• ८ मंसिर २०८१, शनिबार

फिज्यान्ट संरक्षणमा चुनौती

blog

तस्बिर : कालिज संरक्षणकर्मी हरि बस्नेत ।

नेपालमा फिज्यान्ट (कालिज)का डाँफे, मुनाल, चिर, चिलिमे, फोकराँस, कालिज, लुइँचे र मयुर गरी आठ प्रजाति पाइन्छन् । लुइँचे र मयुर तराई, कालिजमध्ये क्षेत्र र बाँकी प्रजाति उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छन् । फिज्यान्ट ठुलो शरीरको हुन्छ । भाले रङ्गीबिरङ्गी सुन्दर देखिन्छ । यसको मुख्य बास स्थान जमिन हो । बिहान भाले बास्छ । डाँफे र चिर साइटिज (सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि १९७३) अनुसूची १ मा रहेका छन् । चिलिमे साइटिजको अनुसूची २ रहेको छ । आइयुसिएनको रातो किताब अनुसार चिर सङ्कटापन्न र मुनाल सङ्कट नजिकको सूचीमा रहेको छ । बाँकी छ प्रजाति कम चासोमा रहेका छन् । वन्यजन्तु संरक्षण ऐन २०२९ ले डाँफे मुनाल र चिरलाई संरक्षित पन्छी घोषणा गरेको छ । मासु, अन्डा तथा प्वाँखका लािग सिकार हुन्छन् । अत्यधिक सिकार  (हन्टिङ) हुने भएकोले यसलाई गेमिङ बर्डसमेत भनिन्छ । 

होड्गसनले सन् १८४६ ताका कालिजको विवरण तयार गर्नुभएको थियो । नेपालमा सन् १९८१ मा एन्थोनी डी लिलीएटले ढोरपाटनमा हिमाली कालिज प्रजातिको अध्ययन सुरु गर्नुभएको थियो । कालिज अनुसन्धान गर्ने पहिलो नेपाली पुर्णेश्वर सुवेदी हुनुहुन्छ । उहाँले सन् २००३ मा अनुसन्धान गर्नुभएको कालिज अनुसन्धानकर्ता लक्ष्मणप्रसाद पौडेलले बताउनुभयो । सन् २०१३ मा नेपालमा कालिजको सङ्ख्या अनुमान गरिएको थियो । स्थानीय नेचर गाइड, कर्मचारी, विज्ञ बसेर अनुमान गरिएको थियो । 

अध्ययन अनुसन्धान न्यून

चिरमा अनुसन्धान गर्दा फाण्ड पाइन्छ । अन्यमा आफैँ खर्च गर्नु पर्छ । उच्च भेगमा बस्ने, बढी खर्चिलो, आवाजले मात्र पहिचान हुने, समय धेरै लाग्ने भएकोले अनुसन्धानमा कम चासो हुने गरेको छ । कालिजको राम्रोसँग अध्ययन नै भएको छैन । कुन कुन जिल्लामा कति सङ्ख्यामा छ भन्ने थाहा छैन । नेपाल सरकारले कालिज प्रजाति संरक्षण कार्ययोजना २०१९–२०२३ कार्यक्रम गर्दै आएको छ । जसका कारण अध्ययन अनुसन्धान गर्नेको चासो थपिएको छ । संरक्षित क्षेत्र र आसपासका बस्तीमा सचेतना फैलाउने कामको सुरुवात भएको वरिष्ठ चरा विज्ञ डा. हेमसागर बराल बताउनुहुन्छ । 

संरक्षणको अभ्यास सुरु भए पनि सिकार नरोकिँदा संरक्षणमा चुनौती थपिएको छ । अझै पनि कालिज देखिए मार्न ढुङ्गा टिप्ने प्रवृत्ति छ । समुदायले महत्व बुझ्न सकेका छैनन् । समुदायमा सचेतता आवश्यक छ । अक्टोबरमा इन्डोनेसियाको जावामा भएको सम्मेलनमा कालिज र च्याखुरा गरी २८ प्रजाति समावेश गरी दोस्रो संरक्षण कार्ययोजना निर्माण हुने विषयमा छलफल भएको विज्ञहरू बताउनुहुन्छ ।

किन मारिन्छन् कालिज प्रजाति ?

