गजेन्द्र गुरुङ
खजुरा, कार्तिक २५ गते। कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालले सामाजिक सुरक्षा र सचेतनाका लागि निर्माण गरेको सन्देशमूलक देउसी भैलो गीतको म्युजिक भिडिओ सार्वजनिक गरेको छ।
तिहार नजिकिँदै गर्दा विषेशगरी नेपाली लोकसंस्कृति र परम्परालाई जोड्दै वर्तमान अवस्थाको परिवर्तनको विषयलाई समेटेर तयार पारिएको गीतको म्युजिक भिडिओ शुक्रबार सार्वजनिक गरिएको क्लबका अध्यक्ष रमेश वरले जानकारी दिनुभयो। बाँकेको कोहलपुर क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जिल्लाभित्र भइरहेका विभिन्न क्रियाकलापलाई गीतमा समेटिएको उहाँले बताउनुभयो।
गीतको भिडिओमा जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख, कोहलपुर नगरपालिकाका प्रमुख र उपप्रमुखलगायत विभिन्न सामाजिक अभियन्ता, विभिन्न राजनीतिक दलका नेताहरु, सुरक्षाकर्मी र क्लबका अन्य सदस्यको अभिनय रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुर नगर प्रहरी तथा ईलाका प्रहरी कार्यालय कोहलपुरको समन्वय र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा गीत निर्माण भएको हो।
उक्त गीतको शब्द सिर्जना क्लबका अध्यक्ष रमेश वरले गर्नुभएको छ भने गीतमा सङ्गीत संयोजन गणेश बिक (गजल)को रहेको छ। बलु तामाङ र शान्ति सुनारको आवाज रहेको गीतको गणेश विष्टले निर्देशन गर्नुभएको हो। गीतको छायांकन कोहलपुरका विभिन्न ठाउँमा गरिएको हो। नन्दकला आचार्य र सुन्दर तिवारी विषेश सल्लाहकार रहनुभएको उक्त गीत तानसेन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको र म्युजिक भिडिओ ओएसआर डिजिटल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो।