• २ माघ २०८१, बुधबार

भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या

blog

कर्णाली, कात्तिक २५ गते । भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनुपर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो । 

अत्यधिक बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन् । वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो । 

चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको उहाँले बताउनुभयो । वडाध्यक्ष पन्तका अनुसार लहँमा तुसारो परेको र सिरेठो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ । 

उहाँका अनुसार तीन सय ७५ घरधुरी रहेको वडामा नं ४ मा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ । बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिग्रिँदै जाँदा बिरामीको सङ्ख्या बढ्न थालेको बताउनुभयो । 

दल्ली नगर अस्पतालका डा विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिनुभयो । उहाँले अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक एकसय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । 

भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी सङ्कट बढेको नगरप्रमुख रावतले बताउनुभयो । “स्थानीयहरु नदीको दूषित पानी खान बाध्य छन्”, उहाँले भन्नुभयो, “अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुला स्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलिने खतरा बढेको छ ।”

नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. श्याम विकले भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा चार दिनसम्म बसेर करिब चार सय बिरामीको उपचार गरेर फर्किएको बताउनुभयो । उहाँका अनुसार भूकम्प गएको एक दुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो । नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरुले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरुमा चिसोले असर पार्दै गएको छ । 

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले पीडितका आधारभूत आवश्यकता परिपूर्ति गर्न निरन्तर लागिपरेको बताउनुभयो । “एकैपटक सबै कुरा गर्न गाह्रो छ तथापि प्रतिपरिवार एउटा त्रिपाल र कम्बल दिएका छौँ”, उहाँले भन्नुभयो । एक एक थान त्रिपाल र कम्बलकै साहारामा रात कटाउनुपर्दा सिरेटाे जाडोले ज्येष्ठ नागकि, बालबालिका र सुत्केरीमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको उहाँको भनाइ छ ।