जेठ महिनामा म्याग्दीको धवलागिरि गाउँपालिका मुरीमा सर्वे भइरहेको थियो । नेपाल पन्छी विज्ञ सङ्घले सर्वे गर्दाको घटना सुनाउँदै संरक्षणकर्मी हरि बस्नेतले भन्नुभयो–“बिहानै घाम झुल्किँदै गर्दा सल्लाघारीमा चिर बासेको आवाज सुनियो । आवाज पच्छाउँदै भिरालो झर्दै थियौँ । त्यही बेला सिकारीले चिरलाई बन्दुकले निसाना लगाउँदै थिए ।” उहाँका अनुसार यस्ता घटना धेरै छन् । त्यो दिन ओथारो बसेको चिर सिकार हुनबाट जोगियो तर पछि के भयो थाहा छैन । चिरको सिकार भएमा यो स्थानबाट चिर लोप भएको हुन सक्छ । 

कालिज प्रजातिका ठुला हुन्छन् । सजिलै पासोमा पर्छन् । त्यसैले सजिलै सिकार हुन्छन् । त्यसैले कालिज प्रजाति लोप हुने सम्भावना बढी छ । यो मुख्यतः मासुकै लागि मारिन्छन् । सिकार हुनेमा यो विश्वकै अग्रस्थान छ । चैत वैशाख महिना प्रजननको समय हो । ओथारो बस्ने बेला वनमा डढेलो लाग्ने गर्छ । भुइँमा पारेको अन्डा गोठालाले टिप्छन् । हरेक कुराले समस्यामा छन् । संरक्षणमा ढिलाइ गर्ने हो भने भोलिका पुस्ताले कालिज देख्न नपाउने अवस्था आउने अनुसन्धानकर्ता बस्नेत बताउनुहुन्छ ।

“कालिजहरू मार्नु अपराध हो भन्ने थाहा छैन । चिललगायत अन्य मांसाहारीको आहारा हुन् भन्ने थाहा छैन । जङ्गलमा कालिज धेरै भए स्यालले घरमा पालेका कुखुरा लैजान्नँ । चिलले कुखुरा र चल्ला टिप्दैन । वातावरणको राम्रा सूचकसमेत हुन् । त्यसैले यिनको संरक्षण गर्नु पर्छ,” अनुसन्धानकर्ता पौडेलले भन्नुहुन्छ–“समुदायमा पुगेर सचेत गराउन जरुरी छ । नेपालमा ठुला जनावर मारिँदा बहस हुन्छ । साना जनावर तथा पन्छी मारिँदा खासै चासो हुन्न । त्यसैले चराको सिकार बढ्दो छ ।” 

सुदूरपश्चिम र कर्णालीमा चेड खेल्ने 

चिर विश्वमै लोप हुने सम्भावना रहेको छ । यो सल्लाघारी, घाँसे मैदान र भिरमा बस्छ । समूहमा हुने भए पनि प्रजननको समय चिरको जोडीले ओथारो बस्दा निश्चित क्षेत्र बनाएर बस्छ । त्यो ठाउँ वरिपरि अरूलाई आउन दिँदैन, आएमा खेद्छ । यो समय घरमा पालेको चिर प्रयोग गरी पासो थापिन्छ । पासो थापेर चिर समाउनेलाई चेड खेल्ने भनिन्छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा चेड खेलेर चिरको सिकार हुने गरेको नेपाल पन्छी संरक्षण सङ्घका अधिकृत दिलीपचन्द ठकुरी बताउनुहुन्छ । 

चिरका अन्डा सङ्कलन गरी कुखुराबाट कोरल्ने र वयस्क भएपछि चैत वैशाखमा चेड खेलिन्छ । ओथारो बसेको ठाउँ पत्ता लगाई चिरको खुट्टा बाँधेर वरिपरि पासो थापिन्छ । नजिक अर्को चिर देखेपछि धपाउन जाँदा पासोमा पर्ने उहाँ बताउनु हुन्छ । बाजुरामा चेड खेल्न दैनिक २५ सय तिरेर घरपालुवा चिर भाडामा लिने गरेको कालिज संरक्षणकर्मीहरू बताउनुहुन्छ । नेपालको मध्य क्षेत्रदेखि पश्चिम तर्फका हिमाली क्षेत्रमा करिब एक हजार चिर रहेको अनुमान छ । यो भारत र पाकिस्तानमा समेत पाइन्छ । 

