• १३ असोज २०८१, आइतबार

प्राज्ञ-प्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श

blog

काठमाडौँ, मङ्सिर ३० गते । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो ।

यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रबार मातृभाषा साहित्य शृङ्खलाको रूपमा आयोजना हुँदै आएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका निमित्त कुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा)ले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

यसैगरी प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा सम्पूर्ण जातिको भाषा र साहित्यको पहिचान गरी तिनकोअस्तित्व संरक्षण गर्न दत्तचित्तका साथ प्रतिष्ठान लागिपरेको बताउनुभएको थियो ।

यसैगरी कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा कोष तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव) ले मातृभाषा साहित्य शृङ्खलाले पहिचान र चेतनालाई व्यापक बनाउन र एकआपसमा सुपरिचित हुन सहयोग पुगेको बताउनुभएको थियो ।

यसैगरी कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख एवम् कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले आफ्नो मातृभाषालाई व्यक्तिले संरक्षण गरेर मात्रै सम्भव छैन ।

त्यसलाई माथि उठाउन सरकारले प्रशस्त बजेटको व्यवस्था गर्नु पर्दछ । साथै, जुन अघिल्लो पुस्तासँग भएको मातृभाषा, रैथाने ज्ञान र सीपलाई अभिलेखीकरण गर्नलाई बजेटको सीमितता भए पनि प्रज्ञा-प्रतिष्ठान सक्रियतापूर्वक लागि परेको बताउनुभएको थियो ।

यस कार्यक्रममा गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष तथा गुरुङ भाषा(साहित्यकी अन्वेषक गौरी तमूले ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

यस कार्यपत्रमा पहिचानसम्बन्धी अवधारणा, गुरुङ साहित्यको विकास र विस्तार, गुरुङ भाषाको साहित्य, श्रुति साहित्य, लिखित साहित्य, श्रव्य-दृश्य साहित्य, गुरुङ भाषाको साहित्यमा पहिचान, गुरुङ भाषाको साहित्यमा प्रतिनिधित्व र गुरुङ साहित्यको अवस्था आदि विषयवस्तुलाई समेटिएको छ ।

उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट सिताराम गुरुङ, रामकाजी कोने, मणिराज गुरुङ, सुशान्त गुरुङ र रुकु गुरुङले पूरक टिप्पणी गर्नुभएको थियो ।

यस कार्यक्रममा मगर ढुटभाषाका कवि हिरा राना मगर, तामाङ भाषाका कवि रिना बम्जन र खालिङ भाषाका कवि रेजिना खालिङले आ-आफ्नो कविता वाचन गर्नुभएको थियो ।

यस कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियो ।