• १३ असोज २०८१, आइतबार

चिवाभञ्ज्याङ पुगेर समापन भयो एमालेको सङ्कल्प यात्रा

blog

बैतडीको झुलाघाटबाट प्रारम्भ भएको नेकपा (एमाले) को सङ्कल्प यात्राको पाँचथरको चिवाभञ्ज्याङमा समापन गर्नुहुँदै एमाले अध्यक्ष केपी ओली। तस्बिर: गोरखापत्र

राधा लुइँटेल 

फिदिम, पुस १ गते।  नेकपा (एमाले) ले झुलाघाटबाट सुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरेको छ।  मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो।  

आइतबार चिवाभञ्ज्याङमा पुगेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराएर यात्राको औपचारिक समापन गर्नुभएको हो। 

समापन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले यो यात्रा देश विकासका लागि कोसेढुङ्गा साबित हुने दाबी गर्नुभयो।

एमालेको सङ्कल्प यात्रालाई बिथोल्न विकास विरोधी शक्तिले प्रयत्न गरे पनि एमाले नेता कार्यकर्ताको अदम्य साहसबाट यो यात्रा पूरा भएको उल्लेख गर्नुभयो। 

अध्यक्ष ओलीले अब नेकपा (एमाले) लाई कसैले देश  विकासका लागि रोक्न र छेक्नसमेत नसक्ने दाबी गर्नुभयो।  

आइतबार सदरमुकाम फिदिमबाट १०५ किलोमिटरको दूरीमा रहेको चिवाभञ्ज्याङबाट कार्यक्रम सकेर साँझ फिदिममा नै फर्किने कार्यक्रम छ।