• ८ मंसिर २०८१, शनिबार

डोकेनीको मौलिकता

blog

नेपाल बहुसांस्कृतिक देश हो । यहाँका हरेक जातजाति र समुदायले अँगाल्दै आएका संस्कार–संस्कृतिहरू रोचक छन् । भूगोलका हिसाबले पनि विविधतायुक्त यस देशमा हिमालदेखि पहाड हुँदै तराईसम्म र पूर्वदेखि पश्चिमसम्म हरेक क्षेत्रका संस्कृतिहरू एक–अर्काका लागि नौलो हुन्छ । अझ ती संस्कृतिका मिथक तथा सामाजिक र सांस्कृतिक पृष्ठभूमिहरू रोचक छन् । विभिन्न जातजाति र समुदायका सांस्कृतिक सम्पदाले नेपालको विशेष पहिचान मात्र भएको छैन, पर्यटनमार्फत देशको अर्थतन्त्रमा टेवा पनि पु¥याएको छ । यस्तै सांस्कृतिक सम्पदाहरूमध्ये एक हो ‘डोकेनी नाच’ । याक्खा जातिको मौलिक संस्कृति यो नाच यतिखेर पहिचानको खोजीमा छ ।

डोकेनी नाच याक्खा जातिको मौलिक संस्कृति हो । यो नाच याक्खा समुदायमा परापूर्वकालदेखि प्रचलनमा रही आएको मानिन्छ । बोलीचालीमा ‘डोकेनी नाच’ भनिए पनि याक्खा समुदायले भने यस नाचलाई ‘साङदाङराङमा लाक’ भन्ने गरेका छन् । यो नाच हरेक वर्ष तिहारको लक्ष्मीपूजाको रात घर–घर डुलेर नाच्ने गरिन्छ ।

विभिन्न याक्खा गाउँ र थुमहरुमा डोकेनीको उत्पत्ति वा सुरुआतबारे भिन्न–भिन्न किंवदन्ती/मिथकहरु रहेका छन् । यसमध्ये एउटा किंवदन्ती यस्तो छ– ‘गाउँघरमा तिहारको रौनकले छपक्कै छोपेको थियो । मौसम र परिवेश पनि उल्लासमय बनेको तिहार चाडमा गाउँघरका पुरुषहरू जाँडरक्सी र जुवातासमा रमाउन थाले । युवकयुवती देउसीभैलो खेल्न र नाचगान गर्न हिँडे । घरमा वृद्धवृद्धा र केटाकेटी मात्र बाँकी रहे । वर्ष दिनमा आउने चाडमा आफूहरूमात्र घरधन्दा र काममा जोतिरहनु पर्दा महिलाहरूलाई असह्य भयो । यसपछि उनीहरू सामूहिक विद्रोह गर्ने निधोमा पुगे । विद्रोहको अगुवाई गर्ने महिलाहरूले आफ्नै लोग्नेको लुगा लगाए र  पुरुषको भेष धारण गरे । अनुहारमा मोसो दले । गर्भवती, सुत्केरी र अशक्त महिलाहरूलाई समेत साथमै लिएर हिँडे । गर्भवती श्रीमतीलाई समेत बेवास्ता गर्दै आफूहरूमात्र रमझममा भुलिरहेका पुरुषहरू खोज्दै त्यो महिला समूहले गाउँ–गाउँमा ‘छापा’ मा¥यो । ती विद्रोही महिलाहरू जुवातासको खालसम्म पुगे । तास च्यातिदिए, कौडा फ्याँकिदिए । घरको कामकाज छाडेर जुवातासमा मग्न पुरुषहरूलाई कुट्दै लखेटे । महिलाहरूको त्यो विद्रोहलाई तत्कालीन समाजले पनि मौन सहमति दिएर अनुमोदन ग¥यो । त्यसै विद्रोहको प्रतीकस्वरुप घरपरिवारलाई बिर्सेर जुवातासमा भुल्ने पुरुषहरूलाई चेतावनी दिँदै डोकेनी नाचिएको हो ।’ यस किंवदन्तीले याक्खा समाजमा तिहारको बेला जुवातास खेल्ने चलन  पहिलेदेखि रहेको अनुमान लगाउन सकिन्छ । डोकेनी नाचमा अहिले पनि महिलाको मात्र सहभागिता हुन्छ ।

