• २० असोज २०८१, आइतबार

विवाह पञ्चमी : यात्रुको बास खुला आकाशमुनी

blog

जानकी मन्दिर प्रांगण रात बिताउन बाध्य विवाह पञ्चमीमा आएका पर्यटक। तस्बिरः लक्ष्मी चौधरी।

लक्ष्मी चौधरी

 जनकपुरधाम, पुस १ गते। धार्मिक ऐतिहासिक सहर जनकपुरधाममा तीर्थ यात्रु खुला आकाशमुनी बस्न बाध्य भएका छन्।  साताव्यापी विवाह पञ्चमीको अवसरमा जनकपुरधाम आएका हजारौँ भारतीय यात्रुहरू खुला आकाशमुनी बस्न बाध्य भएका हुन्।  

उहाँहरू भन्नुहुन्छ,‘‘कुनै व्यवस्था छैन, सरोकारवाला निकायले ध्यान दिएन।’’ शनिबार राति करिब आठ बजे जनकपुरधाम उपमहानगरपालिका– ८ स्थित एभरेस्ट बोर्डिङ स्कुल नजिकै भारतस्थित बिहार राज्य चम्पारणबाट आएका ६० जनाको टोली जाडो छल्न खुला आकाशमुनी आगो बालेर बसेका थिए।  कोही सुत्ने तरखरमा थिए।  त्यही टोलीमा सङ्गीता शर्मा विवाह पञ्चमी महोत्सव हेर्न पहिलो पटक जनकपुरधाम आउनुभएको हो।  

उहाँ भन्नुहुन्छ,“शीतलहरूमा पनि खुला आकाशमुनी बस्न बाध्य छौँ।  यहाँ बस्नका लागि कुनै व्यवस्थापन छैन।  सीताजीको नगरी हो, त्यसैले पनि दुःख गरेर पनि खुला आकाशमुनी चिसोमा चित्त बुझाएर बसेका छौँ। ’’ 

वर्षौँदेखि लाग्दै आएको महोत्सवका लागि पनि तीर्थालुका लागि कुनै व्यवस्था गरिएको छैन।  न खाने पानी, न शौचालय, न आवासको व्यवस्था छ।  चिसो मौसममा राति कठ्याङ्ग्रिएर बस्नुपर्ने बाध्यता बनेको हो। 

बिहार पश्चिम चम्पारणबाट विवाह पञ्चमीमा आएर जितेन्द्र उपाध्याय भन्नुहुन्छ,“बस्ने ठाउँ नपाएर खुला आकाशमुनि आगो बालेर बसेका छौँ। ’’ उहाँको टोलीमा ६० महिला, १० पुरुष र चार बालबालिका आएका छन्।  धर्मशालाको व्यवस्था पनि गरिएको छैन।  यता जानकी मन्दिर प्राङ्गणमा पनि शनिबार राति हजारौँ तीर्थयात्रु खुला आकाशमा सुत्न बाध्य भएका थिए।  


यता जनकपुरधामस्थित ज्ञानकुप माध्यमिक विद्यालयमा आश्रय लिनुभएका उत्रीचन्द यादवले भन्नुहुन्छ,‘‘संयोगवश हामीले विद्यालयमा बस्ने ठाउँ पाएका छाैँ। भिडभाड पनि कम छ।  खाने, नुहाउने र शौचालय जानका लागि पानीको उचित व्यवस्था गरिएको छ। ’’ 

यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले धार्मिक, सांस्कृतिक र तीर्थस्थलको विकासमा काम गर्दै आए पनि विवाह पञ्चमीमा आएका यात्रु व्यवस्थापनमा ध्यान दिएको देखिँदैन।  जनकपुरधाममा स्थानको अभाव छैन।  सही तरिकाले व्यवस्थापन गर्ने हो भने यहाँ आउने तीर्थयात्रु अलपत्र पर्ने अवस्था भने नहुने यात्रुहरूको भनाइ छ।