• ८ जेठ २०८१, मङ्गलबार

‘जलविद्युतकाे लाभांशबाट समृद्धि सम्भव’

blog

सङ्खुवासभाको १० स्थानीय तहहरूमध्ये सबैभन्दा दुर्गम स्थानीय तह हो भोटखोला गाउँपालिका । साबिक किमाथाङ्का, चेपुवा, हटिया र पावाखोला गाविसलाई समेटेर गठन गरिएको यस पालिकामा पाँच वडा छन् । मित्रराष्ट्र चीनसँग सिमाना जोडिएको यस पालिकाको वडा नम्बर १ मा पर्छ किमाथाङ्का नाका । अन्तरदेशीय व्यापारिक हिसाबले महìवपूर्ण स्थानीय तह भए पनि जिल्ला सदरमुकाम खाँदबारीबाट हालसम्म पनि सडक सञ्जाल नजोडिनु र चीनको तर्फबाट किमाथाङ्का नाका बन्द गरिनु यस पालिकाका लागि प्रमुख समस्या हो । यस कारण यहाँका नागरिकले बर्सेनि खाद्यान्न सङ्कट बेहोर्नु परेको छ । २०७९ को दोस्रो निर्वाचनमा नेकपा एमालेबाट वाङ्छेदर भोटे गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुनुभयो । निर्वाचनपछि हालसम्म पालिकाको समृद्धिका लागि भए गरेका कार्य र भावी योजनाका बारेमा अध्यक्ष भोटेसँग गोरखापत्र समाचारदाता ध्यान कुलुङले गर्नुभएको कुराकानी : 

हालै तपाईंले चिकित्सकको टोली लगेर भोटखोलामा स्वास्थ्य शिविर सञ्चालन गर्नुभयो, कत्तिको प्रभावकारी भयो ?

भोटखोलाका बासिन्दाले डाक्टरको अनुहार मुस्किलले देख्न पाउँछन् । बिरामी भएपछि कि त स्वास्थ्य चौकीमा सामान्य उपचार गरेर चित्त बुझाउनु पर्छ, कि त सक्नेले हेलिकोप्टर चार्टर गरेर उपचार गर्न लैजानुपर्छ । जनशक्ति पुग्यो भने पाँच दिनसम्म बोकेर गोला (मकालु र भोटखोलाको सीमा क्षेत्र, सडक पुगेको ठाउँ) सम्म ल्याएर जिल्ला अस्पताल ल्याउनु पर्छ । होइन भने रोग पालेर बस्नुपर्छ । यो समस्या भोग्दै आएको अवस्थामा हामीले विशेषज्ञ चिकित्सक लगेर शिविर सञ्चालन गरेका छौँ । नाक कान घाँटी, बालरोग, मुटु रोग, जनरल फिजिसियन, गाइनोलोजिस्टलगायत सात जना विशेषज्ञ डाक्टरसहितको टोली लगेर शिविर सञ्चालन गरियो । दुई वटा केन्द्रबाट सेवा प्रदान गर्दा एक हजार २४८ जनाले सेवा पाए । विपन्नका लागि स्वास्थ्य सेवा नामको संस्था, भोटखोला गाउँपालिकामा काम गर्ने विभिन्न सङ्घसंस्था, प्रदेश सरकार र गाउँपालिकाको संयुक्त पहलमा शिविर सम्भव भयो ।

राष्ट्रिय महìवको सडक भए पनि तपाईंको पालिकामा अहिले पनि सवारीसाधन पुग्दैन, खास समस्या के हो ?

गोलासम्म चाहिँ झन्डै पाँच वर्षदेखि दुःखसुख जिप गइरहेको छ । त्यसदेखि उता च्याम्ताङसम्म सडक ट्र्याक खोलिए पनि सवारीसाधन लैजान सकिरहेको थिएन । उत्तर दक्षिण कोशी सडक आयोजनाले ट्र्याक खोले पनि स्तरोन्नतिको काम नहुँदा कुनै सवारीसाधन लैजान सकेको थिएन । थुप्रो ठाउँमा अति भिरालो तथा घुम्ती (गोलाई) नपुग्ने समस्या छ । पालिकाको बजेटले स्तरोन्नति गर्न सम्भव छैन । यसपालि चाहिँ सडक बोर्ड र स्थानीय जलविद्युत् आयोजनासँग हारगुहार गरेर वडा नम्बर ४ को सिरेक डाँडाको गोलाई र हटियादेखि हुङ्गुङ जाने बिचको ठिग भन्ने ठाउँको उकालो काटेर च्याम्ताङसम्म हालसालै जेनतेन जिप पु¥याइएको छ । त्यहाँदेखि उता चाहिँ ट्र्याक नै नखुलेकाले लैजान सक्ने कुरै भएन । नेपाली सेनाले भिर फुटाएर ट्र्याक खोल्ने काम गरिरहेको छ । सरकारले बजेट कम पठाएकाले सोचे जस्तो काम हुन नसकेको बताइएको छ । चालु आर्थिक वर्षका लागि जम्मा ८० करोड मात्र बजेट पठाइयो । दुई अर्ब जत्ति बजेट दिएको भए यसै वर्ष भिरको चट्टान काटेर पार हुन्थ्यो । यस्तै गतिमा बजेट आउने हो भने चार वर्षमा पनि ट्र्याक खुल्दैन ।

भोटखोलामा हरेक वर्ष खाद्यान्न सङ्कट हुने र हेलिकोप्टरबाट खाद्यान्न ल्याउनुु पर्छ, यसको कारण पनि सडक नै हो ?

