• ८ मंसिर २०८१, शनिबार

केटिचौर र लामडाँडामा कलाकारको लाइभ कन्सर्ट

blog

लाइभ नन्कसर्टमा सहभागी कलाकारहरु ।

अर्जुन काफ्ले

स्याङ्जा, कात्तिक २६ गते । अर्जुन चौपारी गाउँपालिका-१ को केटिचौर र वडा २ लामडाँडामा विदेशी कलाकारले लाइभ कन्सर्टमार्फत स्थानीयलाई मनोरञ्जन दिएका छन् ।  

पर्यटन तथा संस्कृतिको विकास गर्ने उद्देश्यले हेपी भिलेज ओरचेस्ट्रासँग समन्वय गर्दै गाउँपालिकाले शुक्रबार राति केटिचौर र शनिबार राति लामडाँडामा लाइभ कन्सर्ट तथा सांस्कृतिक कार्यक्रम गरेको हो । 

पञ्चकन्या मन्दिर रहेको केटिचौरलाई नयाँ धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रयास गरिएको छ भने लामाचौर अर्जुनचौपारी गाउँपालिकाको एक मात्र सामुदायिक होमस्टे हो । 

पोल्याण्डका इजा लामिक, इगोर स्पोलक्सीसहित चार, भारतीय प्रज्वलन शाक्य र नेपाली धिरज गुरुङ, फिलीप तामाङसहितको ११ जनाको कलाकारले दुवै स्थानमा सांंगितिक प्रस्तुति प्रस्तुत गर्नुभयो ।  

विदेशी तथा नेपाली कलाकारले केटिचौर तथा लामडाँडामा रेशम फिरीरी..., गरिबको चमेली.., आमाले भन्छिन् .., लगायतका नेपाली र अङ्ग्रेजी गीत प्रस्तुत गर्नुभएको थियो । 

विदेशी कलाकारले नेपाली गीत गाउँदा उपस्थित युवादेखि वृद्ध वृद्धाले कम्मर मच्चाइ नाचेका थिए । लाइभ कार्यक्रममा गाउँमा स्थानीय नाच्दा विदेशी कलाकारले समेत होस्टेमा हैँसे गरेका थिए । 

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिका मात्र नभई जिल्लामा पहिलो पटक विदेशी कलाकारसहितको सांस्कृतिक कार्यक्रम पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको बताउनुभयो । 

कार्यक्रममा स्थानीय विद्यालयले समेत आफ्नो प्रस्तुति प्रस्तुत गर्दा विदेशी कलाकार नाचेर मनोरञ्जन लिएका थिए । दुई दिन चलेको सांस्कृतिक कार्यक्रममा अर्जुनचौपारी, भिरकोट, पुतलीबजार र पर्वतका करिब पाँच हजार दर्शकले मनोरञ्जन लिएको तिवारीले बताउनुभयो ।