• १२ साउन २०८१, शनिबार

उद्योगीहरु भन्सार छलेर चामल भित्र्याउन सक्रिय

blog

भारतबाट अवैध रुपमा आयात गरेर ल्याएपछि प्रहरीले बरामद गेको चामल । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २४ गते । सीमापारी भारतबाट विभिन्न सामानहरु भन्सार राजस्व छलेर नेपाल भित्र्याइ तस्करी हुँदै आए पनि हाल बाँकेका चामल उद्योगीहरु समेत राजस्व छलेर भारतबाट चामल भित्र्याउन सक्रिय रहेको पाइएको छ । 

भन्सार राजस्व छलेर चोरीछिपि ठुलो परिमाणमा चामल नेपालगन्ज भित्र्याएर बिक्री गर्नेगरेको सूचनाको आधारमा नेपालगन्ज वडा १ मा रहेका चामल उद्योगमा प्रहरीले छापा मार्दा त्यहाँबाट २०८ बोरा अवैध चामल बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिनुभएको जानकारीअनुसार भारतबाट नेपालतर्फ भन्सार छली चोरीपैठारी गरी ल्याएका चामल लुकाइछिपाइ पल्टि गरिरहेको सूचनाको आधारमा खानतलासी गर्दा तीन वटा चामल उद्योगबाट २०८ बोरा अवैध चामल बरामद गरिएको बताउनुभयो ।  

डिएसपी डाँगीले नेपालगन्ज –१ मा सुनिल गुप्ताले सञ्चालन गरेको लता आधुनिक चामल उधोगबाट १३६ बोरा, सोही वडामा मंगलप्रसाद वैश्यले सञ्चालन गरेको शिवम ट्रेडर्सबाट २८ बोरा र सोही वडामा वारिस गुप्ताले सञ्चालन गरेको न्युराज ट्रेडिङबाट ४४ बोरा भन्सार राजस्व छलेर ल्याइएका अवैध चामल बरामद गरिएको बताउनुभयो । 

ती चामल उद्योग र पसलले अवैध रुपमा चामल भित्र्याएर बोरा परिवर्तन गरी आफ्नो उद्योगको नामको बोरामा भरेर बिक्री गर्दैआएको खुलेको बताउनुभयो । 

प्रहरीले बरामद गरेको चामलको मुल्य तीन लाख ५३ हजार ६०० रुपियाँ रहेको जनाउँदै डिएसपी डाँगीले थप कारवाहीका लागि चामललाई नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बताउनुभयो ।