जसरी जनकपुर त्रेताकालिन मिथकको रुपमा राजा जनक, भगवान राम र माता जानकी (सीता)सँग जोडिएको छ । त्यस्तै त्रेताकालिन एउटा मिथक बनेको छ महोत्तरी जिल्लाको मटिहानी । त्रेताकालमा माता जानकीको विवाहोत्सवको लागि मटिहानीमै रहेको लक्ष्मीसागर सर (पोखरी)बाट माटो खनिएको किम्बदन्ती छ ।
त्रेता युगमा मर्यादा पुरुषोत्तम रामचन्द्र एवं जगतजननी माता जानकीको पाणिग्रहणको शुभ बेलामा मैथिली विवाह रीतिअनुसार यज्ञवेदी निर्माणका लागि यसै पावन स्थलबाट माटो उत्खनन गरी लगिएको हुनाले यसको नामकरण ‘मृतखन्नी’ भयो र त्यही ‘मृतखन्नी’ नै कालान्तरमा अपभ्रंश भई ‘मतिहानी’ हुँदै ‘मटिहानी’ हुन पुगेको भनिन्छ । उक्त सन्दर्भ द्वापर युगीन महर्षि पराशरद्वारा रचित ‘वृहत् विष्णुपुराण’को ‘मिथिला महात्म्य’ मा उल्लेख गरिएको छ ।
संगम नदीको माटो, राजदुवार (गढी), हात्तीसार, तबेला (घोडासार), गौशाला (गाई गोठ), लक्ष्मीसागर (सरोबर), धमिराको माटो मिथिला क्षेत्रमा प्रचलित छ । त्यसैले रामसीता विवाहमा वेदी निर्माणका लागि ऋषिमुनीले मटिहानीको माटो रोजेका थिए । त्रेताकालमा सीताको विवाहमा माटो खनेर ल्याउने एउटा विधि मटिहानीमा भएको थियो । मटिहानीलाई एउटा कुण्डका रूपमा पनि लिइने गरिएको जनविश्वास छ । हुन त, जनकपुरधाममा हुने मटकोरलगायतका परम्परा ऐतिहासिक गङ्गासागरमा गरिँदै आएको छ । तर, विवाह, पूजाअर्चना, शिलान्यास, गृहप्रवेश गर्दा १० गाउँका गाउँलेलाई मटिहानीको माटो नभई नहुने मान्यता छ ।
यसरी त्रेताकालिन मिथकीय बोकेको मटिहानीको ६०० वर्षको इतिहास भने लिखित पाइन्छ । जुन आधुनिक मटिहानी सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको अनुपम उदाहरणको रुपमा अगाडि बढदै गएको छ । जसको साक्ष्य रुपमा पिरबाबाको मजार, तस्मैया बाबाको खन्ती र ओछयान, नेपालकै ठुलो मठ र मानमहन्थ, नेपालकै पहिलो विद्यालय, लक्ष्मीसागर सर, लक्ष्मीनारायण मन्दिरको रुपमा रहेको छ । मटिहानीलाई आधुनिक रुपमा हेर्दा महान तपस्वी पिरबाबा र तस्मैयाबाबा (रामदास)को साधनाभूमि र उहाँकै प्रेरणाबाट अगाडि बढेको रुपमा लिन सकिन्छ ।
करिब ६०० वर्षअघि घना जङ्गल भएको मटिहानी क्षेत्रमा भारतको अजमेर सरिफबाट एक जना तपस्वी मटिहानी आइपुग्नुभएको थियो । उहाँले मटिहानीको मध्यभागमा आफ्नो स्थान निर्माण गरेर तपस्यामा बस्नुभएको थियो । त्यसैबेला दक्षिणाबाटै आएका खीर मात्रै खाने (खीरलाई संस्कृतमा तस्मै भनिन्छ) तस्मैया बाबालाई उहाँले देखाइदिएको बाटोमा हिँडेपछि मटिहानी तथा मटिहानी मठको जन्म भएको हो र यहीबाट नै मटिहानीमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुताको बिजारोपण भएको मानिन्छ ।
