नेपालमा कुनैबेला यस्तो समय पनि थियो, जतिबेला नन्दबहादुर पुनको मृत टाउको लिएर आउनेलाई तत्कालीन सरकारले ३५ लाख रुपियाँ पुरस्कार दिने औपचारिक घोषणा गरेको थियो । टेलिभिजन, रेडियो, पत्रपत्रिका र सार्वजनिक ठाउँमा उहाँको टाउकोको मूल्य किटान गरिएको थियो । त्यसको डेढ दशक नबित्दै नेपालको दोस्रो सर्वोच्च मर्यादा क्रममा रहने उपराष्ट्रपति पदमा उहाँ बहाल हुनुभयो । गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति पुनद्वारा लिखित ‘यात्रा जिन्दगी : जनमुक्ति सेनाको कमान्डरदेखि उपराष्ट्रपतिसम्म’ यही उथलपुथलकारी यात्राको सजीव र सनसनीपूर्ण साबिती बयान हो ।
घोष्ट राइटिङ नेपालद्वारा प्रकाशित उक्त पुस्तकमा १८ खण्ड, ५५ अध्याय र ६०७ पृष्ठ समेटिएको छ । यो आत्मकथा विधा हो, जहाँ लेखक पुनले आफ्नो बाल्यकालदेखि उपराष्ट्रपति पदबाट निवृत्त हुँदासम्मका प्रमुख घटना सजीव ढङ्गले समेट्नुभएको छ । पुन लेख्नुहुन्छ, “मानिसको जीवन एउटा यात्रा हो । ऊर्जाको सहारामा मोटामोटी एक शताब्दी जति मानिसको रूपमा ऊर्जाको एउटा चक्र पूरा गर्नका लागि यो धर्तीमा देखापरेको हो भन्दा फरक नपर्ला । त्यही भएर मैले पुस्तकको नाम ‘यात्रा जिन्दगी’ राखेको हुँ ।”
पुनको उपनाम ‘पासाङ’ हो । तत्कालीन माओवादी विद्रोहीद्वारा सञ्चालित दसवर्षे जनयुद्धका दौरान उहाँ यही नामबाट चर्चित हुनुहुन्थ्यो । उहाँ मूलतः सार्वजनिक व्यक्तित्व नै भए तापनि पुस्तकको खण्ड (क) अन्तर्गत १ र २ मा चाहिँ उहाँले व्यक्तिगत जीवनका आरोहअवरोह समेट्नुभएको छ । यसमा उहाँले पुख्र्यौली संस्कार, रीतिथितिदेखि लिएर बाल्यकालका सम्झना हुँदै विवाहसम्मका झाँकीहरू प्रस्तुत गर्नुभएको छ । मध्यपश्चिम नेपालको विकट र दुर्गम रोल्पा जिल्लामा २०२२ कात्तिक ८ गते आमा मनसरा पुन मकै गोड्न बारीमा गएकै बेला माइलो छोराका रूपमा मकैबारीमै उहाँको जन्म भएको थियो । ग्रामीण दुर्गम त्यसमा पनि मुख्यतः विकट पहाडमा आम नेपाली जसरी घाँस, दाउरा, गोठाला गरेर हुर्कन्छन्, त्यसरी नै उहाँ पनि हुर्किनुभएको थियो । ग्रामीण वर्ग सङ्घर्ष र राज्यसत्ताको दमनकारी व्यवहारपछि एउटा स्थायी शिक्षकको जागिरबाट राजीनामा दिएर कसरी समाज रूपान्तरणको सङ्घर्षमय बाटो पछ्यायो भन्ने कथा पुस्तकमा उनिएको छ ।
लेखक पुनका बारेमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभएको छ, “नेपाली धर्तीमा सञ्चालित महान जनयुद्धको तयारीदेखि राजनीतिक एवं मुख्यतः फौजी नेतृत्व गर्दै क्रान्ति र शान्तिको समुचित संयोजनका निम्ति पासाङले खेल्नुभएको भूमिका ऐतिहासिक छ, वर्तमानमा मात्र नभएर भावी पुस्ताका लागि समेत अनुकरणीय र प्रेरणादायी छ ।” प्रधानमन्त्री प्रचण्ड स्वयम् पनि यो आत्मकथाका एक महìवपूर्ण पात्र हुनुहुन्छ र लेखक पुनले एक आदर्श नेताका रूपमा उभ्याउनुभएको छ । राजतन्त्र अन्त्य गरी गणतन्त्रात्मक व्यवस्था बहाल गर्ने प्रमुख उद्देश्यसहित तत्कालीन नेकपा (माओवादी)ले जनमुक्ति सेना गठन गरेको थियो । माओवादी अध्यक्ष प्रचण्ड स्वयम् जनमुक्ति सेनाको सर्वोच्च कमान्डर हुनुहुन्थ्यो भने फिल्डमा प्रत्यक्ष कमान्ड गर्ने डिपुटी कमान्डरका रूपमा पुन हुनुहुन्थ्यो । तत्कालीन माओवादी विद्रोहको आधार इलाकाको केन्द्र भागमा उहाँ हुनुहुन्थ्यो । यो पुस्तक समग्र माओवादी जनयुद्धको उद्भव, विकास र अवतरणको एउटा जीवन्त र आधिकारिक दस्ताबेजको रूपमा रहेको छ ।
यसअघि नखुलेका, नभनिएका कैयौँ ऐतिहासिक घटनालाई यो पुस्तकमार्फत सार्वजनिक गरिएको छ । सशस्त्र सङ्घर्षका दौरान पाइलापाइलामा सामना गर्नुपर्ने कठिन चुनौती र कठोर भूमिगत जीवनका ओकाली ओराली यसमा समेटिएका छन् । राज्यद्वारा आतङ्ककारी घोषणा गरी टाउकोको मूल्य तोकिएर ‘रेड कर्नर नोटिस’ समेत जारी गरिएका तत्कालीन माओवादी नेताहरू रोल्पा रुकुमका गाउँ बस्तीमा कसरी बस्नुभएको थियो र त्यसको सुरक्षा प्रबन्धको कसरी मिलाइएको थियो भन्ने पुस्तकमा उल्लेख छ । अध्यक्ष प्रचण्ड त्यस गाउँमा रहेको सूचना चुहिएपछि सुरक्षा फौजले प्रचण्ड बसेकै घरमा हेलिकोप्टरबाट बमवारी ग¥यो तर त्यसअघि पुनले अध्यक्ष प्रचण्डलाई सुरक्षित नजिकैको अर्को सेल्टरमा सारिसक्नुभएको थियो । यदि अध्यक्ष प्रचण्ड त्यही घरमा बसिरहेको भए जनयुद्ध फरक ढङ्गले अगाडि बढ्न सक्थ्यो भन्ने लेखाजोखा पनि पुस्तकमा गरिएको छ । लेखक स्वयम् र अध्यक्ष प्रचण्डलगायतका नेताहरूको मृत्युसँगको लुकामारी र आङ सिरिङ्ग हुने यस्ता कैयौँ प्रसङ्ग पुस्तकमा वर्णन गरिएका छन् ।
जनयुद्धको सुरुवाती चरणमा भारतमा ‘अर्वान वार फियर’ तालिम लिन गएको प्रसङ्गदेखि आरनमा हतियार बनाउन सुरु गरेको प्रसङ्गले माओवादी विद्रोहको प्रारम्भिक स्थितिलाई उजागर गर्दछ । लेखक पुनले यस पुस्तकमा दसवर्षे जनयुद्धका क्रममा भएका प्रमुख फौजी कारबाही र भिडन्तको विश्लेषणात्मक र विवरणात्मक चित्रण गर्नुभएको छ । छापामार युद्धकला, युद्धमा प्रयुक्त हुने भाषा, हतियार निर्माण र सङ्कलन, फौजी कारबाही उल्लेख हुनुका साथै फौजी कारबाहीले पार्ने राजनीतिक प्रभाव र राजनीतिक निर्णयले फौजी कारबाहीमा पार्ने प्रभावको अन्तर्सम्बन्धको आयामलाई लेख्नुभएको छ ।
तत्कालीन राजाले शासन हातमा लिएपछि दलहरूमा उत्पन्न उकुसमुकुस र माओवादीसँगको बढ्दो संवादको शृङ्खलाका क्रममा भएका सिलिगुडी वार्ता, रोल्पा वार्ता र दिल्ली वार्ताको प्रसङ्गमा पनि पुस्तका छ । दरबार हत्याकाण्डलगत्तै माओवादी नेताबाट अध्यक्ष प्रचण्ड र सिपी गजुरेल, एमालेबाट माधवकुमार नेपाल र युवराज ज्ञवाली र कांग्रेसबाट कृष्णप्रसाद सिटौला र गोविन्दराज जोशी सम्मिलित टोलीबिच भएको वार्तापछि राजनीतिले नयाँ मोड लिएको थियो । तत्कालीन सात दल र माओवादी विद्रोहीबिचको १२ बुँदे समझदारीको पृष्ठभूमि तयार भएपछि तत्कालीन एमाले नेता नेपालसँगको संवाद र त्यसपछि वामदेव गौतमसँग रोल्पामा भएको एमाले माओवादी वार्ता र समझदारीको परिवेश वर्णन गरिएको छ । त्यसलगत्तै कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबिच टेलिफोन वार्ता भएको थियो । वार्ताका लागि कोइरालालाई पनि रोल्पा बोलाइएको थियो तर सुरक्षाको कारण कोइरालाले दिल्लीमा वार्ता गर्ने जिकिर गर्नुभएपछि माओवादी नेताहरू पनि दिल्लीमै पुग्नुभई वार्ता भएको थियो । त्यस व्रmममा भारतका तत्कालीन संस्थापन पक्षको सद्भाव रहेको विषयलाई पनि पुस्तकमा घुमाउरो तवरले खुलाइएको छ ।
दाङको हापुरेमा भएको वार्ताको विफलताले मुलुक ठुलो मानवीय विपत्तिको दुष्चव्रmमा फसेको जिकिर लेखक पुनको छ । २०६० साल असारमा माओवादीका डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरा तथा सरकारी पक्षबाट डा. प्रकाशचन्द्र लोहनी र कमल थापा रहेको वार्ता टोलीबिचको वार्ता भएको थियो तर वार्ता चलिरहेकै बेला सरकारले दोरम्बा घटना गराएर यद्धविराम भङ्ग गरेको आरोप लगाउँदै उहाँले लेख्नुभएको छ, “सरकार र शाही सेना गम्भीर भएर सकारात्मक निकास निकाल्नेतर्फ गएको भए स्थिति अर्कै हुन्थ्यो । त्यसबेलासम्म सात÷आठ हजारको सङ्ख्यामा मात्र दुवैतर्फ मानवीय क्षति भएको थियो । बाँकी थप क्षति हुने थिएन ।”
विस्तृत शान्ति सम्झौतामा सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका र योगदानको विशेष चर्चा पुस्तकमा गरिएको छ तर पहिलो संविधान सभाको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति नबनाउँदा शान्ति प्रक्रिया र सेना समायोजनको काम सहज हुन नसकेको तथा त्यसैका कारण कोइरालाले निर्वाचन सकिएको चार महिनासम्म सत्ता हस्तान्तरण नगरेको प्रसङ्ग लेखक पुनले पुस्तकमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएको भए शान्ति प्रव्रिmया छिटो सकिन्थ्यो होला । संविधान पनि चाँडै बन्थ्यो होला । सेना समायोजन पनि राम्रै ढङ्गले हुन्थ्यो होला ।” तर त्यसबेला माओवादीले कोइरालालाई राष्ट्रपतिमा अगाडि सार्दा राष्ट्रिय अन्तर्राष्ट्रिय सबै शक्ति केन्द्र कोइरालामै केन्द्रित हुने र आफूहरू ओझेलमा पर्न सक्ने आकलन गरेको लेखक पुनको बुझाइ छ ।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटुवालमाथि गरेको कारबाही र कुलबहादुर खड्कालाई नयाँ प्रधानसेनापतिका रूपमा गरिएको नियुक्ति किन र कसरी कार्यान्वयन हुन सकेन भन्ने घटनाको सिलसिलेवार नालीबेली पुस्तकमा समाविष्ट छ । त्यस बखत माओवादीबाट तीन वटा महìवपूर्ण गल्ती भएको पुनले स्वीकार गर्नुभएको छ । पहिलो गिरिजाप्रसादलाई राष्ट्रपति नबनाउनु, दोस्रो उपराष्ट्रपतिमा उपेन्द्र यादवका प्रस्तावित उम्मेदवार स्वीकार नगर्नु र तेस्रो कटुवाललाई कारबाही ठिक समयमा नगर्नु । गणतन्त्र प्राप्तिको सङ्घर्षमा उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को पुस्तक उहाँको सनसनीपूर्ण जीवनयात्रा मात्र होइन नेपालको शान्ति प्रव्रिmया र गणतान्त्रिक आन्दोलनलाई नियाल्न एउटा ऐतिहासिक दस्ताबेजको रूपमा रहेको छ ।