डोकेनी नाचको उत्पत्तिबारे अर्को किंवदन्ती पनि छ । यो किंवदन्ती पौराणिक समयसँग सम्बन्धित् छ । यो किंवदन्ती गाउँघरमा कम प्रचलति छ । परापूर्वकालमा याक्खा गाउँबस्तीमा ठूलो प्राकृतिक प्रकोप आइलाग्यो । यस्तो विपदको बेला याक्खाहरूले गरेको हारगुहार सुनेर साङदाङराङमा (धनकी देवी) प्रकट भइन् । साङदाङराङमाले राजीराङमा (प्रकृतिकी देवी)लाई पनि बोलाइन् । याक्खाहरू प्रकृतिपूजक भएर पनि वनजङ्गलको संहार गरेको, सामाजिक नियमहरूको परिपालना नगरेका कारण प्राकृतिक प्रकोपमार्फत चेतावनी दिनुपरेको राजीराङमाले बताइन् । यो सुनेपछि साङदाङराङमाले अब उप्रान्त प्रकृतिको संरक्षण गर्ने र सामाजिक विकृतिहरूको अन्त्य गर्ने शर्तमा याक्खाहरूको उद्धार गर्ने बचन दिइन् । तर याक्खाहरूले भने आफूहरूलाई धनसम्पत्ति दिएर उद्धार गर्न आग्रह गरे । यो सुनेपछि राजीराङमा र साङदाङराङमाले सहयोग अभियान सञ्चालन गर्न सुझाव दिए । यसमा याक्खाहरू सहमत त भए तर साङदाङराङमा र राजीराङमा पनि सो अभियानमा सहभागी हुनुपर्ने उनीहरूले अडान राखे ।  याक्खाहरूको यो कुरामा सहमत हुँदा सबैले चिन्ने भएकाले अर्को समस्या उत्पन्न हुने ठानी साङदाङराङमा र राजीराङमा अप्ठ्यारोमा परे । दुवै देवीले सल्लाह गरेर जुक्ति निकाले– साङदाङराङमा डोकोभित्र पसेर नाच्ने र उनीमाथि दुव्र्यवहार नहोस् भनी राजीराङमाले पुरुष भेष धारण गरी सुरक्षार्थ खटिने । यही सल्लाहबमोजिम साङदाङराङमा र राजीराङमालाई साथमा लिएर याक्खाहरूले सहयोग अभियान चलाए । नाच्दै, गाउँदै गाउँ–गाउँ पुगे । यसरी डोकेनी नाचको उत्पत्ति भएको हो । 

डोकेनी नाचको उत्पत्तिको बारेमा यी दुईबाहेक अन्य पनि किंवदन्ती÷मिथकहरू पनि पाइन्छ । किंवदन्ती/मिथकमा विविधता रहेको भए पनि यसको प्रस्तुति लगायतका केही विषयमा भने समानता छ । गाउँपिच्छे प्रचलित डोकेनी नाचसम्बन्धी समग्र कथामा भिन्नता पाइए पनि सार भने सबैतिर समान छ । गर्भवती, जुवातास, महिला विद्रोह डोकेनीको मिथकीय सार हो ।

नाचको तरिका

डोकेनी नाचको मुख्य पात्र डोकोलाई सिँगारेर तयार पारिन्छ । घाँसदाउरा बोक्ने डोकोलाई घोप्ट्याएर त्यसको पिँधमाथि टाउकोको स्वरुप तयार गरिन्छ । तल्लो भागमा छिटको गुन्यू र त्यसमाथि चौबन्दी चोली लगाइदिइन्छ । कम्मरको भागमा पटुकी, आङमा खाँडीको पछ्यौरी ओढाइन्छ । टाउकोको आकृति बनाएर त्यसमा शिरबन्दी र शिरफूल, कानमा ढुङ्ग्री र चेप्टे सुन अनि नाकमा बुलाकी लगाइन्छ । डोकोको अगाडि बिचबाट दुईपट्टि सिन्का छिराएर हात बनाइन्छ । हातमा चुरा र कल्ली लगाइन्छ । यसरी मौलिक याक्खा गहना र पहिरनले चिटिक्क सजाएर डोकेनी तयार पारिन्छ ।

