• १३ साउन २०८१, आइतबार

लप्सीफेदी सबस्टेसन निर्माणमा अवरोध प्रयास

blog

काठमाडौँ, मङ्सिर ३ गते । स्थानीयको अवरोधका कारण लामो समयदेखि निर्माण अवरुद्ध हुँदै आएको लप्सीफेदी सबस्टेसन निर्माणका स्थानीयले पुनः अवरोध सिर्जना गरेका छन् । आवश्यक सुरक्षा प्रबन्धका लागि सरकारले सुरक्षा पोस्ट स्थापना गर्ने क्रममा आक्रमणसमेत गरेका छन् । 

जिल्ला सुरक्षा समिति, काठमाडौँको निर्णयबाट त्यहाँ निर्माण हुने विद्युत् सबस्टेसन र त्यस क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोस्ट राख्ने निर्णय गरेको थियो । 

सोही निर्णयका आधारमा शुक्रबार बेस क्याम्प स्थापना गर्न जाँदा त्यस क्षेत्रका केही स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए । त्यस क्रममा केही प्रहरी घाइते भएका थिए । प्रहरीले आक्रमणमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले शङ्खरापुर नगरपालिका–३ स्थित बोझेनीमातामा कोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यका ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।

सबस्टेसन निर्माणका लागि आवश्यक सबस्टेसनका लागि ५० जना जग्गाधनीको करिब एक सय ७४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । २०७४ माघमै राजीखुसीमै मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । जग्गाधनीले मुआब्जा तथा क्षतिपूर्ति रकम राजीखुसीले बुझिसकेका छन् । मुआब्जा तथा क्षतिपूर्तिबापत करिब ५० करोड रुपियाँ वितरण गरिएको छ । 

राष्ट्रिय सीमान्तीकरणविरुद्ध अभियान (समान, नेपाल) को उक्साहटमा प्रभावित जग्गाधनीहरू भन्दा पनि असम्बन्धित व्यक्तिले विगत तीन वर्षबाट सबस्टेसन निर्माणमा अवरोध गरिरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्राधिकरणले पटक पटक छलफल गरे पनि कुनै सहमति भएको छैन । 

मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग राख्दै समान, नेपालको ब्यानरमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीयका जायज मागलाई पूरा गरिएको तर केही गैरसरकारी संस्था र असम्बन्धित व्यक्तिको उक्साहटका कारण सबस्टेसन निर्माणमा अवरोध भइरहेको बताउनुभयो । सबस्टेसन निर्माणमा त्यहाँका स्थानीयले भने सहयोग गरिरहेको घिसिङले बताउनुभयो । 

उहाँले लप्सीफेदीसम्म विद्युत् ल्याउन प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको र यदी सबस्टेसन निर्माण गर्न नसकिएमा उक्त विद्युत् प्रवाह गर्न नसकी काठमाडौँ उपत्यकामा लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो । 

सबस्टेसन रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ । नयाँखिम्ती–बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा छ । लम्सीफेदी सबस्टेसनबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् । चाँगुनारायण १३२ केभी सबस्टेसन सम्पन्न हुने चरणमा छ । 

प्राधिकरणले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरिएको र उपलब्ध विकल्पमध्ये हाल छनोट गरिएको स्थान नै सबैभन्दा उत्तम रहेकाले सबस्टेसन अन्यत्र सार्न नसकिने प्रस्ट पार्दै आएको छ । जग्गाधनीले छिटो मुआब्जा चाहियो भन्दै राजीखुसीले रकम बुझेका थिए ।  

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैङ्क (एडिबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’ मार्फत प्रवाह भएको सहुलियतपूर्ण ऋण सबस्टेसन तथा प्रसारण लाइन निर्माण भइरहेको हो ।