भोटखोलाको किमाथाङ्का, थुदाम उम्बोक्ला, तालेलगायत नागरिकका लागि हरेक वर्ष हेलिकोप्टरबाट खाद्यान्न लैजानु पर्छ । यहाँ खाद्यान्न सङ्कट हुने मुख्य दुई कारणहरू सडक सञ्जाल नजोडिनु र चीनले नाका बन्द गर्नु हो । हिउँदमा पैदल मार्गबाट जाने बाटो हिउँले बन्द हुने र चीनबाट सामान ल्याउन नसक्दा समस्या पर्ने गरेको छ । कोभिड १९ को महामारीअघि नाका खुला हुँदा सबै सामान उतैबाट आउँथ्यो र सजिलै थियो तर अहिले ठप्प छ । नाका खुलाउनका लागि सकेको प्रयास गरेँ । केही समयअघि प्रधानमन्त्रीको चीन भ्रमणपछि केही होला भनेर ठुलै अपेक्षा थियो तर केही भएन । नाका खुल्ला भनेर हामीले पालिकावासीलाई अनुज्ञापत्र (प्रवेश पास) पनि वितरण गरिसकेका थियौँ । नाका पनि नखुल्ने र सडक पनि नपुग्ने भएपछि यस वर्षको हिउँदमा पनि सङ्कट हुने पक्का छ । त्यही भएर जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायलाई जानकारी गराउने र सहयोगको प्रव्रिmया अगाडि बढाइसकेको छु ।

भोटखोला त जलविद्युत् आयोजनाको ‘हब’ हो । आयोजनाका तर्फबाट सहयोग प्राप्त गरिरहनुभएको छ ?

हो, हाम्रो पालिकामा अप्पर अरुण, अरुण–४, किमाथाङ्का अरुणलगायत सानाठुला गरी झन्डै २५ सय मेगावाट क्षमताको विद्युत् आयोजना छन् । औपचारिक रूपमा सुरु भइसकेका छैनन् । साझेदारीमा केही कामहरू भइरहेको छ । हामी अहिले समस्यामा छौँ तर हाम्रो भविष्य उज्ज्वल छ । यो परियोजनाबाट आउने सेयर तथा रोयल्टीबाट हाम्रो पालिकालाई राम्रै आम्दानी हुन्छ । सडक तथा भौतिक पूर्वाधार क्षेत्रको निर्माणमा राम्रै हुन्छ ।

जलविद्युत् आयोजनाबाट यहाँका जनता लाभान्वित बनाउने योजना के छ ?

यहाँका झन्डै ९० प्रतिशत नागरिकहरू सेयरबापत पैसा लगानी गर्न सक्दैनन् र पनि सेयरधनी त बनाउनै पर्ने छ । जसका लागि यहाँका परियोजनामा रोजगारी दिने र उनीहरूकै पारिश्रमिकको केही हिस्सा कम्पनीले नै जम्मा गर्न लगाएर त्यसैलाई सेयरमा लगानी गर्न लगाउने विषयमा परियोजना सञ्चालकसँग कुरा भइरहेको छ । मानौ काम गरेबापत मासिक ३० हजार पारिश्रमिक छ भने १५ हजार उसलाई दिने र बाँकी रकम सेयरका लागि जम्मा गरिदिने । १५ हजार रुपियाँले उसको घर व्यवहार पनि चल्यो र बाँकी पैसा सोही परियोजनामा लगानी गरेर त्यसको मालिक पनि भयो । यसो गरियो भने यहाँका सबै नागरिकहरू सेयरधनी बन्न सक्छन् ।

गाउँपालिकाको समृद्धिका लागि तपाईंले गरिरहनुभएको खास कार्य के हो ?

हाम्रो पालिकामा के विकास गर्नेभन्दा पनि आमजनता कसरी बचाउने भन्ने कुरा ठुलो भइदियो । खाँदबारी बजारबाट ३० किलोग्रामको एक बोरा चामल भोटखोला पुग्दा ४५ सय रुपियाँ पर्छ । यही औसतमा हिसाब गर्नुहोस्, निर्माण सामग्री खाँदबारीबाट भोटखोला पु¥याएर काम गर्दा त्यसको लागत कत्ति पुग्ला ? फेरि अहिले हाम्रो आन्तरिक आम्दानी खासै छैन । 

माथिल्लो निकायबाट आउने बजेट पनि हामीलाई तुलनात्मक रूपमा कम नै आउँछ । यसो भनिरहँदा हामीले केही पनि गरेका छैनौँ, शून्य नै हो भन्न खोजेको पनि होइन । विगतका भन्दा शिक्षा, स्वास्थ्य क्षेत्रमा राम्रै लगानी गर्दै आएका छौँ । यहाँका नागरिकको जीविकोपार्जनसँग सम्बन्धित कार्यव्रmमहरू गर्दै आएका छौँ । खानेपानी, पैदलमार्गमा लगानी गरेका छौँ । हामी आउँदा भोटखोलामा सञ्चार सुविधा थिएन । अहिले अधिकांश क्षेत्रमा सञ्चार सुविधा पुगेको छ । स्थानीय खोलानालाबाट उत्पादन गरिएको लघुजलविद्युत्बाट विद्युत् सेवा विस्तार गरिरहेका छौँ । केन्द्रीय प्रसारण लाइन पु¥याउने प्रयास पनि भइरहेको छ ।