विश्व रङ्गमञ्चीय अवधारणालाई हेर्ने हो भने मुख्य रूपमा ‘बन्द’ र ‘खुला’ दुई प्रकारका रङ्गमञ्च स्पष्ट रूपमा देख्न सकिन्छ । यिनलाई ‘बद्ध’ र ‘मुक्त’ रङ्गमञ्च पनि भन्ने गरिएको पाइन्छ । बद्ध रङ्गमञ्चीय अवधारणा पश्चिमी विश्वमा पूर्वको तुलनामा धेरै पछि मात्र आएको देखिन्छ, जब कि पूर्वमा ईपू ४०० तिरै भरतमुनिले अति नै सूक्ष्म ढङ्गले नाट्यशास्त्रमा बद्ध रङ्गमञ्चको विस्तृत चर्चा गरेका छन् ।
बन्द वा बद्ध शब्दको शाब्दिक अर्थ हुन्छ, कुनै निश्चित सीमाभित्र बाँधिएको वा कुनै नियम वा अनुशासनभित्र राखिएको । अर्थात् एउटा नियमबद्ध, अनुशासित वा निश्चित घेरा वा क्षेत्रमा अनुबन्धित । यसरी के भन्न सकिन्छ भने बन्द वा बद्ध रङ्गमञ्च भनेको एउटा निश्चित भवन वा पर्खालभित्र अझ फराकिलो भाषामा भन्नुपर्दा निश्चित स्थान वा स्पेसभित्र आवश्यक साजसज्जाका साथ गरिने नाट्य वा रङ्ग प्रस्तुति नै बन्द वा बद्ध रङ्गमञ्च हो । बन्द रङ्गमञ्चको तुलनामा खुला वा मुक्त रङ्गस्थानमा नाटकका लागि अत्यावश्यक मानिने नाट्य तत्वको अभावमा नाटकले प्रदान गर्ने सौन्दर्य, सन्देश, विचार वा निश्चित उद्देश्य पूरा हुन नसक्ने भएर पनि हुन सक्छ, भरतमुनिले नाट्यशास्त्रमा नाटकघरको अवधारणालाई विशेष स्थान र महत्व दिएका छन् । धेरै रङ्गपारखीले नाटक गर्न के बद्ध रङ्गमञ्च या भवन/नाटकघर नै आवश्यक पर्छ त भन्ने प्रश्नहरू पनि यदाकदा सुन्ने गरिन्छ ।
वास्तवमा नाटक गर्नका लागि मात्र एउटा स्थान भए पुग्छ । यही भएर नै ग्रिक तथा रोमन साम्राज्यताका हजारौँ दर्शक अट्ने (खुला आकाशमुनि बनाइएको रङ्गस्थान) एट्टिक वा एम्फी थिएटरहरू (रङ्गशाला शैलीका दर्शक बस्ने ठाउँ बनाई खुला आकाशमुनि बनाइएको रङ्गस्थान) बनाएर प्रस्तुति गरिन्थ्यो । नेपालको मल्लकालीन समयमा बनाइएका र अहिले काठमाडौँ उपत्याकाका तीन वटै सहरमा देखिने डबली पनि त्यस्तै खुला रङ्गमञ्चका जीवित साक्षी हुन् तर यस्ता रङ्गमञ्चमा विशेष गरी धार्मिक, सांस्कृतिक, मिथकीय वा लोकशैलीका नाट्यप्रस्तुतिहरू मात्र मञ्चन भएका पाइन्छन् ।
त्यस्तै सर्वसाधारणका लागि सन्देश दिने वा जनचेतना प्रदान गर्ने उद्देश्यले गरिने गरिएका अहिलेका सडक नाटकहरू (भारतमा नुक्कड पनि भनिने) पनि यस्तै खुला रङ्गमञ्चीय गतिविधिका उदाहरणहरू हुन् । आधुनिक चेत र विचार बोकेका नाटक मुक्त वा खुला स्थानमा असम्भवप्रायः नै मानिन्छन् । किनभने बद्ध रङ्गमञ्चको आफ्नै सौन्दर्य, शैली र उचाइ छ । कतिपय अवस्थामा संवादले बोल्न वा भन्न नसकेका मनमस्तिष्कको गहिराइको भाव अभिव्यक्त गर्न ध्वनि, प्रकाश, स्मोकर, प्रोजेक्टर र यिनलाई नियन्त्रण गर्ने नियन्त्रकक्ष, बिजुलीको उचित व्यवस्थापनलगायत अन्य विविध प्रविधि खुला रङ्गमञ्चमा सम्भव रहन्न । यसले पनि बद्ध रङ्गमञ्चको आफ्नै पहिचान र महत्व छ तर यसो भन्दै गर्दा खुला रङ्गमञ्चको पनि आफ्नै महत्व छँदै छ ।
