• १ जेठ २०८२, बिहिबार

तेह्र दिनमा ३ करोड बक्यौता रकम सङ्कलन

blog

विद्युत महसुल बुझाउन नेपालगञ्ज वितरण केन्द्रमा आएका सेवाग्राही ।

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २५ गते । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा १२ दिनको अवधिमा १७ सयभन्दा बढी सेवाग्राहीबाट झण्डै तीन करोड बाँकी बक्यौता रकम असुल भएको छ ।

कात्तिक १२ गतेदेखि २४ गतेसम्मको तेह्र दिनको समय अवधिमा १ हजार ७ सय ७१ जना सेवाग्राहीबाट २ करोड ९८ लाख ८ हजार रुपियाँ बक्यौता रकम उठेको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख ई.हरिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाका १० विद्युत् वितरण केन्द्रबाट तेह्र दिनको अवधिमा ४ करोड १६ हजार रुपियाँ विद्युत्  महसुलबापतको बाँकी बक्यौता रकम नतिर्ने ४ हजार २ सय २६ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो ।  

लाइन काटिएपछि सो समय अविधिमा १ हजार ७ सय ७१ जना सेवाग्राहीले नियमानुसार पुनः लाइन जाडेको र पुनः लाइन जोड्ने क्रममा २ करोड ९८ लाख ८ हजार रुपियाँ विद्युतको बाँकी बक्यौता रकम सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी यो आर्थिक वर्षको साउन १ गतेदेखि कात्तिक २४ गतेसम्मको समय अवधिमा लुम्बिनी प्रदेशका ६ जिल्लाका ६ हजार ७३ जना सेवाग्राहीको लाइन काटिएको लुम्बिनी प्रदेश डिभिजन कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार १३ करोड २५ लाख १२ हजार रुपियाँ विद्युत् महसुल तिर्न बाँकी रहेका ६ हजार ७३ जना सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये २३ गतेसम्म ३ हजार ४ सय १७ जनाले पुनः लाइन जोडेको र उनीहरुबाट ६ करोड १० लाख ३६ हजार रुपियाँ बाँकी बक्यौता रकम सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।

नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व गरी ६ वटा जिल्लाका नेपालगञ्ज वितरण केन्द्र, गुलरीया वितरण केन्द्र, घोराही वितरण केन्द्र, कोहलपुर वितरण केन्द्र, राजापुर वितरण केन्द्र, लमही वितरण केन्द्र, तुलसीपुर वितरण केन्द्र, प्युठान वितरण केन्द्र, रुकुमपूर्व वितरण केन्द्र, रोल्पा वितरण वितरण केन्द्रगरी १० केन्द्रबाट आफ्नो सेवा प्रवाह गर्दैआएको छ ।

विद्युत महसुल बुझाउन बाँकी भई लाइन काटिएका सेवाग्राहीले बक्यौता रकम तिर्न आज शनिबार पनि काउन्टर खुला राखिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिनुभयो । लाइन काट्ने अभियान तिहारभरिका लागि स्थगित गरिएको र तिहारलगत्तै नियमित प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो । 

“तिहार सुरु भएको छ, कतिपय पैसा नबुझाएका सेवाग्राहीको लाइन काटिएको छ, तिहारको समयमा पैसा बुझाउन पाइनँ, घर अँध्यारो भयो भन्नेहरुका लागि पैसा बुझाउन सहज होस् भनेर आज शनिबार पनि महसुल काउन्टर खुला राखेका छौं ।” उहाँले भन्नुभयो, “आजबाट लाइन काट्ने कामलाई तिहारभरिका लागि स्थगित गरेका छौं, तिहारपछि लगत्तै नियमित प्रक्रियाअनुसार काम सुरु गर्छौं ।”

नेपाल विद्युत प्राधिकरणले कात्तिक १२ गतेदेखि ६० दिन पुग्दासम्म पनि विद्युत्  महसुल नबुझाएका सेवाग्राहीको लाइन काट्ने अभियान सञ्चालन गरेको छ ।