रम्भा गाउँपालिका पाल्पाका १० पालिकामध्येको सानो हो । भौगोलिक रूपमा यो गाउँपालिका ९४ वर्गमिटर क्षेत्रफलमा मात्रै फैलिएको छ । उत्तरतर्फ कालीगण्डकी नदीले छोएको यो गाउँपालिकाका पाँच वडामा २५ हजारभन्दा बढी जनसङ्ख्याको बसोबास छ । स्थानीय तह बनेपछि विसं २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनबाट दुई पटक नेकपा (एमाले) बाट अध्यक्षको उम्मेदवार बन्नुभएका विष्णुप्रसाद भण्डारी निर्वाचित हुनुभयो । उहाँसँग पालिकामा भएका विकास निर्माणबारे गोरखापत्रका तानसेन समाचारदाता रेखीराम रानाले गर्नुभएको कुराकानी :
तपाईंले गर्नुभएका उल्लेखनीय काम के के छन् ?
म पहिलो पटक २०७४ सालमा र दोस्रो पटक २०७९ सालमा रम्भावासी नागरिकबाट अनुमोदित भएँ । निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धतालाई पूरा गर्ने गरी हामी अगाडि बढेका छौँ । पहिलो कार्यकालमा हामीले शिक्षा र स्वास्थ्यलाई सबैभन्दा बढी प्राथमिकता दिएर काम गरेका थियौँ । स्वास्थ्यमा अन्दाजको भरमा औषधी खाने परिपाटीलाई अन्त्य गरेका छौँ । पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क ल्याबको सुविधा दिएका छौँ । यसबाट स्वास्थ्य जाँचपछि मात्रै औषधी खाने परिपाटीको विकास भएको छ । हामीले शिक्षामा भित्र्याउने, टिकाउने र सिकाउने काम सुरु गरेका छौँ । २०७४ सालदेखि नै हामीले बाल कक्षादेखि कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था गरेका छौँ । यस वर्षदेखि कक्षा ६, ७, ८ र ९ मा पनि दिवा खाजाको व्यवस्था गरेका छौँ ।
रम्भाका सबै विद्यार्थीको दुर्घटना बिमा गरेका छौँ, शिक्षकमा पनि यो कार्यक्रम विस्तार गरिएको छ । विद्यार्थीलाई श्रमप्रति आस्था जगाउन विद्यार्थीसँग करेसाबारी कार्यक्रम लागु गरेका छौँ । प्रविधि र संस्कारसहितको शिक्षामा जोड दिँदै आधुनिक गुरुकुल सञ्चालन गरेका छौँ । त्यहाँ ४० भन्दा बढी विद्यार्थी छात्रावासमा बसेर अध्ययन गरिरहेका छन् । यसलाई हामीले प्रमुख उपलब्धिका रूपमा लिएका छौँ ।
भौतिक पूर्वाधारतर्फ पालिकाले के काम गरिरहेको छ ?
पालिकाको केन्द्र र वडाबिचको सडक सञ्जाल विस्तार गर्ने योजना थियो । पहिलो कार्यकालमा प्रत्येक, टोल, गाउँबस्तीबाट पालिका र ठुला राजमार्गसम्म आउने जाने पहुँचमार्गलाई खोल्ने काम ग¥यौँ । पहिलो कार्यकालमा दुई सय किलोमिटर सडक निर्माण ग¥यौँ र दोस्रो कार्यकालको पहिलो वर्ष ३० किलोमिटर कच्ची सडक बनाएका छौँ । अब पहिला विस्तार गरिएका ती सबै सडकमा बाह्रै महिना यातायात चल्ने गरी स्तरोन्नति गर्ने चरणमा छौँ । खानेपानीमा ‘एक घर एक धारा’ को नारालाई साकार पार्न हामी अगाडि बढेका छौँ । पहिलो कार्यकालमा ७० प्रतिशत उपभोक्ताको घर घरमा खानेपानीको व्यवस्था पुगेको थियो । दोस्रो कार्यकालको पहिलो वर्ष थप १० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको व्यवस्था गरेका छौँ । अब एक/दुई वर्षभित्र रम्भाका सबै घरधुरीमा स्वच्छ खानेपानीको व्यवस्था हुन्छ । यस्तै रम्भाका विपन्न बोटे र माझी समुदायका लागि ३६ वटा घर प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरेका छौँ । विद्यालय, सामुदायिक भवन, कृषि उपजका पूर्वाधार, स्वास्थ्य चौकीका भवन पनि स्तरोन्नति गरेर अघि बढ्ने काम भएको छ ।
रोजगारीको अवसर सिर्जना गर्न तथा विकास निर्माणमा के के काम भए ?
पालिकाभित्रका युवा तथा महिलालाई विभिन्न खालका सिप विकाससम्बन्धी तालिम दिएका छौँ । विदेशबाट फर्किएका युवालाई स्वदेशमै आफ्नो श्रम र सिप प्रयोगमा ल्याऊन् भन्नका लागि तालिम र अनुदानको व्यवस्था गरेका छौँ । पालिकाले तालिम दिएपछि कतिपय युवाले अहिले स्वदेशमै मासिक ५०/६० हजारसम्म आम्दानी गर्न सफल भएका छन् ।
त्यो हाम्रा लागि खुसी र उपलब्धिको कुरा हो । यहाँका कृषि सहकारीसँग सहकार्य गरेर व्यवसायीलाई सहुलियतमा ऋणको व्यवस्था गरेका छौँ । कृषिकर्ममा लागेका व्यावसायिक किसानलाई तालिम, उनीहरूको खेतबारीमै प्राविधिकको व्यवस्था गरेर अघि बढेका छौँ । यस्तै दुध, मासु, तरकारीमा उत्पादनको आधारमा अनुदानको व्यवस्था गरेर उत्पादन बढाउनमा प्रोत्साहन गरिरहेका छौँ । साना तथा घरेलु उद्योग स्थापना गर्न लामो अवधिको तालिम र उनीहरूलाई औजार तथा उपकरण सहयोग गरेर पालिका अगाडि बढेको छ ।
जनताको गुनासो कसरी सम्बोधन गर्नुभएको छ ?
हामीले चुनावका बेलामै नागरिकले सहज र बिनाझन्झट दैनिक सेवा पाउनु पर्छ भनेका थियौँ, यसलाई मूर्त रूप दिन म आफैँ पालिकाको संयन्त्र रहेका स्थानमा पुगेर सोधपुछ गर्ने गरेको छु । कतिपय बेला म आफैँ जनताका माझमा पुगेर गुनासो सुन्ने गरेको छु् । सामान्य नागरिकले पनि सहज रूपमा समयमै सेवा पाउनु पर्छ भन्ने मान्यताका साथ हामीले मातहतका कर्मचारीलाई निर्देशन गरेका छौँ । निर्देशन कार्यान्वयन भएको छ कि छैन भनेर वडा तहमै पुगेर प्रत्यक्ष अवलोकन गरिएको छ ।
त्यसकारण नागरिकको सेवाप्रति खासै गुनासो आएको जस्तो मलाई लाग्दैन । कर्मचारीको सेवा प्रवाहको विषयमा गुनासो केही भएको भए, प्रमुख प्रशासकीय अधिकृतसँग बसेर समस्या समाधान गरेका छौँ । पालिकाको सेवाबारे सुसूचित गर्न आवश्यक काम गरिएको छ । कानुनी जटिलताका कारण सेवा प्रवाहमा समस्या भए त्यसलाई पनि कानुन परिमार्जन गरेर समाधान खोजेका छौँ । हामीले गरेको कामलाई पारदर्शी बनाउन चौमासिक आम्दानी तथा खर्च सार्वजनिक गर्ने, सञ्चार माध्यमसँग सहकार्य गरेर अघि बढ्ने गरिएको छ ।
रम्भा गाउँपालिकालाई कस्तो बनाउने सङ्कल्प छ ?
‘समृद्ध रम्भा, सुखी रम्भावासी’ यो नारालाई साकार बनाउन हामीले दिनरात मेहनत गरिरहेका छौँ । मुख्यतः यहाँका नागरिकको आर्थिक अवस्थालाई बलियो बनाएर मात्र हामीले सोचेको सपना साकार हुन्छ भन्ने लाग्छ । त्यसका लागि विभिन्न कोणबाट हामीले प्रयास गरिरहेका छौँ । मासु, दुध, तरकारीमा आत्मनिर्भर छौँ । अब त्यसलाई व्यावसायिक बनाउँदै नागरिकले उच्च आम्दानी गर्ने गरी हामी लागेका छौँ ।
पर्यटनको विकासमा हामीले केही कामको थालनी गरेका छौँ । कृषि, पशुपालनलाई यहाँका नागरिकले आम्दानी गर्ने आधार बनाएर उनीहरूलाई व्यावसायिक बनाउन लागेका छौँ । प्रत्येक व्यक्तिलाई स्वावलम्बी बनाएर मात्र समृद्धि हासिल गर्न सकिन्छ भन्ने लाग्छ । हाम्रा पूर्वाधारलाई थप व्यवस्थित र दिगो बनाउँदा मात्र वास्तविक विकास हुन्छ ।