• १२ साउन २०८१, शनिबार

अभियानले आशाको सञ्चार गरेको छ : महासचिव गुरुङ

blog

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका महासचिव देव गुरुङ । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर २३ गते । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको बताउनुभएको छ ।

रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा जानुभएका महासचिव गुरुङले काठमाडौं फर्किनुअघि माओवादी केन्द्र बाँकेले नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा सो कुरा बताउनुभएको हो । 

उहाँले जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको जनाउँदै त्यसबाट कार्यकर्तामा पनि नयाँ जोश र जाँगर उत्पन्न भएको बताउनुभयो । 

यो अभियानले पूर्वदेखि पश्चिमसम्म माओवादी पार्टीलाई शसक्त र बलियो बनाउन सफल भएको जनाउँदै उहाँले अधिकांश जनता र कार्यकर्ताको माग कम्युनिष्ट पार्टीवीच एकता भइ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने रहेको महासचिव गुरुङले बताउनुभयो । 

उहाँले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको अभियान अगाडि बढिसकेको बताउनुभयो । 

महासचिव गुरुङले भन्नुभयो, ‘हजारौंको बलिदानपछि प्राप्त गणतन्त्रविरुद्ध षडयन्त्र सुरु भएको छ, ती सबै षडयन्त्रलाई चिर्न अहिले सबै कम्युनिष्टबीच एकताको विकल्प छैन ।’

उहाँले माओवादी केन्द्रका अध्यक्षको नेतृत्वको सरकारले यस पटक गरेका धेरै राम्रा कामबाट प्रतिगामीहरु आत्तिएको बताउनुभयो । वर्तमान गठबन्धन सरकारले जनताको हितमा निरन्तर काम गरिरहेकाले गठबन्धन झन बलियो हुँदैगएको महासचिवको भनाइ छ । 

सो अवसरमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलबहादुर केसीले रुपान्तरण अभियानको समिक्षात्मक धारणा राख्नुभयो । बाँकेका पाँच वटा पालिकाका पार्टीका अध्यक्षले रुपान्तरण अभियानको रिपोर्टिङ गर्नुभयो ।  

कार्यक्रममा जनप्रतिनिधिको तर्फबाट नेपालगञ्ज ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, मुस्लिमको तर्फबाट कश्मिरा खातुन, महिलाको तर्फबाट मन्जु रोकाया, व्यवसायीको तर्फबाट बसन्त लामिछाने र मधेशीको तर्फबाट रक्षाराम बर्माले आफ्नो भनाइ राख्नुभयो ।