• २१ असार २०८१, शुक्रबार

राज्यमन्त्री ठकुरीद्वारा दरबार सङ्ग्रहालयको अवलोकन

blog

दरबार सङ्ग्रहालयभित्रको सामग्री अवलोकन गर्नुहुँदै राज्यमन्त्री ठकुरी । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन् राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । 

आइतबार पाल्पा आउने क्रममा उहाँले प्रदेशस्तरीय पाल्पा दरबार सङ्ग्रहालयको अवलोकन गर्नुभएको हो । दरबारभित्र रहेका विभिन्न जातजातिको ऐतिहासिक कला, संस्कृति तथा दैनिक जीवनयापनमा प्रयोग भएको वस्तुको उहाँले अवलोकन गर्नुभयो । सङ्ग्रहालयभित्र मगर, थारु, खसआर्य जातजातिको ऐतिहासिक संस्कृति झल्काउने वस्तुहरू राखिएको छ । 

यस्तै, पाल्पासहित प्रदेशका विभिन्न स्थलको सामग्री, नेपाल–अङ्ग्रेज युद्धमा प्रयोग भएका ऐतिहासिक सामग्रीहरू, नेपाली सेनाले प्रयोग गरेका ऐतिहासिक सामग्रीको समेत राज्यमन्त्री ठकुरीले अवलोकन गर्नुभयो । 

उहाँले सङ्ग्रहालयको अवलोकनपछि सङ्ग्रहालय ऐतिहासिक रहेको प्रतिक्रिया दिनुभयो । दरबार सङ्ग्रहालयले नेपाली र विदेशी पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । 

सङ्ग्रहालय प्रदेश सरकार मातहत भए पनि यसको विकास तथा नियमित सञ्चालनमा सङ्घीय सरकारले आवश्यक सहयोग र समन्वय गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।