ थियो । जहाँ आजसम्म देवीको मन्दिर रहेको छ । तिनै बाबा खडक छेन थारूले देवीको सानो मन्दिर बनाई पूजा गरेको स्थानमा स्थानीय थारू समुदायले देवीको पूजा गर्दै आएका छन् ।
यहाँ वर्षको तीन पटक पूजा गरिन्छ १. धुरिया पूजा २. हरेरी पूजा ३. लवाङ्गी पूजा । धुरिया पूजा भन्नाले वर्षभरि धुलो, माटो, हिलोमा थारू समुदाय खेतीबारी अन्न भिœयाइएको पूजा हो । हरेरी पूजा भनेको धान, मकै, अरहर तथा सबै बाली हरियो रहोस्, रोग किरा नलागोस् भनी भदौ, असोजमा गरिने पूजा हो । लवाङ्गी पूजा भनेको वर्षे बाली सबै तयार हुन लागेपछि नयाँ अन्नको गरिने पूजा कात्तिक, मङ्सिरमा कुनै एक दिन गाउँमा सल्लाह गरेर गुरुबा अर्थात् झाँक्री बोलाई देवीको स्थानमा ढाक बनाई गाउँभरिका किसान प्रत्येक घरको एक जना रातभरि जाग्राम बसी देवीको गुण गान गाएर बिहान बोका, बङ्गुरको पाठा, र कुखुराको बलि चढाई पूजा गरिन्छ ।
विजया दशमीको महानवमी पर्वमा यहाँ गाउँभरिका महिला, पुरुष नाचगान गरी रमाइलोका साथ पित्तर असराउने काम गरिन्छ । पित्तर असराए भनेको पितृ देवतालाई पानीमा सेलाउनु । तालबाट निकालेको कुलोको पानीमा सेलाइन्छ । गाउँमा कसैको पनि छोरा, छोरी, भाइ, बहिनीहरूको विवाह छ भने विवाह हुनअघि देवीको थानमा गई भाकल गर्दछन् र देवीको स्थानमा एउटा माटोको डल्ला राख्ने गर्दछन् । विवाह सम्पन्न वा शुभकार्य भएपछि रक्सी लिएर देवीको स्थानमा गएर कुखुरा बली चढाई पूजा गरी राखेको माटोको डल्ला फालिन्छ । माटोको डल्ला फाल्नुको मतलब देवीले भाकल गरेको नबिर्सनु भनी डल्ला राख्ने चलन रहेको छ । यस तालमा स्थानीय जातका ४२ किसिमका माछा र वरिपरि पाइने स्थानीय तथा प्रवासी चराहरू ८८ प्रकारका छन् । चार प्रकारका भ्यागुता, पाँच प्रकारका सर्प, एक प्रकारका कछुवा र २१ प्रकारका वनस्पति पाइन्छन् । प्राकृतिक सम्पदाले भरिपूर्ण यो ताल निकै नै सुन्दर रहेको छ । आन्तरिक पर्यटक र बाह्य पर्यटकका लागि यो ताल निकै नै आकर्षक रहेको छ ।