• ३ जेठ २०८२, शनिबार

एक करोडको लागतमा बेसार प्रशोधन केन्द्र

blog

प्युठान समाचारदाता

प्युठान, पुस ५ गते । प्युठान नगरपालिका–८, गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारले सामाजिक आर्थिक विकासका लागि ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट कार्यक्रम अन्तर्गत भोल नेपालमार्फत दिएको करिब एक करोड रुपियाँको सहयोगमा प्रशोधन केन्द्र स्थापना भएको हो ।

प्रशोधन केन्द्रको नेपालका लागि जापानी राजदूत किकुटा युकुताले प्रशोधन केन्द्रको उद्घाटन गरी नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ । 

राजदूत युकुताले नयाँ प्रशोधन सुविधा सञ्चालनमा आएपछि उच्च गुणस्तरको बेसार उत्पादन बजारमा ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल–जापानबिचको सम्बन्ध थप मैत्रीपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्युठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले प्रशोधन केन्द्रको दिगोपनामा जोड दिने बताउनुभएको छ । पालिकाभित्रको अर्गानिक र व्यावसायिक उत्पादन गर्न सहयोग पुग्ने भन्दै उक्त परियोजना कोसेढुङ्गा साबित हुने उहाँले दाबी गर्नुभयो ।