यिनको ऐतिहासिक पृष्ठभूमि र महत्वका बारेमा पनि विस्तृत चर्चा गर्न सकिन्छ । यद्यपि यी दुवै शैलीका आआफ्नै महत्व र आवश्यकता आज पनि छँदै छ । विश्वयुद्धको समयसँगै मानवीय विचारहरू यसरी परिवर्तन भए कि नाटकले बोकेका विचारलाई दर्शकसम्म पु¥याउन नयाँ शैली र स्थानको जरुरत प¥यो । परिणामस्वरूप सन् १९२१ मा स्विट्जरल्यान्डका एडोल्फ एपीले ‘ब्ल्याकबक्स’ थिएटरको परिकल्पना गरे; जुन आज विश्वभरि र नेपालमा पनि लोकप्रिय हुँदै गइरहेको छ ।
आजभन्दा करिब चार सय वर्ष अगाडिदेखि अस्तित्वमा आएका सेक्सपेरियन ग्लोब थिएटर तथा प्रोसिनियम थिएटर पनि प्रचलनमा नआएका होइनन् तर रङ्गमञ्चीय चेत वा सौन्दर्यका दृष्टिले यस्ता नाटकघर भने बिस्तारै लोप हुने अवस्थामा देखिन्छन् । किनभने यस्ता नाटकघरहरूले अत्यधिक जनशक्तिको माग गर्छन् साथै नाट्य प्रस्तुतिमा सजीवताको सट्टा अलि बढी नै बनावटी लाग्छन् । जसले नाट्यप्रस्तुतिलाई निकटताको सट्टा बढ्ता व्यापारिकता र मानवीय संवेदनालाई टाढा धकेल्दिन्छ ।
नाटक भनेको आफैँमा जीवन्त प्रस्तुति हो । यसमा जति निकटता (इन्टिमेसी वा क्लोजनेस) भयो, त्यति दर्शकले यथार्थता महसुस गर्न सक्छन् । त्यसमा पनि मानवीय संवेदनशीलता वा भावनाहरू विलुप्त हुँदै गइरहेको वर्तमान बाह्य परिदृश्यमा मानवीय आवेग, संवेग तथा उत्तेजनाहरूको रङ्गमञ्चीय प्रस्तुतिको महìव भने घट्नुको सट्टा बिस्तारै बढ्दै नै गइरहेको महसुस गर्न सकिन्छ । नेपाली रङ्गमञ्चीय प्रस्तुतिलाई नजिकबाट नियाल्ने हो भने यस्तै नाटक दर्शकले बढी रुचाएको देख्न सकिन्छ ।
सायद यसै भएर पनि हुन सक्छ, ब्ल्याकबक्स थिएटरको लोकप्रियता बढ्दै गइरहेको छ । नाटकका दर्शक आफैँमा उच्चतम चेतनाको गहिराइसम्म पुग्न सक्ने, वैचारिक र बौद्धिक प्रकृतिका देखिएकाले पनि हुन सक्छ, चलचित्रघरमा भन्दा नाटकघरमा दर्शकको मात्रा कम नै हुन्छ । त्यसले गर्दा नाटकघरको विश्वव्यापी मान्यता पनि दिनप्रतिदिन परिवर्तनशील देखिन्छ । सिर्जना भनेकै नयाँपनको खोजी हो । जतिसुकै सुन्दर कुरा पनि बारम्बार दोहारियो भने भद्दा र क्लिसे साबित हुन्छन् । त्यसैले नाटकघरको प्रयोग पनि विशेषतः खुलाबाट बन्द र बन्दबाट पनि प्रोसिनियम, ब्ल्याकबक्स हँुदै इमर्सिभ थिएटर, म्युजिकल थिएटर, थ्रस्ट थिएटर हँुदै स्टुडियो थिएटरतर्फ उन्मुख हुँदै गइरहेको देखिन्छ ।
यसै मेसोमा पनि भरतमुनिको नाट्यशास्त्रमा उल्लेख भएका बद्ध रङ्गमञ्चीय अवधारणाहरू के कस्ता थिए भनेर सिंहावलोकन गर्नु जरुरी होला । के वर्तमानमा पनि ती रङ्गमञ्चीय अवधारणा समयसापेक्ष बन्न सक्छन् वा ऐतिहासिक दस्ताबेजका रूपमा मात्र सीमित छ यो ग्रन्थ ?
नाट्यशास्त्रमा उल्लिखित रङ्गमञ्चीय अवधारणाको वर्तमान परिदृश्यमा के कति महत्व राख्छ वा खासै महत्व राख्दैन भन्ने उद्देश्यले वर्तमान परिप्रेक्ष्यमा भरतमुनिको नाट्यशास्त्रमा उल्लेख गरिएका रङ्गमञ्चका प्रकार र तिनले बोकेको महत्वको औचित्य पनि खोज्नुपर्ने देखिन्छ ।
भरतमुनि पूर्वीय दर्शनका एक सर्वाधिक महत्वका चिन्तक हुन् । विशेष गरी नाट्यशास्त्र उनको प्रतिभाको केन्द्रीय कृति हो । पूर्वीय रङ्गमञ्चीय इतिहासमा यो रङ्गमञ्चको अधिक महत्वको कृति हो । सायद त्यसैले पनि यसलाई योगशास्त्र, मोक्षशास्त्र, नाट्यवेद तथा पञ्चमवेद आदिका रूपमा समेत सम्बोधन गरिएको पाइन्छ ।
त्यस्तै नृत्यमा भरतनाट्यम दक्षिण भारतको एउटा महत्वपूर्ण सांस्कृतिक तथा पौराणिक निधिका रूपमा प्रचलनमा रहेको पाइन्छ । भरतमुनिको नाट्यशास्त्रमा जम्मा छत्तिस अध्याय रहेका छन् (तर कुनै कुनै कृतिमा सैँतिस अध्याय भेटिएको) । जसको दोस्रो अध्यायमा नाट्यमण्डपको स्पष्ट अवधारणा उल्लेख गरिएको छ ।
कुन देशकालमा कसरी नाट्यमण्डप बनाउनु पर्छ, माटोको परीक्षण कसरी गर्नु पर्छ । नाटकघरका भित्तामा के कस्ता कला हुनु पर्छ, जमिन नाप्न के कस्ता डोरीको प्रयोग के कसरी गर्न सकिन्छ, नाट्यमण्डपको वास्तु र पूजा विधि कस्तो हुन्छ इत्यादि कुरादेखि नाट्यघर निर्माण गर्दा के कस्ता खाद्यान्न (नैवेद्य) को प्रयोग गर्ने जस्ता सूक्ष्म कुरासम्म पुगेर विस्तृत चर्चा भेटिन्छ ।
बुद्धिमान विश्वकर्माले राम्रोसँग शास्त्रको अनुशीलन गरी तीन किसिमको सन्निवेश (आकारप्रकारको) नाट्यमण्डपको निर्माण गर्नुपर्ने अवधारणा प्रस्तुत गर्नुभएको छ । नाट्यशास्त्र अनुसार पहिलो नाटकघर आयतकार (लामो), दोस्रो चतुरस्र (चारकुने) र तेस्रो œयस्र (तीनकुने) उल्ल्ोख गरिएको छ । तिनलाई क्रमशः ज्येष्ठ, मध्यम र अवर अर्थात् ठुलो, मझौला र सानो नाटकघरका रूपमा स्पष्ट नापजाँचसहित सचित्र व्याख्या गरिएको छ । यिनीहरूलाई आआफ्नै नाप र आकारमा हस्तदण्डको आधारमा ठुलो १०८, मध्य ६४ र सानो ३२ हात लम्बाइ मानिएको छ ।
नाट्यशास्त्रमा उल्लेख गरिएको नाट्यमण्डप (जसलाई नाचघर पनि भनिएको) निर्माणका क्रममा विचारणीय कुरा त के छ भने यिनको नापजाँचमा यति सूक्ष्मादिसूक्ष्म मापक प्रयोग गरिएको छ; जसले आजको अत्याधुनिक मापनले समेत कतै फेल ख्वाउन सक्ने स्थिति देखिँदैन । जसमा उल्लेख भए अनुसार : अणु, रज (दृष्टि पथमा नआउने सूक्ष्म कण परमाणु, तिनको संयोगको नाम अणु), बाल, लिक्षा, यूका, यव, अङ्गुल, हस्त र दण्ड भनी उल्लेख गरिएको छ ।