स्थानीयवासीको किम्बदन्ती अनुसार ‘पिरबाबाले तस्मैया बाबालाई भनेका थिए यहाँबाट जानुहोस् र जहाँ मुसा बिरालोबिच झगडा भइरहेको हुन्छ र जित मुसाको हुन्छ त्यो ठाउँमा तपस्या थाल्नु ।’ ठुलोले सानोलाई हेप्ने, मार्ने, लडाईमा हराउने प्रचलित मान्यता छ तर यहाँ मुसोले बिरालोलाई हराई दिएको आश्चर्यचकित घटना तस्मैया बाबाले फेला पारेको मानिन्छ जुन ठाउँमा नै अहिले मटिहानी मठ छ । मठको एउटा कोठामा अद्यापी मुसाले बिरालोलाई जितेपछि तस्मैया बाबाले सो ठाउँमा गाडनु भएको खन्ती अझै सुरक्षित राखिएको छ । जहाँ प्रत्येक साँझ ओछयान सफासुग्घर गरी मिलाइने तथा उक्त ओछ्यानमा बिहान गएर हेर्दा राति कोही सुतेको जस्तो देखिन्छ ।
पिरबाबाको मजार मुस्लिम धर्मावलम्बीको पूज्यस्थल रहे पनि त्यसको संरक्षण र संवद्र्धन हिन्दु र मुस्लिम दुवैले मिलेर गरिरहेका छन् । स्थानीयवासीका अनुसार मटिहानीमा कुनै शुभ कार्य गर्दा वा धार्मिक कार्यगर्दा पिरबाबाको मजारमा समेत सलामी दिने गरिएको छ । साथै गाउँमा कसैको विवाह, व्रतबन्ध हुँदा पनि मैथिली परम्पराअनुसार महिलाले गाउने गीतमा पहिलो स्तुति पिरबाबाकै सम्बोधनले गर्ने गरिएको छ । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीमा हिन्दु र मुस्लिम समुदाय जोड्ने सेतुको काम पिरबाबाको मजारले गरेको बताउनुहुन्छ ।
राम र सीताका परमभक्त तस्मैयाबाबाको बारेमा धेरै रहस्यमय कुराहरु बुढापाकाहरुले सुनाएका छन् । तस्मैयाबाबा एउटा पत्थरको डुङ्गामा सवार भई लक्ष्मीसागर पोखरीको ओहोरदोहोर र सयर गर्नुहुन्थ्यो । केही वर्षसम्म त्यो डुङ्गाको अवशेष पिरबाबाको मजारसँगै रहेको देखिएको थियो । पुरातात्विक महत्वको यो डुङ्गाबारे खोजनीति हुन जरुरी छ । यो डुङ्गाको अवशेष अहिले पनि सो क्षेत्रमा खोतल्ने हो भने पत्ता लगाउन सकिने स्थानीयवासीको भनाई छ ।
तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायणको दरबारलाई एक हजार तीन सय विघा जग्गा दान गर्नुभएको थियो । तीमध्ये झन्डै चार सय विघा जग्गा गुठी संस्थानले बिक्री गरिसकेको छ भने ३८४ विघा अझै बाँकी रहेको र अन्य अतिक्रमणमा परेको छ ।
त्यसैगरी तस्मैया बाबाको बारेमा अर्को रहस्यमय कुरा पनि छ । एकपल्ट मटिहानी पुगेका मकवानपुरका सेनवंशी राजा हेमकर्ण र उहाँका सेनालाई भोजन गराउने जिम्मेबारी तस्मैया बाबामाथि थियो । उहाँ सधै झै आफ्नो लागि बनाउनु हुने माटोको भाडामा सो दिन पनि चामल र दुधको खिर (तस्मै) बनाउनुभएको थियो तर सोही भाँडोमा बनाइएको खिरले राजा र सबै सैन्यबललाई पुगेकोमा सबैजना आश्चर्यचकित भएका थिए । यीसँगै अन्य धेरै कथा र पुरातात्विक महत्वका विषय पाइने सम्भावना रहेकोले यसको अध्ययन, अनुसन्धान हुन जरुरी छ ।
