• १२ साउन २०८१, शनिबार

मुलुकको अर्थतन्त्र सुधारको बाटोमा छ : मन्त्री बस्नेत

blog

समाजवादी मोर्चा म्याग्दीले आयोजना गरेको सन्देशसभामा मन्त्री शक्तिबहादुर बस्नेत । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर २३ गते । उर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउनुभएको छ । सरकारको इमान्दार प्रयासका कारण मुलुकको आर्थिक अवस्था पुनः लयमा फर्किन थालेको उहाँले दावी गर्नुभयो ।  

समाजवादी मोर्चा म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको सन्देश सभामा मन्त्री बस्नेतले भन्नुभयो, ‘‘आर्थिक संकटबाट गुज्रिएको मुलुकलाई सुधारको बाटोतर्फ लैजान निकै चुनौती थियो । सरकारको इमान्दारिता र प्रतिबद्धताका कारण आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको छ ।’’ 

विनासकारी भूकम्प, संविधान निर्माणलगत्तै नाकाबन्दीको सामाना, कोभिड महामारी, विश्व राजनीतिक अवस्था र प्राकृतिक विपत्तिलगायत विविध कारणले मुलुकको आर्थिक अवस्था निकै असहज थियो उहाँले भन्नुभयो, ‘‘सरकार गठन भएपश्चात विकास निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रणका पक्षमा भएका इमान्दार प्रयासले अर्थतन्त्रले सुधारको बाटो समातेको छ ।’’  

‘गत वर्षमात्र १० अर्बको विद्युत बिक्री गरेका थियौं र २० अर्बको खरिद गरेका थियौं । यो वर्ष हामीले १८ अर्बको विद्युत बिक्री गर्दैछौं । १० देखि १२ अर्बको मात्र विद्युत खरिद गर्दैछौ, उहाँले भन्नुभयो, ‘आगमी दुई वर्षभित्र नेपालले विद्युत किन्दैन बिक्री मात्र गर्दछ । नेपालले आफूलाई पुग्ने विद्युतको ग्यारेन्टी गर्दछ र बाँकी विद्युत बिक्री गर्छ ।’’ 

यो अर्थतन्त्रको सुधारको एउटा अवस्था भएको उहाँले बताउनुभयो । संघीयतालाई प्रभावकारी बनाउन सरकारले इमान्दारपूर्वक काम गरेको मन्त्री बस्नेतको भनाइ छ ।