• १० पुस २०८१, बुधबार

विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता देखिएन : अध्यक्ष तिमिल्सिना

blog

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता नदेखिएको बताउनुभएको छ । आज एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले गम्भीरता नदेखाएका बताउनुभएको हो । 

उहाँले मन्त्रीहरुले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताउनुभयो । त्यस्तै संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अनुपस्थित हुनेगरेको भन्दै उहाँले यसबाट मन्त्रीहरुमा विधेयकप्रति कुनै गम्भीरता नभएको स्पष्ट हुने बताउनुभयो । संसदमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अन्य काममा हिँड्नेगरेको उहाँले बताउनुभयो । मन्त्रीहरुले आफ्नो विधेयक कहाँ पुग्यो भनेर सोधखोज समेत नगर्ने गरेको उहाँको भनाइ छ ।

अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि विधेयकको मस्यौदा बनाउँदादेखि नै ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विधेयकको मस्यौदा गर्दा सम्बन्धित विषयको गाम्भीर्यता, दूरगामी प्रभाव तथा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो हितलाई मात्रै केन्द्रबिन्दुमा राखेर विधेयक निर्माण गर्न नहुने भन्दै त्यसो गरिएमा विधेयकमा गुणस्तरीयता नआउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विधेयकहरु कति गुणस्तरीय आयो, आएनन् फरक–फरक कुरा हुन सक्छ विधेयकहरुको । विधेयक ड्राफ्ट गर्ने ठाउँबाट नै ध्यान दिने कुरा हो । जुन मन्त्रालय अन्तर्गत त्यो विधेयक तयार हुन्छ । त्यहाँ त्यसको गम्भीरता, त्यसको दूरगामी प्रभाव, त्यसले राष्ट्र र जनताको लागि हुने हित, फाइदा के हो ? सुशासन र न्यायको निम्ति कस्तो प्रत्याभूति गर्छ ? यी सबै कुरामा ध्यान दिनुपर्छ ।’

उहाँले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद, सांसदहरु र मतदाताहरु समेतको भूमिका भएको भन्दै सबैले आ–आफ्नो भूमिका राम्रो बनाउनुपर्नेमा जोड दिनुभयो ।