जाऔं मटिहानी
स्थानीय सरकारको आगमनसँगै रामायणकालीन जनश्रुतिका कैयौँ कुरासँग जोडिएको मटिहानीमा धमाधम धार्मिक र सांस्कृतिक महत्वका कामले गति लिएको छ । जसले गर्दा यसक्षेत्रमा पर्यटकहरुलाई मटिहानी भित्र्याउन सहज बनेको छ । यहाँको नारा नै बनेको छ ‘जाऔं मटिहानी’ ।
मटिहानीमा त्रेताकालिन धरोहर लक्ष्मीसागर मात्रै नभई लक्ष्मीनारायण मन्दिर, वैष्णव सम्प्रदायको महत्वपूर्ण तथा सबभन्दा ठुलो मठ लक्ष्मीनारायण मठ तथा मानमहन्थ, नेपालकै सबभन्दा पुरानो विद्यालय, सात प्रकारको माटोको संगमस्थल अर्थात् सप्तमृतिका समेत यहाँ छ । त्यसबाहेक हिन्दु र मुस्लिम धर्माबलम्बीहरुको आस्थाको केन्द्र पिरबाबा मजार, विभिन्न जातजातिको आस्थाका कुलदेवताहरुको मन्दिर समेत अवस्थित छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरबाट छ किमी पूर्वमा रहेको मटिहानीमा तस्मैया बाबाको खन्ती र ओछयान तथा संस्कृत शिक्षाको विद्यालय र विद्यापीठ हेर्न समेत पर्यटकहरुको आगमन हुने गरेको छ । स्थानीय सरकारले आफ्नो गाउँठाउँमा रहेको प्रसिद्धस्थलमा थालेको कामकाज तथा प्रचारप्रसारले महोत्तरीमा आउने पाहुनाहरुलाई ‘जाऔं मटिहानी’ नाराले आकर्षित गरेको छ । हरेक पाहुनालाई नगरप्रमुख मण्डल तथा नगरपालिकाले लक्ष्मीनारायण मन्दिरमा पूजापाठ तथा लक्ष्मीनारायण सागरमा आरती, मठ तथा नेपालको सबभन्दा पुरानो गुरुकुलको अवलोकन भ्रमणका साथसाथै स्थानीय उत्पादन मखानसँगै विदाई गर्ने गरेको छ । जसले मटिहानीको प्रसिद्धी थप बढेको छ भने पाहुनाहरुको आगमनमा दिनानुदिन वृद्धि भएको छ ।
महोत्तरीको दक्षिणवर्ती क्षेत्रमा जलेश्वरनाथले धार्मिक नगरीको पगरी लिए पनि पर्यटकीय क्षेत्रको अभाव खेप्दै आएको छ । जसको अभाव अहिले मटिहानीले पूरा गरिरहेको छ ।
नेपालकै पहिलो विद्यालय
मटिहानीको इतिहास ऐतिहासिक, पौराणिक, धार्मिक मात्रै नभई शैक्षिक रुपमा समेत उदाहरणीय रहेको छ । शैक्षिक रुपमा यहाँ नेपालकै पहिलो विद्यालयको रुपमा रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय रहेको छ । गुरुकुलीय परम्परामा रहँदै आएको यो विद्यालयलाई तस्मैयाबाबाका शिष्य जयकृष्ण दासले स्थापना गरेको भनिन्छ । संस्कृतका महावैयाकरण जयकृष्ण दासले गुरुको आदेशानुसार वि.सं.