छविलाल पाण्डे
बुटवल, कात्तिक २६ गते । बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा शनिबार साँझदेखि तीनदिने दीपावली महोत्सव २०८० सुरु भएको हो ।
बुटवलको खस्किँदै गएको बजारमा चहलपहल बढाउन तीनदिने दीपावली महोत्सव आयोजना गरिएको महोत्सव आयोजक बुटवल उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
महोत्सवको शनिवार साँझ शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकास सबैको साझा विषय रहेको बताउँदै नगरपालिकाले सबैसँग सहकार्य गर्ने बताउनुभयो ।
उहाँले हिजो चलनचल्तीमा हुँदैआएको व्यापार व्यवसायलाई आधुनिक परिवेशअनुसार परिमार्जित गरेर अगाडि बढ्न सुझाव दिनुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको खस्किँदो व्यापारलाई उठाउन बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा दीपावली महोत्सव आयोजना गरिएको र यसमा सहयोग गर्न आग्रह गर्दै सहभागिताको लागि पनि अनुरोध गर्नुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दीपावली महोत्सव मात्रै नभएर देउसीभैलोलगायतका सांस्कृतिक कार्यक्रमलाई मौलिक बनाउन र भड्किलो नगराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्ष जीवनप्रसाद झा, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, रुपन्देही व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष डिल्ली भण्डारी, अमरपथ टोल विकास संस्थाका अध्यक्ष रामबहादुर रणपाललगायतले शुभकामना मन्तव्य राख्नुभयो ।
तीन दिनसम्म सञ्चालन गरिने दीपावली महोत्सव अवधिभर विशेष छुटमा सामानको विक्री वितरण, नेपाली मौलिक तथा सांस्कृतिक खानाका परिकार र विविध सांस्कृतिक प्रस्तुति रहने मेला महोत्सवका संयोजक तथा बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेले जानकारी गराउनुभयो ।
बुटवल उद्योग वाणिज्य सङ्घले पहिलो पटक सञ्चालन गरेको दीपावली महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाइन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन गरिएको छ ।
बुटवलको खस्किँदो व्यापारलाई प्रवर्धन गर्न र आर्थिक गतिबिधिलाई थप चलायमान गराउन दीपावली महोत्सव गरिएको सङ्घका महासचिव मुक्ति अधिकारीले बताउनुभयो ।