दौरासुरुवाल, इष्टकोट र टोपी लगायतका पुरुष भेषभूषा पहिरिएको अनि अनुहारमा कालो दलेको वा मखुन्डो लगाएको महिला पात्र डोकेनीको सुरक्षामा खटिएको हुन्छ । कसैले जिस्क्याए वा कोही छेउछाउ आए धनुकाँड ताक्दै धपाउँछ । डोकेनीलाई नमस्कार लगायतका विभिन्न हाउभाउ गर्न याक्खा भाषाबाटै अह्राउँछ । ‘मेरो बुढी सुत्केरी हुनेवाला छ, मसला किन्ने पैसा दे’ भन्दै उपस्थित सबैसँग सहयोग माग्छ । पुरुषभेषधारी महिला पात्रको आदेश अनुसार डोकोभित्र रहेको व्यक्तिले सिन्काको हातको सहायताबाट नमस्कार गर्छ । दिइएको पैसा समाउँछ । खेतीपाती गरेको, तान बुनेको लगायतका विभिन्न हाउभाउ पनि देखाउँछ । डोकेनी समूह लक्ष्मी पूजाको साँझ याक्खा बस्तीका घर–घर डुल्छन् । यो समूहलाई देउसी–भैलोको टोलीलाई जस्तै दानदक्षिणा दिने गरिन्छ । 

मौलिक शैली सङ्कटमा

पछिल्लो समयमा याक्खा समुदायको विभिन्न सामाजिक सङ्घसंस्थाहरूले गर्ने डोकेनी नाचको प्रस्तुतिमा एकरूपता छैन जसका कारण यसको मौलिक शैली सङ्कटमा परेको छ । नाच्ने शैलीमा एकरूपता नभएकाले पनि डोकेनी नाचप्रतिको बुझाइमा भिन्नता आउन थालेको छ । डोकेनी कुनै प्रकारको वाद्यवादनविना नै नाचिने नाच हो । डोकोभित्रको मानिस बसेको हुनुपर्छ, उभिने होइन । तर, आजभोलि गीत बजाएर वा केई (ढोल) बजाउँदै उभिएर नाच्ने गरिएको छ जुन मौलिक शैली होइन ।

याक्खा बाहेकका अन्य सङ्घसंस्थाले गर्ने डोकेनीको प्रस्तुति अझ भिन्न छ । एकैसाथ दर्जन हाराहारी डोकेनीलाई सामूहिक रूपमा नचाइन्छ । यस्तो प्रस्तुतिले डोकेनीको पहिचान झनै जोखिममा परेको छ । पुरुष भेषको (ढटुवारे) पात्र पनि साथम अनिवार्य हुनुपर्नेमा डोकेनीमात्र नचाएर पनि कतिपयले यो मौलिक संस्कृतिको हुर्मत लिइरहेका छन् ।

लोप हुने चिन्ता

याक्खा जातिको यो परम्परागत मौलिक संस्कृति ‘डोकेनी नाच’ हराउँदै जान थालेको छ । केही औपचारिक कार्यक्रमहरूमा प्रस्तुत गरिनुबाहेक तिहारमै भने डोकेनी नाचेको बिरलै देख्न पाइन्छ । याक्खाहरूको ऐतिहासिक थुमहरूमध्ये दशमझियामा मात्र यो नाच अस्तित्वमा छ । दशमझियाको पनि केही गाउँमा मात्र डोकेनी नाच्ने प्रचलन कायम छ । बाँकी पाँचमझिया र पाँचखपन थुममा भने डोकेनी नाच्ने प्रचलन हराइसकेको छ । नेपाली समाजको पहिचानसँग जोडिएको यस्तो सांस्कृतिक सम्पदा लोप हुन लाग्नु सबैका लागि चिन्ताको विषय हो । यसमा सम्बन्धित् समुदाय र सरोकार निकायको ध्यान जानु पर्छ । नत्र यो नाच लोप हुने सम्भावना छ ।

मौलिकता खोजिँदै 

शैली र प्रस्तुतिमा समानता नहुँदा याक्खा समुदायको पहिचान झल्काउने डोकेनी नाच आफ्नो असली पहिचानको खोजीमा छ । अर्थात् यसको मौलिकता के हो भन्ने कुरा खट्किएको छ । अब भने डोकेनी नाचको मौलिकता जोगाउन युवा जागरुक बनेका छन् । युवाको अगुवाइमा डोकेनीलाई केन्द्रबिन्दुमा राखेर वृत्तचित्र निर्माण गर्न थालिएको छ । खासमा डोकेनी के हो ? भन्ने विषयमा अन्योल थपिँदै जान थालेपछि यसको निराकरणका लागि अनुसन्धानात्मक वृत्तचित्र निर्माणमा जुटेको वृत्तचित्र निर्माण समूहका व्यवस्थापक अजय जिमीले बताउनुभयो । उहाँका अनुसार कम्तीमा एक वर्षभित्र वृत्तचित्र निर्माण कार्य सकिने र यसपछि डोकेनीको विषयमा विद्यमान द्विविधा समाप्त हुनेछ ।

   

Author

भीम देवान