१७७५ मा संस्कृत पाठशालाको स्थापना गर्नुभएको थियो । गुरुकुल परम्परामा स्थापित सो विद्यालयको शुरुवातदेखि नै पाणिनी व्याकरणको अध्ययन अध्यापन गराइएको पाइन्छ । जयकृष्ण दासपछि उहाँका शिष्य बनमाली दासले पनि शिक्षाप्रति तदारुकता देखाई विद्यालयलाई अगाडि बढाउनुभयो । वनमालीका शिष्य रामरक्षा दास महन्थ भएपछि गुरुकुलमा व्याकरण विषयका साथै वेदको पनि अध्ययन–अध्यापन प्रारम्भ गर्नुभयो । वनमालीको समयमा महाविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये १०८ जनालाई भोजनको व्यवस्था गरियो । विसं. १८०१ मा मकवानपुरका राजा हेमकर्ण सेनले मटिहानीमा लक्ष्मीनारायण मठको स्थापनासँगै प्रशस्त जग्गा उपलब्ध गराएपछि विद्यालयले पनि फल्नेफुल्ने अवसर पाएको थियो । गुरुकुलीय शिक्षामा विस्तारै विस्तारै आधुनिक विषयहरु जोडदै शिक्षालाई आधुनिकतासँगै जोडियो । विद्यालयमा ज्योतिष, न्याय, व्याकरण, वेद, साहित्यसहित अङ्ग्रेजी समेत पठनपाठन थालिएको विद्यालयका प्राचार्य ईश्वरीप्रसाद पौडेल बताउनु हुन्छ ।
विगतमा ब्राह्मण वटुकमात्र पठनपाठन गर्न पाउने विद्यालयमा अहिले सबै जातजाति, धर्म परम्पराका छात्रछात्रा छन् । विद्यालयमा हिन्दू परम्पराका विभिन्न जातजातिका मात्र नभई इस्लाम धर्म परम्पराका विद्यार्थी पनि छन् । अहिले ब्राह्मण, क्षेत्री, जनजाति (केवट, धानुक) दलित (परियार, खत्बे, चमार) जातिका हिन्दू परम्पराका मात्र नभई इस्लाम धर्म परम्पराकासमेत विद्यार्थी अध्ययन गरिरहेका विद्यालयले जनाएको छ । कुल १५० विद्यार्थीमध्ये ६५ जना छात्रावासमा छन् । मुलुकको राजगुठीबाट विद्यालय छात्रावासमा रहने विद्यार्थीले भोजनवृत्ति पाउँदै आएका छन् । स्थानीय व्यवस्थापन मटिहानीस्थित लक्ष्मीनारायण मठले गर्दै आएको छ । मुलुकको माध्यमिक तहको पाठ्यक्रमअनुसार अनिवार्य सबै विषय अन्य विद्यालयजस्तै यहाँ पनि पढ्नुपर्ने हुन्छ । यसअतिरिक्त अनिवार्य संस्कृत (भाषा, साहित्य) र ऐच्छिक प्रथम र द्वितीय गरी वेद, ज्योतिष, साहित्य, व्याकरण, न्यायशास्त्र र कर्मकाण्ड विषय छन् । प्रथम ऐच्छिकमा कर्मकाण्डको विकल्पमा साधारण विद्यालयको जस्तै इच्छाधीन गणित र शिक्षा रोज्न पाउने व्यवस्था छ । द्वितीय ऐच्छिकमा भने वेद, ज्योतिष, साहित्य, व्याकरण र न्यायशास्त्रमध्ये एक विषय पढ्नुपर्ने नियम छ । द्वितीय ऐच्छिकका सबै विषय संस्कृत माध्यमका छन् । छात्राबासमा बस्ने वटुक (छात्र)ले दैनिक बिहान ‘रुद्राभिषेक’ पाठ गर्ने नियम छ । यो अखण्ड रुद्राभिषेक महर्षि फाउन्डेसनको सहयोगमा चार वर्ष अघिबाट प्रारम्भ गरिएको हो । फाउन्डेसनले विद्यालयलाई एक ध्यानगुरुको दरबन्दी दिएको छ । छात्रावासमा बस्ने विद्यार्थीले सधैं अनिवार्य बिहानी योग, ध्यान र रुद्राभिषेकमा सरिक हुनुपर्छ । सधैं सन्ध्या आरती हुन्छ । नियमित रुद्राभिषेक पाठले विद्यार्थीको वाचन शुद्ध भएर देवकार्य, पितृकार्य नियमसंगत हुने प्राचार्य पौडेल बताउनुहुन्छ । विद्यालय परिसरसँगै जोडिएको पौराणिक लक्ष्मीसागर (तलाउ)मा प्रत्येक बिहीबार हुने लक्ष्मीनारायण आरती छात्रावासका वटुकले नै गर्ने गरेका छन् ।