निकुञ्जभित्रै चोरी सिकारी 

रूपन्देहीका विराटराज रजकले राष्ट्रिय पन्छी डाँफेमा पहिलो अनुसन्धान गर्नुभएको थियो । अघिल्लो वर्ष भएको अनुसन्धानमा संरक्षित क्षेत्रमै डाँफेको चोरी सिकार भएको देखिएको छ । मङ्सिर र असार महिनामा लामटाङ राष्ट्रिय निकुञ्जमा अनुसन्धान गरिएको थियो । डाँफेको बासस्थान, रहनसहन, उसलाई पुगेको असर, सङ्ख्या खस्किएका कारणलगायतको विषयमा खोज गरिएको थियो । 

अवैध सिकार, घरपालुवा बिरालो, छाडा घोडाको कारणले डाँफेको सङ्ख्या खस्किएको देखिएको छ । लामटाङ निकुञ्ज क्षेत्रमा बाहिरबाट आउने सिकारीले डाँफे मार्ने गरेको अनुसन्धानले देखाएको छ । निकुञ्जभित्र हुने चोरी सिकारीको विषयमा सरोकारवाला पक्षलाई जानकारीसमेत गराएको रजकले बताउनुभयो ।

डाँफे मासु र प्वाँखका लागि मारिने गरेका छन् । यसको जुल्फीबाट (टाउकोको प्वाँख) मुकुट बन्छ । पुच्छरबाट आर्चरीको तिर बन्छ । हिउँ पर्ने बेला डाँफे तल ओर्लने गर्छ । त्यो बेला अत्यधिक सिकार हुन्छ । राष्ट्रिय पन्छी मार्न कानुनले समेत वर्जित गरे पनि कारबाही भएको रेकर्ड देखिँदैन । चीन, भारत, अफगानिस्तान, भुटान, म्यानमार, पाकिस्तानमा पाइने डाँफे लजालु पन्छीको रूपमा चिनिन्छ । नेपालमा साढे तीन हजारदेखि पाँच हजार डाँफे रहेको अनुमान छ । 

फोकराँस देख्न मुस्किल

चिलिमे, मुनाल, फोकराँस नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइन्छ । पशु चौपाया चराउने गोठालाले सिकार खेल्दा र बासस्थान नष्ट हुँदा यी प्रजाति सङ्कटमा परेका हुन् । चिलिमे नेपालबाहेक चीन, भारत, म्यानमार र भुटानमा पाइन्छ । नेपालमा यसको सङ्ख्या यकिन भएको छैन । मुनाल नेपालमा छ सयदेखि एक हजार रहेको अनुमान छ । नेपालका २६ जिल्लामा देखिएको कार्ययोजनामा रेकर्ड रहेको छ । 

कालिज संरक्षणकर्मीका अनुसार फोकराँसको अवस्थासमेत चिन्ताजनक छ । संरक्षण कार्ययोजनाको अनुसार नेपालमा पाँच सयदेखि एक हजार फोकराँस भएको अनुमान छ । वरिष्ठ पन्छीविज्ञ डा. बरालका अनुसार नेपालका वन क्षेत्रमा फोकराँस प्रजाति भेट्नसमेत मुस्किल छ । नेपाली फोटोग्राफरले खिचेको फोटो नभेटिएपछि कार्ययोजना बनाउँदा विदेशबाट फोटो मगाइएको थियो । मुनाल, चिलिमे र फोकराँसको विषयमा अध्ययन अनुसन्धानसमेत भएको छैन । 

कालिज नेपालमा धेरै सिकार हुने चरा हो । २५७ मिटरदेखि चार हजार सात सय मिटरको उचाइमा पाइने कालिजलाई विश्वभरि कम महत्व दिइएको छ । संरक्षण कार्ययोजना अनुसार नेपालका ३८ जिल्लामा कालिज भेटिएको तथ्याङ्क छ । ग्रामीण भेगमा अवैध सिकार हुन्छ । मयुर र लुइचे तराईमा पाइन्छन् । लुइचे मासुका लागि सिकार हुन्छ । मयुरको खासै सिकार हुँदैन तर मयुरले खेतबारीमा आएर कृषि बाली खाएर धेरै दुःख दिन्छ । मयुरको प्वाँखको बजारमा बिक्री हुन्छ । मासु नखाए पनि मयुर मारिने गरेको पन्छी विज्ञहरूको दाबी छ ।   

Author

जानु पाण्डे