त्यसैगरी, २०२८ सालमा नेपालमा नयाँ शिक्षा योजना लागू भएपछि हरेक अञ्चलमा एउटा संस्कृत क्याम्पस हुनुपर्ने प्रावधान अनुसार तत्कालिन मानमहन्थ कौशलकिशोर दासले मटिहानीमा लक्ष्मीनारायण विद्यापीठको स्थापना गराउनुभयो । अहिले याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको रुपमा रहेको सो विद्यापीठमा स्नातकोत्तरसम्म अर्थात् आचार्यसम्मको अध्ययन अध्यापन हँदै आएको छ । नेपाल संस्कृत क्याम्पसको आङ्गिक क्याम्पसको रुपमा रहेको सो विद्यापिठमा नेपालका विभिन्न ठाउँका विद्यार्थी लाभ लिइरहेका छन् । प्राच्य विधाका वेद, व्याकरण, न्याय, ज्योतिष र साहित्य विषय ‘क’ वर्गीय (मूल) विषयका रूपमा र आधुनिक विधाका नेपाली, अङ्ग्रेजी, मैथिली, हिन्दी, राजनीतिशास्त्र, अर्थशास्त्र, गणित ‘ख’ वर्गीय (सहायक) विषयका रूपमा अध्ययन गराइन्छ ।
वैष्णव मठ र मानमहन्थ
त्यस्तै यहाँ अवस्थित नेपालकै प्रमुख वैष्णव मठ रहेको छ । जसलाई मठहरुको पनि मठ भनेर चिनिन्छ । मठ भित्र लक्ष्मीनारायण मन्दिर पनि छ । मठको नेपाल र भारतमा आफ्नै गरिमा र महिमा छ । सम्वत् १७५१ तिर यस मठको स्थापना तपस्वी तस्मैया बाबाले गर्नुभएको थियो । यो मठका महन्थलाई मानमहन्थ भनिन्छ । जनकपुरको जानकी मन्दिर, राम मन्दिर, रत्नसागर मठ, बसहिया मठलगायतका धार्मिक मठहरुमा महन्थको पगरी दिने अधिकार यसै मठका महन्थलाई छ । मठहरुको प्रमुखको रुपमा महन्थ रहेको हुन्छ र महन्थहरुको जिम्मेवारी तथा अधिकार दिने कार्यलाई पगरी दिने भनिन्छ । त्यसैले त्यहाँको महन्थलाई ‘मान महन्थ’ भनिएको हो । मान महन्थले आफ्नै हातबाट पगरी लगाइदिएपछि मात्र धनुषा र महोत्तरीका अन्य मठ मन्दिरका महन्थले वैधता पाउने विधान छ ।
रामानन्दीय सम्प्रदायका मुख्य तीर्थस्थलको रुपमा समेत चिनिने यो मठका महन्थलाई तत्कालिन समयमा राजाको गुरुको रुपमा लिने चलन थियो । तर मटिहानीमा राजाको सवारी हुँदा महन्थ र राजाको आमनेसामने भेट नहुने परम्परा थियो । राजाले अरुको खुट्टामा ढोग्न नहुने र महन्थले चेलाको रुपमा रहेको राजालाई कसरी ढोग्ने ? त्यसैले राजाको सवारी हुँदा भेट नहुने गरेको बुढापाकाहरुको भनाई छ । मठमा लक्ष्मीनारायणको विशाल मन्दिर र दरबार निर्माण भएको छ । तस्मैयाबाबाले लक्ष्मी सरमा नुहाइरहँदा लक्ष्मीनारायणको मूर्ति फेला परेपछि त्यसलाई विधिपूर्वक पूजापाठ गरी तस्मैसहित भोग लगाइएको थियो । जनकपुरको जानकी मन्दिर निर्माण हुनुभन्दा दुई वर्ष पुरानो लक्ष्मीनारायण दरबार १५ विघा क्षेत्रफलमा फैलिएको छ । तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायणको दरबारलाई एक हजार तीन सय विघा जग्गा दान गर्नुभएको थियो । तीमध्ये झन्डै चार सय विघा जग्गा गुठी संस्थानले बिक्री गरिसकेको छ भने ३८४ विघा अझै बाँकी रहेको र अन्य अतिक्रमणमा परेको पूजारी बताउनुहुन्छ । मटिहानी मन्दिरको नाममा धनुषा फुलगामामा १३२ विघा, कजरारमौलमा ३४ विघा, सपहीमा ४३ विघा, उमाप्रेमपुरमा १९ विघा महोत्तरी मझौरा विसनपुरमा आठ विघा, धिरापुरमा ५५ विघा, मटिहानीमा ६० विघा र जाउखमा २७ विघा जग्गा छन् । तीमध्ये १७५ विघा जग्गा अतिक्रमण भइसकेको छ ।
पर्यटकीय सम्भावना बोकेको मटिहानी चर्चामा रहे पनि संरक्षण पर्खाईमा छ । कुनै बेला हात्तीघोडाको चहलपहलले लक्ष्मीनारायण मठ सजिसजाउ हुन्थ्यो । संस्कृत शिक्षा आर्जन गर्ने व्यक्ति प्रशस्त भोजन र सुविधामा पढ्न पाउँथे तर अहिले अवस्था भने भिन्न छ ।
परिक्रमाको पडावस्थल
नेपाल र भारतको १३३ किलोमिटरसम्मको पैदल यात्रा गरिने धार्मिक लस्कर परिक्रमाको चौथौ पडावस्थल मटिहानी हो । जनकपुरबाट १५ दिने परिक्रमा सुरु भई पुनः जनकपुरमै गई सम्पन्न हुने गर्छ । मिथिलाञ्चलमा अन्तगृही परिक्रमाको भोलिपल्ट फागु (होली खेल्ने) चलन छ । नाङ्गो खुट्टा तय गरिने यो धार्मिक लस्कर १८औं शताब्दीबाट सुरु भएको मानिन्छ । परिक्रमास्थलहरुको महìव त्रेताकालिन राम र सीतासँग जोडिएको छ । भनिन्छ, त्रेताकालमा जहाँ जहाँ राम र सीताको चरण परेको छ, त्यहाँ त्यहाँ भ्रमण गर्दा मनोकामना पूरा हुने जनविश्वास छ र सोही जनविश्वासको उपज हो पञ्चकोशी मिथिला परिक्रमा । जनकपुरलाई केन्द्रविन्दु बनाएर गरिने परिक्रमास्थल जनकपुरबाट पाँच पाँच कोशको दुरीमा रहेकोले यसलाई पञ्चकोशी परिक्रमा भनिएको हो । त्रेताकालमा राजा जनकले प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा क्रमशः कलानेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वर महादेवको स्थापना गर्नुभएको र सोही आधारमा ति स्थानहरुमा परिक्रमा गर्नेहरु एक राति विश्राम गर्ने परम्परा छ ।
इतिहास झल्काउँदै खन्ती र चिम्टा
याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ मटिहानीका सहप्राध्यापक धु्रव रायका अनुसार, साढे पाँच सय वर्षअघि मटिहानीको जङ्गलमा पोखरी छेउ रूखमुनि रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त पिर बाबा बस्नुहुन्थ्यो । रामदास (तस्मैया बाबा)लाई पिर बाबाले भविष्यवाणी स्वरूप कुनै चमत्कारपूर्ण दृश्य भएको स्थानमा आफ्ना खन्ती र चिम्टा गाड्न सल्लाह दिनुभयो । एक दिन राम दासले एउटा बिरालालाई मुसाले आफ्नो वशमा पारेको अद्भुत दृश्य अवलोकन गर्नुभयो । उहाँले पिर बाबाको भविष्यवाणी स्मरण गर्दै त्यसै ठाउँमा अठारौं शताब्दीपूर्व खन्ती र चिम्टा गाडेर मठको स्थापना गर्नुभयो । जुन अहिले पनि यथावत् छ । मटिहानी प्रजातान्त्रिक आन्दोलनका सहिद केशव कोईरालाको क्रान्तिकारी भूमि पनि हो ।
‘ईतिहास जोगाउन लागेका छौँ’
हरिप्रसाद मण्डल
प्रमुख, मटिहानी नगरपालिका
दुई दशकभन्दा बढी जनप्रतिनिधि विहिनताको अवस्थाले ओझेलमा परेको मटिहानीको ईतिहासलाई जोगाउन र चिनाउन हामी लागि परेका छौँ । त्रेताकालमा रामसीताको विवाहको लागि मटिहानीस्थित लक्ष्मीनारायाण सरबाट मृतखन्नी (माटो खनिएको)ले सो पोखरीलाई आधुनिक तवरले सौन्दर्यकरण गरिएको छ । मटिहानीमा अचेल हरेर साँझ सो पोखरीको मनोरम दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध पार्ने गर्छ ।
करिब दुई दशकसम्म रोकिएको विकास निर्माण अहिले बढेको छ । धार्मिक, सांस्कृतिक र पौराणिक परिचय उजागर हुने काममा अगाडी बढेको छु । स्थानीय बासिन्दाको पनि सहयोग छ । त्रेताकालको परिचयसँग जोडिएको यस नगरलाई गौरवबोध हुने गरी विकास निर्माण अगाडी बढाएको छु । मन्दिरको जीर्णोधार, मठको रङरोगन, संस्कृत पाठशालाको स्तरोन्नति, संस्कृत शिक्षा चिनाउने गरी प्रवेशद्वारहरु, सुन्दर बाटिका, लक्ष्मीसागर पोखरीमा साप्ताहिक सन्ध्या गङ्गा आरतीसहित आम जनताको जनजीविकासँग जोडिएका कामहरु गरिरहेका छौँ ।
भारतीय सीमासँगैको यस नगरपालिकामा अतिथि गृह, ५१ फिट अग्लो घण्टाघर, जलेश्वर–मटिहानी सडक र मटिहानी–जनकपुर सडक (रामजानकीपथ)मा नगर प्रवेशद्वार, लक्ष्मीसागरमा मनोरम घाट र मनमोहक पक्की घेराबेरा, लक्ष्मीनारायण मठ अगाडि दुर्गा मन्दिर निर्माण, भव्य रङशालाले अहिले मटिहानीको मुहार नै फेरिएको छ । मटिहानी नगरपालिकाले नगरभित्र रहेका प्रतापी थान मन्दिर, राघोबाबा मन्दिर, पासवान जातिका कुलदेवता राजा सलहेशको मन्दिरको जीर्णोद्धार गरेको छ । मटिहानी बजारमा घण्टाघर छ । जहाँ घण्टैपिच्छे समयको बोध गराउँछ । जलेश्वर–मटिहानी सडक र मटिहानी–जनकपुर सडक (रामजानकी पथ)मा नगर प्रवेशद्वार बनाइएको छ । लक्ष्मीसागरमा मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा छ ।
राति झिलिमिली बत्ती बल्छ । मटिहानीबजारमा अतिथिगृह निर्माण गरिएको छ । लक्ष्मीनारायण मठअगाडि भव्य दुर्गा मन्दिर र विद्यालय परिसरमा नेपाली सेनाले अन्नपूर्ण भोजनालय निर्माण गरेको छ । मटिहानीको विकास तथा प्रवर्धनका लागि राज्यबाट न योजना बनाइयो न त भरपुर विकास बजेट आयो । अब राष्ट्रप्रमुखदेखि विभिन्न विशिष्ट व्यक्तित्वहरुको अवलोकन भ्रमण भइसकेको यस क्षेत्रमा प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।